मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असोज १७ शनिबार १५:४८:००
Read Time : > 3 मिनेट
फिचर

कोरोना संकटले युरोपमा फस्टाएको साइकल–संस्कृति

साइकल लेन निर्माणमा व्यापक लगानी, प्रयोगकर्तालाई लोभ्याउन थरीथरीका प्रस्ताव

Read Time : > 3 मिनेट
२०७७ असोज १७ शनिबार १५:४८:००

कोरोना भाइरस (कोभिड– १९) सुरु भएपछि बुचरेस्टदेखि ब्रसेल्ससम्म र लिस्बोनदेखि ल्योनसम्म ‘साइक्लिङ’माथिको लगानी अभूतपूर्व रूपमा बढेको छ । कोरोना संकट सुरु भएपछि युरोपका देशहरूमा साइकल लेन निर्माणमा व्यापक लगानी मात्रै भएको छैन लेनको स्वरूप पनि बदलिएको छ ।

कोरोना भाइरस संक्रमण फैलिएपछि साइकलसँग सम्बन्धित संरचना निर्माण गर्न युरोपमा एक अर्ब युरोभन्दा बढी रकम खर्च गरिएको छ । त्यो रकमबाट दुई हजार तीन सय किलोमिटर अर्थात् १४ सय माइल नयाँ साइकल लेन निर्माण भइसकेको छ । ‘यो संकटमा साइक्लिङ विजेताको रूपमा देखिएको छ,’ ब्रसेल्सस्थित युरोपियन साइक्लिङ महासंघका जिल वारेन भन्छन्, ‘यो संकटले हाम्रो सहर र जिन्दगी परिवर्तन गर्न सक्ने सम्भावना देखाएको छ ।’ कोरोना भाइरस संक्रमण फैलनबाट रोक्ने प्रयासमा साइकल उपयोगी देखिएकाले पनि युरोपेली देशहरूले आफ्नो सहरमा साइकलमैत्री वातावरण निर्माण गर्ने प्रयास थालेका हुन् ।

सार्वजनिक यातायातका साधनमा भिडभाड बढी हुने भएका कारण भाइरस संक्रमणको सम्भावना बढी हुन्छ । एक्लै वा बढीमा दुईजनासम्म यात्रा गर्न मिल्ने साइकल यात्रामा कोरोना संक्रमण फैलने सम्भावना कम हुन्छ । सोही कारण युरोपेली देशहरूले आफूसँग भएका पुराना लेनको मर्मतदेखि नयाँ लेन निर्माणमा ठूलो रकम खर्च गरेका छन् । 

पेरिसमा साइकल मर्मत गर्न ५० युरो सहयोग
सर्वसाधारणलाई सार्वजनिक यायायात त्यागेर साइकल प्रयोग गर्न प्रोत्साहित गर्ने उद्देश्यले थरीथरीका नियम तय गरिएका छन् । पेरिसमा फ्रान्स सरकारले साइकल प्रयोगकर्ता बढाउने उद्देश्यस्वरूप साइकल मर्मतका लागि ५० युरो सहायता दिने नियम ल्याएको छ । 

ब्रसेल्समा त क्षेत्रीय यातायातमन्त्रीले सार्वजनिक यातायात प्रयोग गर्न छाडेर साइकल प्रयोग गर्न अनुरोधसहित सर्वसाधारणको नाममा खुलापत्र नै लेखेका थिए । हेरौँ, केही युरोपेली देशले यो संकटको समयमा आफ्नो सहरलाई साइकलमैत्री बनाउन गरेका प्रयासहरूः– 

मिलानको फेरिएको योजना
‘हामीले पहिला बाइकका लागि लेन निर्माण गर्ने प्रयास गरेका थियौँ । तर, कार ड्राइभरले यसको विरोध गरे,’ मिलान सहरका उपमेयर पियरफ्रान्सेस्को मारन भन्छन्, ‘कसैले मलाई यो संकटमा साइकलको सही उपाय सुझाइदिएको हो ।’

उत्तरी इटालीको यो व्यापारिक केन्द्र साइकल पूर्वाधार निर्माणमा लगानी गर्ने युरोपको पहिलो सहरमध्ये पर्छ । कोरोना महामारी सुरु भएपछि मिलानले ३५ किलोमिटर नयाँ साइकल लेन निर्माण गरेको छ । यद्यपि, यी साइकल लेन अस्थायी भएको जनाइएको छ ।

‘अहिले साइकल चलाउने धेरै मानिस पहिले सार्वजनिक यातायात प्रयोग गर्थे । अहिले उनीहरूलाई त्यसको विकल्प चाहिएको छ,’ मारन भन्छन्, ‘कोभिड–१९ सुरु हुनु पहिले हामीसँग एक हजारजति साइकल चालक थिए । अहिले हामीसँग सात हजार साइकलचालक छन् ।’

यो बढ्दो संख्याले साइकल व्यापारीमाथि थप दबाब थपेको छ । संक्रमण सुरु भएपछि धेरै व्यापारिक केन्द्र बन्द हुँदा ठूलो संख्यामा साइकल निर्माण गर्न नसकिएको व्यवसायीहरूको भनाइ छ ।

पेरिसको ठूलो लगानी

भाइरस संक्रमण फैलन सुरु भएपछि साइकल पूर्वाधार निर्माणमा धेरै खर्च गर्ने अर्काे हिर हो– पेरिस । फ्रान्सको राजधानी सहरले यो संकट सुरु भएपछि मात्रै आठ सय किलोमिटरभन्दा लामो साइकल लेन निर्माण गरेको छ । यसका लागि दुई करोड युरो खर्च गरेको पेरिसका सहायक उपमेयर डेभिड बेल्लियार्ड बताउँछन् ।

‘यो एउटा क्रान्तिजस्तै हो । यसको महत्वपूर्ण पक्षको रूपमा पेरिसको पूर्वदेखि–पश्चिम पुग्ने साइकल लेन निर्माण भएको छ,’ उनी भन्छन्, ‘त्यसमध्ये कति लेन पूर्ण रूपमा कार ‘फ्री’ क्षेत्रमा पर्छन् । हामीले जति धेरै ठाउँ दिन सक्यौँ त्यति नै धेरै साइकल चल्नेछन् ।’

गत वर्ष यही समयको तुलनामा यो वर्ष पेरिसमा ‘साइक्लिङ’ २७ प्रतिशतले बढेको छ । फ्रान्सेली सरकारको योजनाअनुसार नै यो परिवर्तन भएको हो । फ्रान्सेली सरकारले साइकल प्रयोगमा आकर्षण बढाउने उद्देश्यले साइकल मर्मतका लागि ५० युरो अनुदान दिने निर्णयसमेत गरेको छ । त्यसका साथै सरकारले साइकलबारे निःशुल्क कक्षा सञ्चालन पनि गर्ने गरेको छ ।

ब्रसेल्समा ठूलो चुनौती

बेल्जियमको राजधानी ब्रसेल्सले पनि कोरोना भाइरस संक्रमण सुरु भएपछि ४० किलोमिटर नयाँ साइकल लेन थपेको छ । त्यसमध्ये सहरको केही व्यस्त ठाउँमा पनि साइकल लेन निर्माण गरिएको छ ।

कोरोना भाइरस सुरु भएपछि सामाजिक दूरीको नियम पालना गर्नसमेत सहज होस् भन्ने उद्देश्यले साइकल लेनको निर्माण गरिएको अधिकारीहरू जनाउँछन् । कतिपय स्थानमा कारभन्दा पनि साइकललाई प्राथमिकता दिइने भएको छ । सहरभरि नै सवारीसाधनको गति निश्चित गर्न नयाँ मापदण्ड तय गरिएको छ । 

गत अप्रिलमा त्यहाँका क्षेत्रीय यातायातमन्त्री इल्के भान डर ब्रान्डले सार्वजनिक यातायात त्याग्न अनुरोधसहित स्थानीयवासीलाई खुलापत्र लेखेका थिए । ‘पिक आवरमा सार्वजनिक यातायात भरिभराउ हुन्छन् । यो हाम्रो चाहना होइन,’ उनी भन्छन् । ब्रसेल्समा अहिले साइकल प्रयोग गर्नेको संख्या ४४ प्रतिशतले बढेको जनाइएको छ ।
‘अहिले सबैसँग साइकल छ,’ ब्रसेल्सस्थित एउटा साइकल मर्मत केन्द्रमा आफ्नो साइकल बनाइरहेकी डायना भन्छिन्, ‘मैले पहिले नै यो साइकल लिएकी थिएँ । अहिलेको संकटमा यो निकै उपयोगी बनेको छ ।’

आम्स्टर्डममा बढ्दो प्रयोगकर्ता
युरोपका अरू ठूला सहरमा जस्तै नेदरल्यान्ड्सको राजधानी आम्स्टर्डममा पनि पहिलेदेखि नै साइकल लेन थिए । आम्स्टर्डममा एउटा भनाइ छ, त्यहाँ मान्छेभन्दा पनि बढी साइकल छन् । आम्स्टर्डममा मात्रै सात सय ६७ किलोमिटर साइकल लेन छ ।

कोरोना भाइरस संक्रमण फैलिएपछि त्यहाँ पनि साइकल प्रयोगकर्ताको संख्या बढेको देखिएको छ । यो समय साइकल व्यापारीहरूले पनि ठूलो व्यापार गरेका छन् । ‘यो अचम्मै भइरहेको छ । हामीले आगामी दश वर्षमा अपेक्षा गरेको गरेको व्यापार अहिले तीनदेखि ६ महिनामै भइरहेका छन्,’ विद्युतीय बाइक भानमुफको विक्रेता टाको कार्लियर भन्छन् । 
उनले यो वर्षको सुरुको चार महिनामै धेरै व्यापार गरे, जुन व्यापार अघिल्लो वर्ष यो अवधिमा कहिल्यै सम्भव भएको थिएन । 
–एजेन्सीको सहयोग