अफ्रिकालाई कोरोनाले गलाउन नसक्नुका पाँच कारण

बिहिबार, २२ असोज, २०७७
डिजिटल संस्करण

कोरोना भाइरस (कोभिड–१९) महामारीविरुद्ध अफ्रिका महादेशका धेरै मुलुकले सशक्त अभियान चलाएकोमा विश्वभर प्रशंसा गरिएको छ । प्रायः अफ्रिकी देशमा राज्यको स्वास्थ्य प्रणाली कमजोर छ । यसका बाबजुत पनि कोरोना महामारीविरुद्ध अफ्रिकी मुलुकले चालेको कदम सफल देखिएको छ ।

जोन हप्किन्स विश्वविद्यालयले तयार पारेको रेकर्डअनुसार एक अर्बभन्दा बढी जनसंख्या रहेको यस महादेशमा करिब १५ लाखको हारामारीमा मात्रै कोरोना संक्रमित देखिएको छ । त्यसमध्ये भाइरस संक्रमणबाट ३७ हजारको मात्रै मृत्यु भएको छ । यो संख्या अरू महादेशको तुलनामा निक्कै न्यून हो । अफ्रिकाको तुलनामा अमेरिकामा पाँच लाख ८० हजार, युरोपमा दुई लाख ३० हजार र एसियामा दुई लाख पाँच हजारको मृत्यु भएको छ । अफ्रिकाको तुलनामा यी क्षेत्रमा संक्रमितको संख्या अझै बढ्दै गएकाले ज्यान गुमाउनेको संख्या थपिने प्रस्ट छ । ‘हाम्रो परीक्षणको गति निकै ढिला छ । यद्यपि, कोरोना भाइरसबाट ठूलो संख्याको मृत्यु अफ्रिकामा सम्भावना देखिएको छैन,’ रोग नियन्त्रण र रोकथामका लागि अफ्रिकन केन्द्रका प्रमुख डा. जोन एन्केन्गासोङ भन्छन् । 

यसकारण अफ्रिकामा कोरोनाको असर कम

१. सुरक्षाका उपायको प्रभावकारी कार्यान्वयन
अफ्रिकी महादेशमै पहिलो संक्रमण गत १४ फेब्रुअरीमा इजिप्टमा देखिएको थियो । त्यसवेला निकै कमजोर स्वास्थ्य सेवा रहेको अफ्रिकी महादेशलाई चाँडै नै यो नयाँ भाइरसले तहसनहस बनाउने आकलन गरिएको थियो । 

पहिलो संक्रमण देखिनेबित्तिकै सार्वजनिक स्वास्थ्यका लागि आवश्यक उपाय अपनाइयो । हात नमिलाउने, नियमित हात धोइरहने, शारीरिक दूरी कायम गर्ने र मास्क लगाउनेजस्ता सार्वजनिक सुरक्षाका उपाय प्रभावकारी देखियो । लिसोथोलगायत केही देशले त आफ्नो देशमा पहिलो संक्रमण देखिनुभन्दा पनि पहिलेबाटै सामाजिक सुरक्षाका उपाय अपनाउन थालेका थिए । धेरै अफ्रिकी देशले १८ मार्चमा आपतकालीन अवस्थाको घोषणासहित विद्यालय बन्द गरे । उनीहरूले तीन साताको लकडाउन पनि घोषणा गरे ।

लिसोथोमा लकडाउन खुलेको धेरै दिनपछि मात्रै पहिलो संक्रमित भेटिएको थियो । २० लाख जनसंख्या भएको लिसोथोमा अहिलेसम्म संक्रमित जम्मा १७ सय छन् । यहाँ हालसम्म ४० जनाले ज्यान गुमाएका छन् ।

२. सर्वसाधारणको समर्थन
गत अगस्टमा अफ्रिकाका १८ देशमा गरिएको सर्वेक्षणले सरकारले जारी गरेको सार्वजनिक सुरक्षाको मापदण्डमा सर्वसाधारणको पूर्ण समर्थन रहेको देखाएको छ । ‘सार्वजनिक स्वास्थ्यका सबै मापदण्ड पूर्ण रूपमा पालना गरिएका कारण अफ्रिकन देशले भाइरस संक्रमण धेरै फैलिन दिएनन्,’ रिपोर्टमा भनिएको छ, ‘लकडाउन केही खुकुलो पारिँदा भने जुन–जुलाईमा संक्रमण केही फैलिन पुग्यो ।’

यो संकटले मानवीय क्षतिसँगै अरू क्षेत्रमा पनि ठूलो क्षति पु¥याएको छ । धेरैको रोजगारी गुमेको छ । लकडाउन घोषणा गरिएको दक्षिण अफ्रिकामा मात्रै २२ लाखको जागिर गएको अनुमान छ । लामो समयको लकडाउनपछि अफ्रिकाका प्रायः सरकार बजार खोल्न बाध्य भएका छन् । यद्यपि, सर्वसाधारणको समर्थनमा अफ्रिकी देशहरूले सार्वजनिक सुरक्षाका मापदण्ड सहज पालना गर्न सफल भएको छ, यसले गर्दा पनि भाइरस संक्रमण धेरै फैलिन पाएन ।

३. युवा जनसंख्याको बाहुल्य
युवा जनसंख्या हुनुले पनि अफ्रिकी देशमा कोरोना भाइरस संक्रमण फैलनबाट रोकेको मानिएको छ । विश्वमा कोरोना भाइरसका कारण मृत्यु भएकामध्ये धेरै ८० वर्षभन्दा माथिका छन् । अफ्रिकालाई युवाको महादेश पनि भनिन्छ । संयुक्त राष्ट्र संघका अनुसार अफ्रिकाको जनसंख्याको मध्यम उमेर १९ वर्ष रहेको छ ।

‘यो संकटले ठूलो रूपमा युवा जनसंख्यामा प्रहार गरेको छ । तर, मृत्यु हुनेमा बढी उमेरका मानिस धेरै छन् । अफ्रिकी देशहरूमै पनि संक्रमितमध्ये ९१ प्रतिशत ६० वर्षभन्दा कम उमेरका छन् । त्यसमध्ये पनि ८० प्रतिशतमा कुनै लक्षण देखिएको छैन,’ विश्व स्वास्थ्य संगठनका डा. मात्सिडिसो मोइटी भन्छन्, ‘अफ्रिकामा तीन प्रतिशत मात्रै जनसंख्या ६५ वर्षभन्दा माथिका छन् ।’
युरोप, उत्तर अमेरिका र एसियाका धनी देशहरूमा बढी उमेरका मानिसको बसोवास धेरै छ । यसले मृत्युदर पनि बढाउने सम्भावना रहन्छ ।

४. सुहाउँदो हावापानी
अमेरिकाको मेरिल्यान्ड विश्वविद्यालयले गरेको अनुसन्धानले तापक्रम, आद्र्रता र अक्षांशसँग कोरोना भाइरस फैलावट सम्बन्धित हुने देखाएको छ । ‘हामीले सुरुवातमै संक्रमण फैलिएका विश्वका विभिन्न ५० सहरको अध्ययन ग¥यौँ । कम तापक्रम र आद्र्रता भएको ठाउँमा अझ सहज तरिकाले संक्रमण फैलिएको पाइएको छ’, अनुसन्धानको नेतृत्व गरेकामध्ये मोहम्मद साजादी भन्छन्, ‘अरू वातावरणमा यो सर्दैन भन्ने होइन । तर, कम तापक्रम र आद्र्रता भएको ठाउँमा छिटो र सहज रूपमा सर्दाेरै’छ भन्ने अध्ययनले देखाएको छ ।’ 

प्रायः अफ्रिकी देशहरूमा फरक वातावरणका कारण पनि भाइरस संक्रमण छिटो फैलिएको छैन । दक्षिण अफ्रिकामा चिसो मौसम सुरु भइसकेका कारण केही संक्रमण बढी देखिएको छ । गर्मी मौसम सुरु भएपछि फेरि संक्रमण दर घट्ने अनुमान गरिएको छ ।

५. समुदायस्तरमा स्थापित बलियो स्वास्थ्य प्रणाली
कोरोना भाइरस संक्रमण त्यतिबेला फैलियो जुनबेला कङ्गो इबोला भाइरसको समस्यासँग जुधिरहेको थियो । इबोला भाइरस संक्रमण रोक्न गरिएको प्रयास नै कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न पनि काम लाग्यो । पश्चिम अफ्रिकाका धेरै देशले इबोला भाइरस संक्रमण रोक्न समुदायस्तरमा बलियो स्वास्थ्य प्रणाली स्थापित गरेका थिए । त्यही संरचनाले उनीहरूलाई कोरोना भाइरससँग पनि लड्न मद्दत पु¥यायो । 

संक्रमित देखिएकालाई आइसोलेसनमा राख्न, उनीहरूको सम्पर्कमा आएका व्यक्तिको खोजी गर्न र क्वारेन्टिनमा राख्न सहज बन्यो । त्यसबाहेक धेरै जनसंख्या भएको नाइजेरियालगायत देशलाई पनि यसअघि सामना गरेको यस्तै संकटको अनुभवले कोरोना भाइरसविरुद्ध लड्न मद्दत पु¥यायो । 

नाइजेरियामा अझै पनि पोलियो थोपा खुवाउन स्वास्थ्यकर्मीको टोलीलाई गाउँगाउँमा पठाइन्छ । त्यही स्वास्थ्यकर्मीको टोलीलाई नै कोरोना भाइरसविरुद्ध जनचेतना जगाउन पनि परिचालन गरियो । यसले गर्दा ठूलो संख्यामा कोरोना भाइरस संक्रमण फैलन पाएन ।
 

सुझावित समाचार