
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या आइतबारसम्म १० लाख ३८ हजार पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड– १९ बाट संक्रमित हुनेको संख्या विश्वभर तीन करोड ५१ लाख ४० हजारभन्दा बढी पुगेको छ ।
कुल संक्रमितमध्ये दुई करोड ६१ लाख ३० हजार निको भएका छन् भने करिब ७९ लाख ६ हजारभन्दा बढी मानिस सक्रिय संक्रमित छन् । विश्वभर अझै पनि ६६ हजारभन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । पेसा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ संक्रमितको संख्या पनि ७६ लाख नाघिसकेको छ । कोरोना संक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख १४ हजार को मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवैलाई कोरोना भाइरस संक्रमण भएको छ ।
कोरोना संक्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात् भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । प्राप्त समाचारअनुसार भारतमा ६५ लाख ४९ हजारभन्दा बढीलाई कोरोना भाइरस संक्रमण भएको र यस संक्रमणबाट एक लाख एक हजार नौ सय ६० जनाको मृत्यु भइसकेको छ ।
कोरोना संक्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा ४९ लाखभन्दा बढी व्यक्ति संक्रमित भएकामा एक लाख ४६ हजारको मृत्यु भएको छ । खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख चार हजारभन्दा बढी संक्रमित रहेका छन् भने २१ हजार दुई सय ५१ जनाको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ ।
दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनामा कोरोना भाइरसको प्रकोप बढ्दो रूपमा रहेको केही दिनअगाडि एकैदिनमा २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट तीन हजार तीन सय ५२ जनाको मृत्यु भएको थियो ।
युरोपेली मुलुकहरू खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएको आकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरूको घोषणा गर्न थालिएको छ ।