१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
अजित अधिकारी काठमाडौं
२०७७ असोज २४ शनिबार १८:००:००
Read Time : > 9 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

व्यापारीलाई फाइदा पुग्ने गरी सरकारी निकायले गरेको निर्णयका कारण बजारमा खानेपानीको अत्यधिक मूल्यवृद्धि

Read Time : > 9 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७७ असोज २४ शनिबार १८:००:००

नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २६ साउनमा जार र एक लिटरको बोतलमा पाइने प्रशोधित खानेपानीको अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) क्रमशः ५० र १६ रुपैयाँ निर्धारण गर्ने निर्णयले अहिले बजार भाउ वृद्धि भएको छ ।

एक लिटरको बोतलमा पाइने पानीको मूल्य सरकारी निर्णयअनुुसार घट्नुपर्नेमा यथावत अर्थात् २० देखि ३० रुपैयाँ छ भने जारको पानीको मूल्य बढेको छ । उपभोक्ताले प्रतिजार २५ रुपैयाँसम्ममा उपभोग गर्दै आएको जारको पानीको मूल्य बिहीबारदेखि न्यूनतम ५० रुपैयाँ कायम भएको छ । प्रशोधित खानेपानी उत्पादन गर्ने व्यवसायीहरूको संस्था बोटलर्स वाटर एसोसिएसनले बिहीबार नै एक सर्कुलर गरी जारको पानीको फ्याक्ट्री मूल्य २० रुपैयाँ कायम गर्न निर्देशन दिएपछि बजारमा उपभोक्ता मूल्य बढेको हो ।

एसोसिएसनको सर्कुलरअघि जारको पानीको फ्याक्ट्री मूल्य ८ देखि १६ रुपैयाँप्रति जार थियो । तर, उद्योगीले मूल्य बढाएपछि ढुवानीकर्ता, डिलर र पसलहरूले मूल्य वृद्धि गरेका छन् । काठमाडौंको बुद्धनगरमा विगत दुई वर्षदेखि जार र बोतलको पानी बिक्री गर्दै आएका ज्ञानलाल भुसालले बिहीबारदेखि प्रतिजार पानीको मूल्य १५ रुपैयाँ बढेको बताए ।

उनले अक्वा आरबी ब्रान्डको पानी २५ रुपैयाँमा किनेर उपभोक्तालाई ४० रुपैयाँमा दिँदै आएका थिए । ‘घरमै डेलिभरी गर्नुप¥यो भने ५० रुपैयाँ लिने गरेको  थिएँ,’ उनले भने, ‘तर, बिहीबारदेखि मैले किन्ने जारको पानीको मूल्य नै ४० रुपैयाँ भयो । कम्पनीलाई सोधेको अहिले मूल्य बढेर आएको छ भन्ने जवाफ आयो । अब यो पानी पसलबाटै ५० रुपैयाँ प्रतिजारमा बिक्री गर्नुपर्छ । घरसम्मै डेलिभरी गर्नुप¥यो भने ६० रुपैयाँ लिनुपर्ने हुन्छ ।’

लकडाउनका बेला आम्दानी खुम्चेर बसेका उपभोक्तालाई अत्यावश्यक बस्तुमा सूचीकृत खानेपानीको मूल्य बढेको विषयमा कन्भिन्स गर्न गाह्रो भइरहेको उनले बताए । ‘यस्तो प्रतिकूल समयमा पानीको मूल्य बढाउनु हुन्थेन । मूल्य बढेको विषयमा उपभोक्ता हामीसँग गुनासो गर्नुहुन्छ, तर हामीले भन्न सक्ने केही छैन । सरकारी कर्मचारीबाटै चलखेल भएर मूल्य बढाइएको भन्ने कुरा सुनेको छु,’ उनले भने ।

प्रशोधित खानेपानीको डिलर लिएर बसेका उनी दैनिक औसतमा एक सय वटासम्म जारका पानी बिक्री गर्दै आएका छन् । उनले अक्वा २४ क्यारेट ब्रान्डको एक लिटर बोतलमा पाइने पानीसमेत बिक्री गर्दै आएका छन् । बुधबारसम्म उनको पसलमा सो पानी प्रतिकार्टुन एक सय १० रुपैयाँमा आउँथ्यो । र, उनले प्रतिकार्टुन एक सय ३० रुपैयाँका दरले बिक्री गर्थे । तर, बिहीबारदेखि रेट बढेको भन्दै प्रतिकार्टुन डेढ सय रुपैयाँमा कम्पनीले  पठाउन थालेको छ । ‘मैले अब एक सय ७० रुपैयाँ प्रतिकार्टुनमा बिक्री गर्नुपर्ने भएको छ,’ उनले भने ।

सरकारी कर्मचारीकै आर्थिक चलखेलका कारण पानीको मूल्य बढेको उनको आरोप छ । ‘पानीको मूल्य के आधारमा बढाउन सिफारिस गरेको भन्ने नै थाहा छैन । अहिले बढेको मूल्यमा पनि पुरानै गुणस्तरको पानी आइरहेको छ । गुणस्तर सुधार भएको छैन,’ उनले भने, ‘गुणस्तर सुध्रिएको भए पनि मूल्य बढेछ भन्न सकिन्थ्यो, तर पानी उस्तै छ ।’

यस्तै, पेप्सीकोला र जडिबुटीमा क्याफे सञ्चालन गर्दै आएका विष्णुप्रसाद चौलागाईंले २५ रूपैयामा किन्दै आएको जार ४० रुपैयाँ पर्न थालेको छ । ‘मैले क्याफेका लागि २–३ दिन बिराएर ५०–६० वटा जारमा पानी मगाउने गरेको छु,’ उनले भने, ‘पहिले २५ रुपैयाँ प्रतिजार थियो, अहिले ४० रुपैयाँ लिन थालेको छ,’ उनले भने, ‘पानी ल्याउने मान्छेलाई यस्तो व्यापार पनि नभएको अप्ठ्यारो वेला किन मूल्य बढेको भनेर सोध्दा कम्पनीबाटै बढेर आएको भन्ने जवाफ दिएका छन् ।’

उनले पनि सरकारी कर्मचारीकै मिलेमतामो मूल्य बढाएको आरोप लगाए । ‘पानीको गुणस्तर सुधार भएको भए सरकारी छाप हुनुपर्ने हो वा हामीले उपभोग गर्दा नै थाहा हुन्छ । जार पनि पुरानै छन् । कतिपय कुच्चिएर कामै नलाग्ने जारमा पानी आइरहेको छ,’ उनले भने, ‘केही कुरा सुधार नगरी के आधारमा मूल्य बढ्यो भन्ने पत्तै  पाइएन ।’

पानी उद्योगीहरूले भने मूल्य नबढाएको दाबी गरेका छन् । काँडाघारी क्षेत्रमा उद्योग राखेर ‘गुड डे’ ब्रान्डमा पानी उत्पादन गर्दै आएका मेघनाथ चौलागाईंले मूल्य नबढाएको दाबी गरे । ‘उद्योगपिच्छे पानीको मूल्य घटी बढी भयो । यसले अस्वस्थ प्रतिस्पर्धा भई कतिपय पानी उद्योग घाटामा जान थालेपछि एउटै मूल्यमा पानी बिक्री गर्नुपर्छ भन्ने निर्णय कार्यान्वयनमा आएको हो,’ उनले भने, ‘त्यसैले अहिले बढाएको होइन, उद्योगबाट बिक्री हुने मूल्य समायोजन मात्र भएको हो ।’

उनले पहिले जुन मूल्यमा उपभोक्ताले खरिद गरेका हुन्, त्यसमा सामान्य हेरफर मात्र भएको तर सबै पानीको जारको मूल्य ५० रुपैयाँ नै नपुगेको दाबी गरे । उनले आफ्नो उद्योगबाट प्रतिजार २० रुपैयाँमा पानी बिक्री गरेको बताए । त्यसअघि प्रतिजार १५–१६ रुपैयाँमा पानी बिक्री गर्ने गरेको उनले बताए ।

उपभोक्ताकर्मीकै संलग्नतामा सरकारी कार्यादलले पानीको मूल्य बढायो
बजार मूल्य नियमन र नियन्त्रण गर्ने जिम्मेवारी पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागकै सिफारिसमा अहिले प्रशोधित पानीको मूल्य बढेको हो । विभागले गत २५ असारमा उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन र पानी व्यवसायी सम्मिलित समिति गठन गरेको थियो । सो समितिको संयोजक विभागका निर्देशक सागर मिश्र र सदस्यहरूमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निरीक्षण अधिकृत ईश्वर सुवेदी, उपभोक्ताकर्मी प्रेमलाल महर्जन, बोटलर्स वाटर एसोसिएसनका महासचिव ध्रुबहादुर गौतम थिए भने सदस्य सचिवमा विभागका निरीक्षण अधिकृत ध्रुव खनाल थिए ।

उनीहरूले २१ उद्योगको निरीक्षण गर्दा जारमा बिक्री हुने पानीको औसत उपभोक्ता मूल्य २५ रुपैयाँ रहेको निष्कर्ष निकालेका थिए । त्यसपछि बजार मूल्यभन्दा दोब्बर हुने गरी प्रतिजार ५० रुपैयाँसम्म एमआरपी लागू गर्न सकिने सिफारिस गरेको थियो । समितिको सोही सिफारिसका आधारमा विभागले २६ साउनमा जारको एमआरपी ५० रुपैयाँ र बोतलको पानीको मूल्य प्रतिलिटर १६ रुपैयाँ कायम गर्ने निर्णय गरेको थियो ।

सो निर्णय १० भदौदेखि कार्यान्वयन गर्ने बताउँदै महानिर्देशक नेत्रप्रसाद सुवेदीले बजार भाउमा एकरूपता ल्याई उपभोक्तालाई फाइदा दिलाउने बताएका थिए । तर, यो विभागको विवादास्पद निर्णय सार्वजनिक भएपछि संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले आवश्यक अध्ययन गर्ने बताउँदै तत्काल निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको थियो ।

विभागका महानिर्देशक सुवेदीले संसदीय समितिको निर्देशनअनुसार निर्णय कार्यान्वयन नगरिएको बताए । ‘हामीले बजार अध्ययन गरेर नै एमआरपी लागू गरेका हौं, तर यसलाई व्यवसायीले गलत रूपमा प्रयोग गर्न खोजेको देखियो,’ उनले भने, ‘पहिले न्यूनतम मूल्यमा जसले जतिमा बिक्री गरेका छन्, त्यतिमै बेच्ने, तर ५० रुपैयाँभन्दा बढी मूल्य भएका जारको मूल्य घटाउने उद्देश्यले एमआरपी तोकिएको थियो ।’

५० रुपैयाँभन्दा बढी मूल्य हुने उद्योगले उचित कारण विभागमा पेश गर्नुपर्ने सर्त थियो । अहिले पतन्जली, अक्वा हन्ड्रेडलगायत ब्रान्डले प्रतिजार एक सय रुपैयाँभन्दा बढी मूल्य असुलिरहेका छन् । यी ब्रान्डले समेत विभागमा ५० रुपैयाँभन्दा बढी मूल्य लिनुको उचित कारण देखाएका छैनन् भने विभागले पनि सोधपुछ गर्ने जाँगर देखाएको छैन ।

सरकारी निकायसँग भएको समझदारीअनुसार जारको पानी बढाएको दाबी गर्ने व्यवसायीले सोही दिन भएको समझदारीअनुसार एक लिटर बोतलको पानीको मूल्य भने यथावत राखेका छन् । वाणिज्य विभागले प्रतिबोतल खुद्रा मूल्य १६ रुपैयाँ कायम गर्न निर्देशन दिएको थियो । तर, अहिले बजारमा सामान्य ब्रान्डका पानीका बोतल मूल्य न्यूनतम २० देखि ३० रुपैयाँमा बिक्री भइरहेका छन् । शुक्रबार भैंसेपाटीस्थित हरि किराना पसलबाट अक्वा रियस ब्रान्डको बोतल २० रुपैयाँ र लामा होटेलबाट यचुला ब्रान्डको बोतल खरिद गर्दा २५ रुपैयाँ परेको थियो ।

सरकारी समितिमै बसेर प्रशोधित खानेपानीको मूल्य वृद्धि गर्न सिफारिस गर्ने राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले आफ्नो निर्णयको बचाऊ गरेका छन् । उनले दुई वर्षअघि प्रतिजार ६० रुपैयाँ तोक्न संसदीय समितिले दिएको निर्देशन सम्झन आग्रह गर्दै भने, ‘हाम्रो कार्यदलले दुई वर्षअघि तोकिएको मूल्यभन्दा कममा एमआरपी लागू गर्न सिफारिस गरेको छ । यो भनेको उपभोक्तामैत्री निर्णय हो ।’ उनले सीमित व्यवसायीले सरकारी निर्णयको गलत व्याख्या गरी मूल्य वृद्धि गरेको भन्दै अनुगमन गरी कारबाही गर्नुपर्ने दाबी गरे ।

यसैबीच, अक्वा फ्रिडम ब्रान्डको जारको पानीभित्र किरा भेटिएको छ । काठमाडौंको मूलपानीस्थित सिद्धकाली अक्वा पानी उद्योगले उत्पादन गरेको प्रशोधित खानेपानीभित्र किरा भेटिएपछि राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा उजुरी दिएका छन् । उनले उद्योगको लापरबाहीका कारण बजारमा उपभोक्ताका लागि पुगेको जारको पानीमा किरा भेटिएकाले आवश्यक कारबाही गर्न उजुरी दिएको बताए ।

देशभर दुई लाख लिटर जार र २० हजार लिटर बोतलको पानी बिक्री
बोटलर्स वाटर एसोसिएसनको तथ्यांकअनुसार अहिले देशभर दैनिक दुई लाखवटा जार र २० हजारवटा बोतलको पानी बिक्री हुने गरको छ । एसोसिएसनका अध्यक्ष सुवास भण्डारीले भने, ‘काठमाडौं उपत्यकामा मात्रै अहिले डेढ लाखवटा जारको पानी बिक्री भइरहेको छ । सामान्य अवस्थामा दुई लाख जार बिक्री हुने गरेको थियो । यस्तै, बोतलको पानी पनि अहिले ७–८ हजारवटा मात्र बिक्री हुने गरेको छ ।’

काठमाडौं बाहिर अहिले करिब ५०–६० हजार जार र करिब १० हजार बोतलको पानी बिक्री हुने गरेको छ । काठमाडौंमा ८० प्रतिशत प्रशोधित पानीको बजार रहेको एसोसिएसनको भनाइ छ । यद्यपि, काठमाडौंको उपत्यका र बाहिर समान संख्यामा पानी उद्योग सञ्चालनमा छन् । एसोसिएसनका अनुसार काठमाडौंमा एक सय ८१ सहित देशभर करिब तीन सय ५० पानी उद्योग सञ्चालनमा छन् ।

उद्योगीले ८ देखि १६ रुपैयाँमा बिक्री गर्ने पानी २० रुपैयाँ, उपभोक्ता मूल्य भने ५०
उपभोक्ताका लागि प्रतिजार ५० रुपैयाँ कायम गरिएको जारको पानी उद्योगबाट नयाँ मूल्यअनुसार प्रतिजार २० रुपैयाँमा बिक्री थालिएको छ । यसअघि यस्तो पानी आठ रुपैयाँदेखि १६ रुपैयाँ प्रतिजारमा बिक्री हुने गरेको थियो । बोटलर्स वाटर एसोसिएसनका अध्यक्ष सुवास भण्डारीले पानीको गुणस्तर अभिवृद्धि गर्न मूल्य समायोजन गरिएको दाबी गरे । ‘अस्वस्थ प्रतिस्पर्धालाई हटाएर सबै उद्योगी टिक्ने वातावरण बनाउन नयाँ मूल्य कायम गरिएको हो । यसले उपभोक्तालाई नै फाइदा पुगेको छ । मूल्यमा एकरूपता कायम भएको छ,’ उनले भने ।

एसोसिएसनका अनुसार काठमाडौं उपत्यकामा प्रशोधित पानी उत्पादन गर्ने एक सय ८१ उद्योग छन् । देशभर करिब तीन सय ५० को संख्यामा छन् । यसमध्ये ९५ प्रतिशत उद्योगले साधारण पानी उत्पादन हुन्छ । सीमित उद्योगले आफ्नै जारमा विशेष किसिमले प्रशोधन गरेको पानी उत्पादन गर्ने गरेका छन् ।

साधारण भनिएका ९५ प्रतिशत उद्योगले पानी मात्र बिक्री गर्दै आएका छन् । पानी भर्ने जारमा वितरक (गाडीमा पानी ओसार्ने ढुवानीकर्ता) ले नै लगानी गरेका हुन्छन् । ‘गाडीवालाले जार लिएर उद्योग चाहार्छन् । जसले सस्तोमा पनी दिन्छ, उसैकोमा जार लगेर पानी भर्ने हुन्,’ स्रोत भन्छ, ‘त्यसपछि सोही उद्योगको स्टिकर टाँस्ने र बजारमा पानी पठाउने गरिएको छ ।’ यसरी जारमा विभिन्न उद्योगको स्टिकर भए पनि खासमा ढुवानीकर्ताको स्वामित्वमा जार हुने गरेको छ ।

ढुवानीकर्ताले यसअघि उद्योगबाट ८ देखि १६ रुपैयाँमा पानी किनेर जारमा हाल्ने गरेका थिए । यस्तो पानी उनीहरूले २५ रुपैयाँदेखि ३५ रुपैयाँसम्ममा डिलर र पसलहरूमा बिक्री गर्ने गरेका थिए । त्यसपछि पसलबाट उपभोक्ताले बढीमा ५० रुपैयाँसम्ममा किन्दै आएका थिए । ठूला उपभोक्तालाई गाडीवालाले आफ्नै डेलिभरी गरी २५ रुपैयाँदेखि नै जारको पानी दिने गरेका थिए ।

तर, उद्योगले सरकारी निकायको संरक्षणमा फ्याक्ट्री मूल्य २० रुपैयाँ प्रतिजार निर्धारण गरेपछि ढुवानीकर्ताहरूले भाउ बढाएर न्यूनतम ३५–४० रुपैयाँ पु¥याएका छन् । जसकारण बजारमा अहिले जारको पानीको मूल्य न्यूनतम ५० रुपैयाँ पुगेको छ ।

जार र बोतलको पानीमा कोलिफर्म
खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय, भैरहवाले गत वर्ष बजार अनुगमनका क्रममा रेसुंगा फुड एन्ड वेभरेजको प्रशोधित खानेपानीको नमूना संकलन गरी परीक्षण गरेको थियो । त्यसक्रममा पानीका मानव स्वास्थ्यलाई हानी गर्ने कोलिफर्म जीवाणु भेटिएको थियो । मापदण्डविपरीत पानीमा कोलिफर्म देखिएपछि कार्यालयले १७ पुस ०७६ मा रूपन्देही जिल्ला अदालतमा कारबाहीका लागि मुद्दा दायर गरेको थियो । यो प्रतिनिधि  उदाहरण मात्र हो, प्रशोधित खानेपानीको शुद्धतामा सधैं प्रश्न उठ्ने गरेको छ ।

खाद्य  प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन तथ्यांकअनुसार पछिल्ला दुई आर्थिक वर्ष ०७६–७७ र ०७५–७६ मा क्रमशः १५ र ३९ वटा मुद्दा प्रशोधित खानेपानी उत्पादन गर्ने उद्योगविरुद्ध दायर भएका छन् । एउटै उद्योगको पानीमा दुषित भएको, तोकिएको गुणस्तरअनुसार नभएको कारण फरक–फरक मुद्दासमेत दायर हुने गरेको छ । विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले प्रशोधित खानेपानी उद्योगमा सरसफाइको कमी हुने गरेको बताए ।

‘प्रशोधित पानीमा कोलिफर्म, इकोलाइजस्ता मानव स्वास्थ्यलाई हानी गर्ने जीवाणु भेटिने गरेका छन् । यो भनेको सरसफाइमा भएको कमी हो,’ उनले भने, ‘त्यस्तै पानीमा अम्लीय गुण बढी वा घटी गरी न्यून गुणस्तर कायम गर्ने गरेको पनि भेटिने गरेको छ ।’ कोलिफर्म, इकालाइजस्ता जीवाणुले झाडापखाला, वाकवाकी लाग्नेलगायत हुने गर्छ ।

५० रुपैयाँभन्दा बढीमा जारको पानी बिक्री गर्नेलाई पनि प्रश्रय
वाणिल्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले जारको पानीको अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) निर्धारण गर्दा ‘निर्यातका लागि उत्पादन गरेको र विशेष प्रकृतिको सिलबन्द प्रशोधित पानीको हकमा यो मूल्य कायम हुने छैन’ भन्ने व्यवस्था छ । यसबाट ५० रुपैयाँभन्दा बढी मूल्यमा पानी बिक्री गर्न पनि सजिलो बनाइदिएको छ ।

किनभने, कुनै पनि उद्योगले आफ्नो पानी र बोतल अन्यभन्दा गुणस्तरीय र फरक भएको दाबी गर्दै हाल बिक्री गरिरहेको उच्च मूल्य नै कायम गर्न सक्छन् । यहीं प्रावधानलाई टेकेर ५० रुपैयाँभन्दा बढी मूल्यमा पानी बिक्री गरिरहेका उद्योगले मूल्य घटाउन चासो दिएका छैनन् ।

२६ साउनमा जार र पानीको मूल्य समायोजनका विषयमा आयोजित कार्यक्रममा उपस्थित भएका बोटल वाटर उद्योग संघका अध्यक्ष सुवास भण्डारीले बोतल र बिर्को फरक गुणस्तरको प्रयोग गर्नेले मूल्य बढी राख्न पाउने तर्क गरेका थिए । ‘केही उद्योगले बोतल र बिर्को उच्च गुणस्तरका राख्ने गरेका छन् । उनीहरूको पानी पनि सामान्यभन्दा धेरै राम्रोसँग प्रशोधित गरिएको हुन्छ । यस्ता उद्योगले बिक्री गर्ने पानीको मूल्यमा अहिलेको एमआरपी लागू हुँदैन,’ उनले भनेका थिए ।

व्यवसायीको यस्तो तर्कका कारण एक सय ३० रुपैयाँ प्रतिजारसम्ममा बिक्री भइरहेको पानीको मूल्य ५० रुपैयाँमा झरेर उपभोक्ताले फाइदा पाउने सम्भावना न्यून छ । यद्यपि, विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी ५० रुपैयाँभन्दा बढी मूल्यमा जारको पानी बिक्री गर्ने सीमित कम्पनी भएको र उनीहरूलाई मूल्य घटाउन दबाब दिने बताउँछन् । ‘केही उद्योगले विशेष खालको जार र पानीसमेत अन्यभन्दा विशेष किसिमको भएको दाबी गरिरहेको सुनेका छौं,’ महानिर्देशक सुवेदीले भने, ‘यस्ता कम्पनीको सूची बनिसकेको छ । अब हामी चाँडै ती कम्पनीका प्रतिनिधिसँग छलफल गर्छौं र हाम्रो निर्णय कार्यान्वयन गर्न बाध्य बनाउनेछौँ ।’ ५० रुपैयाँभन्दा बढी मूल्यमा जारको पानी बिक्री गर्नेले विभागमा उचित कारण पेश गर्नुपर्ने र विभागले स्वीकृति दिएपछि मात्र बिक्री गर्न पाउने व्यवस्था लागू गर्ने उनले बताए । 

मूल्य नबढाउनु भनेका थियौं, तर किन बढाइयो ?
विमल श्रीवास्तव
सभापति
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित सम्बन्ध समिति

सरकारी निकायले नै प्रशोधित खानेपानीको अधिकतम खुद्रा बिक्री मूल्य तोकेको पाएपछि हाम्रो तत्काल ध्यानाकर्षण भएको थियो । त्यसपछि हामीले बैठक राखेर नयाँ मूल्य लागू नगर्नु, पुरानै अवस्थामा छाड्नु भन्ने निर्देशन दिएर समितिले अध्ययन गरेको थियो । अध्ययन सकाएपछि पुनः बैठक बसेर अहिलेको महामारीमा मूल्य बढाउने निर्णय लागू गर्नु हुन्न र यो आवश्यक पनि देखिएन भनेका थियौं । त्यतिखेर मूल्य नबढाउन निर्देशन दिएको पनि व्यवसायीले सरकारी निर्णयको आधार लिएर मूल्य बढाएको पायौं । यस विषयमा हामीले आइतबार दिउँसो बैठक नै राखेका छौं । त्यो बैठकमा पनि मूल्य तत्काल फिर्ता लिएर उपभोक्तालाई अहिलेको बिषम परिस्थितमा सहज बनाउन निर्देशन दिनेछांै ।

मूल्यमा एकरूपता कायम गर्न खोजिएको हो
सुवास भण्डारी, अध्यक्ष
नेपाल बोटलर्स वाटर एसोसिएसन

हामीले उपभोक्ताहित अनुसार नै प्रशोधित खानेपानीको मूल्य समायोजन गरेका हौं । जारको पानीको अधिकतम खुद्रा बिक्री मूल्य प्रतिजार ६० रुपैयाँबाट घटाएर ५० रुपैयाँ कायम गरेका छौं । पानीको मूल्यमा उद्योगअनुसार फरक–फरक थियो, यसले केही उद्योग घाटामा जानेसम्मको स्थिति भयो । त्यसैले अहिले सबै उद्योगबाट प्रतिजार २० रुपैयाँका दरले बिक्री गर्ने गरी सर्कुलर भएको छ । पहिले प्रतिजार १५–१६ रुपैयाँसम्म थियो ।

केही उद्योगले पहिलेको भन्दा बढी मूल्य लिन थालेको गुनासो भए हामीले नियन्त्रण गर्नेछौं । किनभने नयाँ मूल्य कार्यान्वयन गर्न थालेको १–२ दिन मात्र भयो । पहिले फरक दर हुँदा पानीको गुणस्तर अभिवृद्धि गर्न समस्या भइरहेको थियो । अबका दिनमा पानी र जारको गुणस्तर सुधारमा ध्यान दिन्छौं ।

एमआरपीलाई व्यवसायीले नै गलत रूपले प्रयोग गर्न खोज्दैछन्
नेत्रप्रसाद सुवेदी, महानिर्देशक
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग

हामीले एउटा कार्यदल नै बनाएर खानेपानीको अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) निर्धारणका लागि अध्ययन गरेका थियौं । सो कार्यदललको अध्ययन प्रतिवेदनअनुसार जारमा पाइने प्रशोधित पानीको एमआरपी ५० रुपैयाँ र १ लिटर पानीको एमआरपी १८ रुपैयाँ निर्धारण गरेका थियौं । यो भनेको बढीमा यति लिन पाइने भन्ने हो । तर, उद्योगीले विभिन्न सर्कुलर नै पानीको मूल्य वृद्धि गर्न सघाउ पु¥याएको हामीलाई जानकारी आएको छ । उनीहरूले एमआरपीलाई गलत रूपले प्रयोग गर्न खोजिरहेका छन् ।

बोटलर्स वाटर एसोसिएसनको प्रतिनिधिलाई पनि मैले मूल्य बढाउने काम नगर्नु भनिसकेको छु । पहिले जुन मूल्यमा पानी बिक्री भइरहेको थियो, त्यसमै बिक्री हुनुपर्छ । हामीले तोकेको एमआरपीलाई लिएर मूल्य बढाउनु हुँदैन । एमआरपीको विषय मूल्यवृद्धिसँग सम्बन्धित हुँदै होइन ।