मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज ६ मंगलबार १७:३८:००
Read Time : > 2 मिनेट
फिचर

कोरोनाबाट बच्न युरोपेली देशले अपनाएका व्यावहारिक उपाय 

Read Time : > 2 मिनेट
२०७७ असोज ६ मंगलबार १७:३८:००

कोरोना भाइरस (कोभिड– १९) महामारीबाट युरोप सबैभन्दा धेरै प्रभावित भयो । चीनबाट सुरु भएको कोरोना संक्रमणको सुरुको लहरले नै युरोपेली देशलाई छोएपछि ठूलो धक्का परेको हो ।

कोरोना संक्रमण रोक्ने एउटै उपाय भ्याक्सिनलाई मानिँदै आएको छ जुन अहिलेसम्म पनि बनेको छैन । धेरै देशले कोरोना संक्रमण रोक्ने भ्याक्सिन निर्माणलाई प्राथमिकताका साथ अघि बढाइरहेका छन् । त्यसमध्ये कतिपय भ्याक्सिन अन्तिम चरणको परीक्षण पूरा नहुँदै प्रयोग गर्न पनि थालिएको छ । यद्यपि, ती भ्याक्सिन सार्वजनिक प्रयोगका लागि उपलब्ध भइसकेका छैनन् । 

भ्याक्सिन तयार हुनु अघिसम्म मानिसको व्यावहारिक परिवर्तनले पनि भाइरस संक्रमण रोक्न मद्दत पु¥याउनेछ । मास्क लगाउने, शारीरिक दूरी कायम गर्नेलगायत व्यावहारिक परिवर्तन यसका लागि उपयुक्त ठहरिएको छ । कोरोना भाइरसले सबैभन्दा बढी असर गरेको युरोपका देशहरूले यो संकटबाट बच्न अपनाएका व्यावहारिक परिवर्तन प्रस्तुत गरेका छौँ । यसले हामीलाई पनि मद्दत गर्न सक्छ ।

फ्रान्स : मास्क प्रयोग अनिवार्य

गत जुलाईमा कोरोना भाइरस संक्रमण फैलिएपछि फ्रान्सेली सरकारले सार्वजनिक स्थानमा मास्क प्रयोगलाई अनिवार्य गरेको थियो । फ्रान्सेली सरकारले कोरोना भाइरसका कारण घोषणा गरेको लकडाउन अहिले पूर्ण रूपमा हटाउने प्रयास गरिरहेको छ । त्यसको प्रयासस्वरूप स्थानीय सरकारले सुरक्षाको नयाँ उपायहरू तय गरेको छ । राजधानी पेरिस र त्यस वरपरको स्थानमा ११ वर्ष र त्योभन्दा माथि उमेरका व्यक्तिलाई अझै पनि मास्क अनिवार्य गरिएको छ । तोउलोउस, निस, लिल्ली, ल्योनलगायत नगरपालिकाहरूले पनि यो नियमलाई अनिवार्य गरेका छन् । फ्रान्सको कार्यालयहरूमा पनि मास्क अनिवार्य गरिएको छ ।

स्पेन : विद्यालय जाने बालबालिकालाई मास्क अनिवार्य
स्पेनमा ६ वर्षभन्दा माथिमा बालबालिकालाई मास्क लगाउन अनिवार्य गरिएको छ । साथै, सार्वजनिक यातायात र ‘इन्डोर’ कार्यालयहरूमा मास्क अनिवार्य गरिएको छ । स्पेनको प्रायः क्षेत्रमा घरबाहिर जाँदा मास्क अनिवार्य गरिएको छ । 

जर्मनी : पसल र सार्वजनिक यातायातमा मास्क नलगाए जरिवाना
जर्मनीमा ठूलो संख्यामा जम्मा हुन लगाएको प्रतिबन्ध यो वर्षको अन्त्यसम्मका लागि लम्ब्याइएको छ । सोही कारण बुन्डेस लिगा फुटबल पनि विनादर्शक सुरु भएको छ । विभिन्न देशबाट आउने व्यक्तिलाई विमानस्थलमा परीक्षण अनिवार्य गरिएको छ । साथै, पसल र सार्वजनिक यातायातमा मास्क प्रयोग नगर्नेलाई ५० युरो जरिवाना तय गरिएको छ ।

इटाली : रात्रिकालीन क्लब बन्द
भाइरस संक्रमण फेरि बढ्न थालेपछि इटालीमा रात्रिकालीन क्लबहरू पुनः बन्द गर्न निर्देशन दिइएको छ । गत १७ अगस्टदेखि नै इटालीमा यस्ता सबै क्लब बन्द रहेका छन् । सामाजिक दूरी कायम गर्न नसकिने स्थानमा फेस मास्क अनिवार्य गरिएको छ । ६ महिनापछि इटालीको कतिपय ठाउँमा विद्यालय खुलेका छन् । 

डेनमार्क : बार चाँडै बन्द गर्न निर्देशन 

डेनमार्क कोरोना भाइरस महामारीपछि युरोपमा चाँडै विद्यालय खोल्ने देशमध्येको हो । डेनमार्कले गत अप्रिलमै विद्यालय खोलेको थियो । तर, अगस्टको अन्त्यबाट डेनमार्कमा फेरि संक्रमितको संख्या बढ्न थालेको छ । त्यसपछि सरकारले सार्वजनिक यातायातमा मास्क अनिवार्य गरेको छ । राजधानी कोपेनहेगन र संक्रमित बढेको क्षेत्र वरपरका बारहरू चाँडै बन्द गर्न निर्देशन दिइएको छ ।

बेल्जियम : फुटबलमा दर्शकलाई अनुमति
बेल्जियममा फेरि संक्रमितको संख्या बढ्न थालेपछि यसअघिदेखि नै बन्द रहेका स्थान अझै नखोल्ने निर्णय गरिएको छ । रात्रिकालीन क्लबहरू बन्द छन् । चाडपर्व मनाउन रोक लगाइएको छ । राजधानी ब्रसेल्सको सबै ठाउँमा मास्क प्रयोग गर्नु अनिवार्य गरिएको छ । यद्यपि, फुटबल खेलको दौरान समर्थकलाई स्टेडियम जान अनुमति दिइएको छ । तर, थोरै संख्यामा मात्रै दर्शकलाई स्टेडियम जान अनुमति दिएको छ ।

नेदरल्यान्ड्स : ६ जनासम्म भेला हुन पाउने 
नेदरल्यान्ड्समा ६ जनासम्म भेला हुन सक्छन् । यद्यपि, उनीहरू १.५ मिटरको दूरीमा बस्नुपर्नेछ । भाइरस संक्रमण फैलनबाट रोक्न सुरक्षाको अरू नियम लागू गर्ने जिम्मेवारी स्थानीय सरकारलाई दिएको छ । १७ अगस्टदेखि विद्यार्थी विद्यालय जान थालेका छन् । विद्यार्थीका सुरक्षाका लागि अरू उपाय अपनाइएको छ ।

ग्रिस : बाहिरबाट आएकालाई परीक्षण अनिवार्य
ग्रिसमा सार्वजनिक ‘इन्डोर’ कार्यालय र सार्वजनिक यातायातमा मास्क लगाउन अनिवार्य गरिएको छ । ग्रिसको केही राज्यले स्थानीय रूपमा आफ्नो छुट्टै नियमहरू पनि जारी गरेका छन् । साथै, बाहिर देशबाट आएकाहरूलाई कोरोना परीक्षण गर्न पनि अनिवार्य गरिएको छ ।

रिपब्लिक अफ आयरल्यान्ड : तीनभन्दा बढी घरका मानिस भेला हुन नपाउने 
रिपब्लिक अफ आयरल्यान्डमा केही फरक नियम जारी गरिएको छ । एकपटकमा बढीमा ६ जनासम्म कसैको घरमा जान सक्छन् । तर, उनीहरू तीनभन्दा बढी घरको हुनुहुँदैन । बाहिर हुने जमघटमा १५ जनाभन्दा बढी उपस्थित हुन नपाउने नियम जारी गरिएको छ । ७० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई सकेसम्म घरभित्रै बस्न भनिएको छ । यस्तै, कार्यालयहरूलाई पनि घरबाटै काम गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।                         (एजेन्सीको सहयोगमा)