१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
मुनका न्यौपाने
२o८१ बैशाख २० बिहीबार १४:o२:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण डिजिटल संस्करण

महाव्याधि र तनाव व्यवस्थापन  

Read Time : > 4 मिनेट
मुनका न्यौपाने
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:o२:oo

वैश्विक महामारी कोभिड– १९ले सामाजिक तथा आर्थिक क्षेत्रमा ठूलो प्रभाव पारेको छ । आर्थिक तथा दैनन्दिनमा यति ठूलो प्रभाव पर्नुले विश्व जगत्लाई नै चिन्तित बनाएको छ । कोरोना भाइरसले छोटो अवधिमा नै लगभग पूरै विश्वलाई चपेटामा लियो र जसरी मानिस संक्रमित भइरहेका छन्, मर्नेको संख्या लाखौँमा छ । त्यसले पार्ने आर्थिक एवं अन्य सामाजिक दुस्प्रभावका कारण जनमानसमा सन्त्रासको वातावरण छ । मानिसले संक्रमण र जीविकाका कारण वर्तमानलाई अत्यासिलो र भविष्यलाई अन्धकार देखिरहँदा उनीहरूको मनोभावनामा त्यसको प्रभाव देखिँदो छ ।

संक्रमणबाट बच्न केही उपाय सिफारिस गरिएका छन्– पानीले समय–समयमा हात धुने, खोक्ने तथा हाच्छयुँ गर्ने वेलामा मुख छोप्ने, अरूबाट अलग रहने वा निश्चित दूरी कायम गर्ने र स्यानिटाइजरको प्रयोग तथा मुखमा मास्क लगाउने आदि । तर, यो भाइरसको प्रभावकारी खोप वा औषधि आउने समय लम्बिँदै जाँदा यही रोगसँगै जिउन सिक्नुपर्ने बाध्यता बन्दै गएकाले पनि मानिसलाई अत्याएको छ । संक्रमणको प्रभाव कम गर्न यात्रा प्रतिबन्ध, कार्यस्थलमा जोखिम नियन्त्रणका उपायहरू अपनाउने, अत्यावश्यक सेवाबाहेक घरबाहिर निस्कन नपाइने र आत्माअनुशासनजस्ता व्यवस्थाप्रति विश्वभरिकै अधिकारीको समान राय छ । संक्रमित तथा मृत्यु हुनेको संख्या बढ्दो रहनुले पनि सर्वत्र त्रास र चिन्ताको वातावरण छ । त्यसैले तनाव व्यवस्थापनको चर्चा सान्दर्भिक देखिन्छ । 

संक्रमित तथा मृत्यु हुनेको संख्या बढ्दो रहनुले पनि सर्वत्र त्रास र चिन्ताको वातावरण छ । त्यसैले तनाव व्यवस्थापनको चर्चा सान्दर्भिक देखिन्छ ।

कोभिड– १९का कारण जनस्वास्थ्यमा र दैनिक जीवनका क्रियाकलापमा असर परेका कारण मानिस मा चिन्ता र तनाव बढ्दै गएको हो । यसबीच कैयौँ मानिस समृद्धिको मार्गबाट सडकमा पुगेका छन् । जसले रोजगारी गुमाएका छन् तिनमा छिटै रोजगारी पाइनेमा निश्चिन्तता छैन, केवल अन्योलग्रस्त भविष्य छ । चिन्ता र तनावको यो माहौल कुनै एक मुलुक वा स्थानविशेषमा मात्र सीमित नरही विश्वव्यापी छ । व्यक्तिले अनुभूत गरेको मानसिक अवस्थाले सामाजिक एवं आर्थिकलगायतका सबैजसो क्षेत्रमा तनावजन्य अवस्था छ । युद्धपछिको तहसनहसको परिस्थितिसँग समेत तुलना गरिएको यो कोरोनाको प्रभाव कति समय लम्बिने निश्चित नहुनुले पनि मानसिक स्वास्थ्यबारे चिन्ता गरिहाल्नुपर्ने अवस्था छ । 

विभिन्न अध्ययन तथा विधिहरूले मानवीय क्षति अनुमान गरेभन्दा बढी रहेको भनिरहेका छन्। यस परिप्रेक्षमा तनाव व्यवस्थापनका विविध उपायको खोजी हामी सबैको चासोको विषय बन्नुपर्छ । तनाव परिस्थितिजन्य माग र आपूर्तिबीचको असन्तुलनका कारण पैदा हुने र यसले मानिसको जीवनमा शारीरिक एवं मानसिक प्रभाव पार्ने हुन्छ । व्यवस्थापनका विद्वान् ग्रिफिनले भनेजस्तै तनाव उत्पन्न गराउने तत्वहरूप्रतिको प्रतिक्रिया हो । मानवीय संवेदना, रोजगारी तथा आयआर्जनमा परेको प्रभाव, सामाजिक विचलन, जीवनप्रतिको नैराश्यता, आन्तरिक तथा बाह्य वातावरण र उपचारका विविध आयाममा राज्यप्रतिको निश्चिन्तता नहुनु, जीवनयापनमा आइपरेको असहजता अहिले तनावका मुख्य कारण बनेका छन् । मानवीय क्षतिको बढ्दो आँकडाले आफन्त र आफ्नो जीवनप्रति चिन्ता बढाइदिएको छ । शारीरिक, मानसिक र व्यावहारिक रूपमै तनावको अभिव्यक्ति देखिन थालेको छ । आफैँभित्र चिडचिडाहट रहनु, अनिद्राको समस्या, कमजोर आत्मबल, श्वासप्रश्वासको समस्या, छटपटाहट तथा व्यवहारमा कुण्ठाजस्ता लक्षण आमरूपमा नै देखिन थालेका छन् । घरभित्र रहँदा र घरबाहिर निस्कँदा दुवै अवस्थामा तनाव उत्तिकै सक्रिय देखिँदै छ । 

मानिस सामाजिक प्राणी भएकाले समाजसँगको अन्तक्र्रिया तथा अन्तर्घुलन उसको आवश्यक जीवनचर्या हो । तर, संक्रमण हुन नदिन अपनाउनुपर्ने सामाजिक दूरीले एकांकी र एक्लोपनाको अनुभूति पक्कै गराएको छ । कतिपयका लागि पारिवारिक जिम्मेवारी पूरा गर्न आयस्रोत र अवसरका ढोका बन्द भएकाले रोगसँगै भोक र शोकले समेत आतंक थपिदिएको छ । विश्वव्यापी मन्दीको असरको सीधा प्रभाव आर्थिक क्रियाकलापमा अवश्य पर्दछ । अभाव र तनावमा राज्यका संयन्त्रहरूप्रति असन्तुष्टि र आक्रोशले विश्वासको वातावरण निर्माण पनि जटिल देखिएको छ । मानसिक असन्तुष्टिको विस्फोट कसरी हुन्छ भन्ने उदाहरणका लागि मत्स्येन्द्रनाथको जात्रालाई लिएर ललितपुरमा घटेको घटनालाई लिन सकिन्छ । 

कठिन अवस्थामा सही र दूरगामी निर्णय गर्नुपर्ने भएकाले राज्य तथा अधिकारीहरूमाथि पनि चुनौतीको चाङ नै छ । कठिन मोडमा संयमित र सतर्कतापूर्ण व्यवहार अपनाउन सकेमा तनाव व्यवस्थापनका लागि सहज वातावरण बन्छ । अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने र आफ्नो ज्यानको जोखिममा समेत सेवा प्रवाह गर्ने जनशक्तिका लागि परिवार तथा समुदायको सपोर्ट अति आवश्यकीय पक्ष हो । यसर्थ, सामाजिक सद्भाव र प्रोत्साहन मनोबल उकास्ने प्रभावकारी अस्त्र हुन् । तर, छापामा आएका केही पछिल्ला समाचारले मानवीय सोच, मूल्य–मान्यतामाथि प्रश्न खडा गरेको छ । 

तनावका बहुआयामिक तथा बहुक्षेत्रगत असर हुन्छन्, त्यसैले तनाव व्यवस्थापनमा व्यक्ति, समूह, राज्य, नागरिक अभियन्ता, पेसाकर्मी र अन्तर्राष्ट्रिय संस्था सबैको चासो तथा सहकार्यको जरुरी हुन्छ । विचार–ढाँचाको सक्रियता सकारात्मकउन्मुख बनाउन उत्पन्न हुने विचार वा भावको सही विश्लेषण जरुरी हुन्छ । आफैँभित्रको खुसी खोजेर आत्मसाक्षात्कार गर्दै जीवन आनन्दमय बनाउन आत्मज्ञानको जरुरत पर्दछ । यस्तो ज्ञान र सीपका लागि विशेषज्ञ वा चिकित्सकीय परामर्श पनि सहयोगी हुन सक्छ । प्रविधिको प्रयोगले आफन्तसँगको सम्पर्क तथा आइसोलेसनमा रहन मद्दत गर्दै संक्रमित हुनबाट पक्कै जोगाउनेछ । त्यस्तै, अनुशासित दिनचर्या तथा सन्तुलित सादा खानपानले आफैँमा महत्व राख्छ । सकारात्मक सोच तनाव व्यवस्थापनको प्रमुख रणनीति हो । साथै अध्यात्मप्रतिको लगावले समेत तनाव व्यवस्थापनमा उल्लेख्य भूमिका खेल्छ । 

तनाव व्यवस्थापनमा अध्यात्मको महत्व

आर्थिक विकास र भौतिक सुविधाले मात्र मानवले विजय प्राप्त गर्दछ भन्ने भाव राख्नेहरूका लागि कोरोनाले अध्यात्मवादको महत्वमा सोच्न बाध्य बनाइदिएको छ । तनावका स्रोतहरू अनगिन्ती छन्, त्यसैले त विश्व स्वास्थ्य संगठनका प्रतिवेदनहरूमा मानसिक स्वास्थ्यले विश्वभरि नै प्रभाव पार्ने उल्लेख भएको पाइन्छ । शारीरिक सक्रियतामा निष्क्रियता तथा अहंकारजन्य चेतना र कर्मका कारण सम्पूर्ण मानव नै अहिले भूमरीमा फसेको छ । हामीले गर्ने कर्मको परिणाम हाम्रो पछिपछि आउँछ र यसको असर व्यक्ति, समाज र समग्रतामै पर्दछ । पूर्वीय दर्शनका कतिपय अभ्यास सकारात्मकता निर्माणका लागि विभिन्न मुलुकमा प्रयोगसमेत भएका छन् । 

योगका माध्यमबाट शरीरमा श्वास–प्रश्वास प्रक्रियालाई जीवन्त बनाउन सहयोग गर्नु, रोग प्रतिरोधात्मक क्षमता बढाउने माध्यम बन्नु, जिम्मेवारी र जवाफदेहिताप्रति सजग गराउनु, नैतिक आचरण र मार्गदर्शनका लागि प्रेरित गर्नु, अन्तिम सत्यको खोजीमा मार्गनिर्देशन गर्नु, क्षमता विकासका लागि शारीरिक तथा मानसिक स्वास्थ्यमा जोड दिनु र अस्तित्वबोधजस्ता विषय तनाव व्यवस्थापनमा निकै सहयोगी हुनेछन् । कर्मनिष्ठ जीवनप्रति प्रेरित गर्दै असल कर्मको परिणाम असलै हुने र खराब कर्मको परिणाम खराब नै हुने पक्षमा जोड दिनुले नकारात्मकताप्रति सचेत गराउँछ । जब व्यक्तिविशेषमा सकारात्मकता सञ्चार हुन्छ तब तनाव व्यवस्थापनका लागि शरीरमा सोहीबमोजिमको सञ्चार हुन्छ । 

अध्यात्मवादमा तनाव न्यूनीकरणका उपायहरू छन् । उदाहरणका लागि परमात्माको स्मरण गर्ने, ध्यान गर्ने (चेतनालाई सुन्दर बनाउने), विश्वासका आधारमा सम्बद्ध अध्यात्म कक्षाहरूमा सहभागिता जनाउने (जुम, एमएस टिमलगायतका हाल भइरहेका), विभिन्न प्रकारले प्रवचन तथा अन्तक्र्रियामा भाग लिने, उत्सवमा सरिक हुने, विभिन्न धार्मिक पुस्तकहरूको अध्ययन तथा चिन्तनमनन, धार्मिक यात्राहरूको संस्मरण लेख्ने, प्रतिकूलतामा आफैँप्रति विश्वास जगाउने, संगीतका माध्यमबाट आनन्दित रहने गरेर जीवनलाई सहज बनाउन सकिन्छ । गौतम बुद्धले संसारमा दुःख छ र दुःखको निवारण पनि छ भनेजस्तै जीवनमा तनाव र चिन्ताहरू हुन्छन्, तर तिनलाई व्यवस्थापन गर्ने विभिन्न उपायसमेत छन्, तिनको उपयोग गर्ने वेला आएको छ । 

(राष्ट्रिय योजना आयोगमा कार्यरत न्यौपाने उपसचिव हुन्) 

ग्राफिक्समा प्रयाेग भएकाे तस्बिर : अमेरिकन एकेडेमी अफ ओपथेल्मोलेजी डटओआरजी

ad
ad