मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असोज ११ आइतबार १३:१९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लामो दूरीको सवारीसाधन खुलेसँगै काठमाडौं उपत्यका भित्रिनेकोे संख्या बढ्यो

Read Time : > 1 मिनेट
२०७७ असोज ११ आइतबार १३:१९:००

कोरोना भाइरसको संक्रमण बढेसँगै करिब ६ महिना लकडाउनमा परेका लामो दूरीका सवारीसाधन १ असोजबाट सञ्चालनमा आएका छन् ।

लामोदू रीको सवारीसाधन सञ्चालनमा आएसँगै बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका भित्रिनेको संख्या बढेको छ । 

नजिकिँदै गरेको चाडपर्व र कोरोना भाइरसबाट उत्पन्न समस्या कारण काठमाडौं उपत्यका छाड्नेको संख्या बढ्ने अनुमान गरिएको भए पनि उपत्यका भित्रिनेको  संख्यामा वृद्धि भइरहेको महनगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

१ असोजदेखि नै काठमाडौं उपत्यकामा बाहिरिनेभन्दा पनि भित्रिनेको संख्या बढेको हो । 

लामो दूरीको सवारीसाधन सञ्चालनमा आएको दिनमै नाै हजार चार सय  ८० जना उपत्यकमा प्रवेश गरेको महाशाखाका प्रवक्ता एसपी रामेश्वरप्रसाद यादवले जानकारी दिए । 

त्यस्तै, १ असोजदेखि १० गतेसम्म काठमाडौं उपत्यकामा  प्रवेश गर्नेको संख्या  एक लाख ७४ हजार आठ सय ४४  जना रहेको एसपी यादवले जानकारी दिए ।

त्यस्तै  १ असोजदेखि १० सम्ममा उपत्यका  छाड्नेको संख्या  एक लाख ६५ हजार दुई सय ४२ जना रहेको यादवले जानकारी दिए ।  

योसँगै उपत्यकामा १ असोजदेखि १० सम्म बाहिरिनेको तुलनामा नाै हजार पाँच सय ९८ जना भित्रिने बढी रहेका छन् । 

विभिन्न पेसा,  व्यवसायमा आबद्ध हुनेहरू उपत्यका भित्रिएका हुन सक्ने यादवले जानकारी दिए ।

कोरोना भाइरसका कारण सरकारले  लामोदूरी र छोटाे दूरीका सवारीसाधनका लागि  ५० प्रतिशत भाडादर बढाएको छ । 

तर, लामो दूरीका सवारीसाधन सञ्चालकरुले यात्रुसँग ६० प्रतिशतभन्दा बढी भाडासमेत  लिने गरेको पाइएको गुनासो आइरहेका छन् ।

सरकारले सिटक्षमता र भौतिक दूरीको कायम गर्ने भनिए पनि  लामोदूरी र छोटो दूरीका सवारीसाधनमा अझै पनि सो नियम लागू भएको देखिँदैन । 

पछिल्लो समय कोरोना भाइरस संक्रमण काठमाडौं उपत्यकामा बढ्दो दरमा वृद्धि भइरहेको छ । 

ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम ढकालले सिटक्षमताभन्दा बढी यात्रु हाल्ने सवारीसाधनलाई  कारबाही गरिरहेको  बताए ।

‘हरेक नाकामा  दूरी कायम भए–नभएको, स्यानिटाइजर राखिएको–नराखिएको, मास्क प्रयोग भए–नभएकोलगायतको विषयमा सबै हेरेर मात्र सवारीसाधनलाई भित्रिन र बाहिरिन दिएको र कतिपय सवारीसाधनलाई नियन्त्रणमै लिएर कारबाहीसमेत गरेका छौँ,’ ढकालले भने ।

यातायात व्यवस्था विभागले पनि लामोदूरीका सवारीसाधन चढेर यात्रा गर्ने यात्रुलाई सकेसम्म होटेलहरूमा खाना–नास्ता नखान, बीचमा लामो समयसम्म सवारीसाधन नरोक्न पनि आग्रह गरेको छ ।  

विभागले  विज्ञप्ति जारी गर्दै सरकारले तोकेको मापदण्डलाई कडाइका साथ लागू गर्न भनिएको छ ।

अग्रिम टिकट खोल्नेबारे छलफल  जारी

दसैँ–तिहारका लागि अग्रिम टिकट खोल्नका  लागि छलफल भइरहेको छ । 

नेपाल यातयात राष्ट्रिय महासंघका अध्यक्ष योगन्द्रनाथ कर्मचार्यले टिकट बुकिङ खोल्नेबारे छलफल जारी रहेको जानकारी दिए । 

१५ असोजदेखि टिकट खुला गर्ने तयारी भए पनि उपत्यका बाहिरिनेको  संख्या नबढेको र कोरोना भाइरसका कारण कसरी टिकट सञ्चालनमा ल्याउने  र कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा बस व्यवयायी र सरकारी निकायबीच छलफल गर्ने काम भइरहेकाे कर्माचार्यले बताए ।

‘हामी छलफल गर्दै छौँ, सम्भवतः असोजको तेस्रो हप्तासम्ममा केही टुंगो लाग्न सक्ने गरी छलफल भइरहेको छ,’ कर्मचार्यले भने । 

यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण अनलाइन प्रणालीबाट टिकट काट्ने तयारी भइरहेको छ । 

तर, अनलाइनबाट कसरी  टिकट काट्ने भन्ने धेरैलाई जानकारी नभएकाले केही स्थानमा भने दूरी कायम राखेर भए पनि टिकट बुकिङ खुला गर्ने  सरकारको तयारी रहेको छ ।