१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज ९ शुक्रबार
  • Thursday, 03 July, 2025
२o७७ असोज ९ शुक्रबार o६:५o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्याङ्जा पहिरो : नौजनाको राम्दीमा सामूहिक दाहसंस्कार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ असोज ९ शुक्रबार o६:५o:oo

दागबत्ती दिने परिवारभित्रैको कोही पनि भएनन्, गाउँ नै शोकमा

बिहीबार बिहान ६ बजे खसेको पहिरोमा पुरिएर ज्यान गुमाएका नौजनाको रामनदी धाम (राम्दी)मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ ।स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो ।  

नौजनालाई आठवटा छुट्टाछुट्टै चिता बनाइएको थियो । ६ महिनाका बालकलाई १९ वर्षीया आमा विनिता नेपालीसँगै एउटै चितामा राखेर दाहसंस्कार गरिएको नेपाल दलित संघ स्याङ्जाका अध्यक्ष लिलबहादुर रनपालले बताए । सबैजना एकैघरका भएकाले दागबत्ती दिने परिवारभित्रैको कोही पनि नभएपछि आफन्तमध्येका जीवलाल परियारले सबैजनालाई दागबत्ती दिए ।

पहिरोले घर पुरिँदा स्याङ्जाको वालिङ नगरपालिका– १४ तमादीका एकैपरिवारका नौजनाको मृत्यु भएको थियाे । पहिरोमा घर पुरिँदा तमादीकी ६० वर्षीया सानी नेपाली र उनको परिवारका आठजनाको मृत्यु भएको हाे ।

मृत्यु हुनेमा वृद्धा सानीसँगै ४८ वर्षीया माया, ३० वर्षीय दीपक, २८ वर्षीया उमाकला, १९ वर्षीय विनिता, २१ वर्षीय कुलदीप, १४ वर्षीय विक्रम, नौ वर्षीय विवश र ६ महिने समीर रहेका छन् । दीपक, कुलदीप, विक्रम र विवश मायाका छोराछोरी र विनिता बुहारी हुन् । पाल्पा घर भएकी मायाकी छोरी उमाकला बुधबार माइतीघर आएकी थिइन् । पहिरोमा ज्यान गएका शिशु कुलदीप विनिताका छोरा हुन् । 

अध्यक्ष रनपालले भने, ‘पहिरोमा पुरिएर ज्यान गुमाएका सबैको शवलाई गह्रौँ प्राथमिक अस्पताल वालिङमा पोस्टमार्टम गरेर रामनदीधामस्थित कालीगण्डकी नदीमा अन्तिम दाहसंस्कार गरेका छौँ   ।’

एकैपरिवारका नौजनाको एकैपटक दाहसंस्कारका लागि घाटमा पुगेका मलामी तथा आफन्तजन निक्कै भावविह्वल भएका थिए । घटनाले एकैपरिवारका नौजनाको ज्यान गएपछि अहिले गाउँ नै शोकमा डुबेको छ ।     

पहिरोमा पुरिएर जीवितै उद्धार गरिएकी १६ वर्षीया मनीषा नेपालीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । मनीषाको सम्पूर्ण उपचार खर्च वालिङ नगरपालिकाले जिम्मा लिने वालिङ नगरप्रमुख दिलीपप्रताप खाणले जानकारी दिए । वालिङ नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।     

याे पनि पढ्नुहाेस् : स्याङ्जा र पाल्पामा पहिरो : शिशुसहित ११ को मृत्यु, पाँच बेपत्ता