१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नवीन प्यासी काठमाडाैं
२o८१ बैशाख २५ मंगलबार o९:२५:oo
Read Time : > 4 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

बहस होइन, विवादमै बिते सिनेकर्मीका ६ महिना

Read Time : > 4 मिनेट
नवीन प्यासी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o९:२५:oo

कोरोना भाइरसका कारण नेपाली सिने उद्योग थला परेको छ, तर चलचित्रकर्मी भने सिर्जनात्मक काममा भन्दा विवादमै रुमल्लिए

- गत असारमा अभिनेत्री दीपाश्री निरौलाले एक टेलिभिजन अन्तर्वार्तामा अभिनेता राजेश हमाललाई भन्ने गरिएको ‘महानायक’ सम्बोधनमाथि प्रश्न गरेकी थिइन् । उनले हमाललाई ‘महानायक’ पत्रकारले बनाइदिएको आशय व्यक्त गरेकी थिइन् । उनको यस्तो अभिव्यक्तिको भिडियो क्लिप सार्वजनिक भएपछि चौतर्फी आलोचना भयो । यो विषयले नेपाली चलचित्र क्षेत्र विभाजित बन्न पुग्यो ।

- नेपाल–भारत सीमा विवादको विषयमा दिएको अभिव्यक्तिले नायिका वर्षा राउत आलोचित बनिन् । एक युट्युब च्यानललाई दिएको अन्तर्वार्तामा आफूले सीमा विवादका कारण भारतीय साथीहरूसँग कुरा गर्न गाह्रो भइरहेको र भारतीय साथीहरूलाई पनि गाह्रो भइरहेको आशयको अन्तर्वार्ता दिएकी थिइन् । सञ्जाल प्रयोगकर्ताले उनलाई उडाउन र ट्रोल गर्न कुनै कसर बाँकी राखेनन् । पछि उनले फेसबुकमा स्टाटस लेख्दै माफी माग्नु पर्‍यो ।

- अभिनेत्री साम्राज्ञीराज्यलक्ष्मी शाहले इन्स्टाग्राममार्फत एक भिडियो सार्वजनिक गर्दै नेपाली सिने उद्योगमा काम गर्ने व्यावसायिक वातावरण नभएकाले आफू कुनै पनि ब्यानरमा नदोहोरिएको बताइन् । उनले आफूलाई धेरैपटक दुव्र्यवहार भएको र अपशब्द प्रयोग गरेर गाली गरेको पनि खुलासा गरिन् । उनले आफूलाई कसले दुव्र्यवहार गरेको भनेर नाम नखुलाए पनि अभिनेता भुवन केसी साम्राज्ञीविरुद्ध उत्रिए । आफ्नो चरित्रहत्या भएको भन्दै उनले चलचित्र संघमा निवेदन दिए । त्यसपछि अदालतमा गए, दश करोड क्षतिपूर्तिको मागसहित । यो विषयमा पनि नेपाली सिने क्षेत्र दुई धारमा विभाजन भयो ।

- अर्की अभिनेत्री पूजा शर्माले १४ जिल्ला र ७२ प्रदेश भनेर दिएको भिडियो अन्तर्वार्ताको क्लिप पनि भाइरल बन्यो । मुलुकको प्रशासनिक विभाजनबारे राम्रो ज्ञानसम्म नभएको भन्दै उनको ट्रोल बनाइयो । शर्माको अभिव्यक्तिले पनि महिनादिनजति सिने उद्योगलाई ततायो । यसबीचमा पूजा र पत्रकार प्रकाश सुवेदीबीच विवाद भयो । यो विवादले सिने क्षेत्र नै बाँडियो । पछि आपसी सहमतिमा विवाद टुंगियो ।

                                                                                     ......

चैतयता नेपाली सिने उद्योग ठप्प छ । हल बन्द हुँदा चलचित्र प्रदर्शन भएका छैनन् । कोरोना भाइरस संक्रमण बढ्दो क्रममा रहेका कारण अब कहिले नेपाली सिनेमा प्रदर्शन हुने हो, यकिनका साथ भन्न सकिने अवस्था छैन । यस अवधिमा चलचित्र उद्योगसँग सम्बन्धित ३० हजारभन्दा बढी मानिस प्रभावित भए । बैंकबाट ऋण लिएर चलचित्र बनाउने निर्माताहरू ब्याज तिर्न नसक्ने अवस्थामा पुगेका छन् । चलचित्र क्षेत्रमा क्रियाशील प्राविधिकहरू भोकभोकै पर्न थालेपछि सहयोग अभियान सुरु भएको छ । यस्तो विषम परिस्थितिबाट गुज्रिएको सिने उद्योग कलाकारका कारण लफडामा फसिरह्यो । कुनै सिर्जनात्मक काम सिने उद्योगमा हुन नसकिरहेको अवस्थामा केही कलाकार भने लफडाको घेरोभित्र रहिरहे । समाचारको हेडलाइन र गसिपका खुराक बनिरहे । कलाकारको अभिव्यक्तिले सामाजिक सञ्जाल तातिरह्यो । नयाँ–नयाँ सिर्जनामा लाग्नुपर्ने कलाकार आफैँ विवादमा पर्दा त्यसले सिंगो नेपाली चलचित्र क्षेत्रलाई नै विभाजन गरेको छ । त्यति मात्र होइन, कलाकारहरूबीच गुट–उपगुट निर्माण हुँदा यसले आगामी दिनमा नेपाली चलचित्र उद्योगलाई असर पुग्ने चलचित्रकर्मी बताउँछन्।                                                                             

निर्देशक दीपेन्द्र के खनाल लकडाउनको समयभरि स्क्रिप्ट लेखेर बसे । आफू सिर्जनात्मक काममा लाग्नुपर्ने भएकाले पनि गुमनाम भएर काम गरिरहनुपरेको बताउँछन्, उनी । त्यसैले तत्काल नतिजा नदेखिने खनालको मत छ । ‘भित्रभित्रै काम गरिरहेका चलचित्रकर्मी छन् । मैले पनि लगभग एउटा प्रोजेक्ट सकाएँ । खगेन्द्र लामिछानेजीले पनि सकाउनुभएको छ । काम गर्ने मान्छेले त गरिरहेका छन्,’ उनी भन्छन्, ‘बाहिर जो फुर्सदिला बनेका छन्, उनीहरूको झगडाको कुरा छ । सिर्जनात्मक काम तत्काल कहाँ देखिने हो र ! पर्दामा देखिन त कुर्नुपर्‍यो । त्यो आउटपुट त कुर्नैपर्छ । तर, यस्ता हल्ला र लफडा फुर्सदिला मान्छेका लागि हुन् ।’

तर, यस्ता विवाद र लफडाले दीर्घकालीन असर गर्ने बताउँछन्, खनाल । खनालको व्यक्तिगत अनुभव नै छ– उनलाई टोलमा कोही चिनेको मान्छे भेट हुँदा कस्तो विवाद हो, के कुरा हो भनेर उनलाई सोध्छन् । ‘यो राम्रो कुरा होइन । यस्ता विषयले हलमा आउने दर्शकप्रति अविश्वास पैदा गरिदिन्छ । त्यसको मूल्य सिंगो चलचित्र उद्योगले चुकाउनुपर्छ,’ खनाल भन्छन्, ‘हाम्रो सामाजिक स्कुलिङमै समस्या छ । किनभने, सेलेब्रिटीको मात्र कुरै होइन । नेतादेखि उच्च ओहोदाको मान्छेको पनि त्यस्तै कुरा आउँछ । त्यो अविश्वास हरेक क्षेत्रमा छ । हामीले केही कुरा गर्दा, केही बोल्दा पछिसम्म पार्ने दूरगामी असरबारे सोचेर बोल्दैनाैं ।’ साथमा सेलेब्रिटी भन्ने ट्यागलाई बोकेर हिँडेपछि सामाजिक उत्तरदायित्व पनि आममानिसको भन्दा ज्यादा हुन्छ भन्ने कुरा बिर्सन नहुने बताउँछन्, खनाल । 

पछिल्लो सात महिनामा सिने क्षेत्रमा भएको विवाद र लफडालाई कसरी हेर्ने ? प्रश्नमा चलचित्रकर्मीको बेग्लाबेग्लै धारणा छ । ‘सिनेमाका दुईवटा डाइमेन्सन हुन्छन्, एउटा घटनाक्रम र अर्को सिर्जनात्मकता । हाम्रो सिनेमाको चिन्तन र विकास, सिनेमासँग सम्बन्धित जति पनि आयाम छ, त्यो आयामचाहिँ विशेषतः घटनाप्रधान छ । हामीलाई सिनेमा भनेको ठूलो घटना हो लाग्छ,’ चलचित्रकर्मी तथा समीक्षक मनोज पण्डित भन्छन्, ‘सिनेमा चिन्तन र चेतनाको रिप्रेजेन्टेसन हो भन्ने मान्यता छैन । तर, घटनामा रमाउने, घटना सिर्जना गर्ने र आफू त्यो घटनामा रमाउन चाहने हाम्रो प्रवृत्ति छ । घटना भएन भने केही पनि भएको छैन जस्तो महसुस गर्ने हाम्रो समाज छ । कारण यो हो ।’ 

                                                                         ......

निर्देशक दीपेन्द्र लामा विवाद सार्थक र अर्थपूर्ण विषयमा हुँदा मात्र राम्रो हुने बताउँछन् । अनावश्यक विषयमा विवाद झिक्नु, त्यस्ता विवादप्रति चासो राख्नु खासै गतिलो नभएको उनको तर्क छ । साथै, यस्ता विषय आउने–जाने क्रम चलिरहने र यस्ता लफडा मानिसले बिर्संदै जाने उनी बताउँछन् । ‘लकडाउनका वेला मान्छेलाई फुर्सद थियो, अलि बढी चासो राखे । अब मान्छे बिस्तारै व्यस्त हुँदै छन् । बिस्तारै नयाँ काम, नयाँ विषयको पछि लाग्नेछन् र यस्ता लफडा बिर्सिसक्नेछन्,’ यस्ता विवादले सिने उद्योगलाई असर नगर्ने बताउँदै लामा भन्छन्, ‘फिल्म उद्योगको कुनै पात्र विवादमा आउँदा त्यही पात्रलाई हेरेर समग्र फिल्म उद्योगलाई मूल्यांकन गर्नु गलत हो । एउटा पात्र राम्रो होला, अर्को पात्र नराम्रो । तर, त्यही पात्रलाई लिएर मूल्यांकन गर्नु भएन ।’ 

‘हिँड्दा हिँड्दै’ चलचित्र बन्ने

कोरोना महामारीका कारण लगाइएको निषेधाज्ञा खुकुलोसँगै चलचित्रसम्बन्धी गतिविधि बढ्न थालेको छ । यसैक्रममा सोमबार नयाँ चलचित्र ‘हिँड्दा हिँड्दै’ को शुभमुहूर्त गरिएको छ । मिलन आलेमगरको निर्देशनमा निर्माण हुने चलचित्रमा आकाश श्रेष्ठ, सलोन बस्नेत, विकास थापाका साथमा नवनायिका रेखा शाह प्रमुख भूमिकामा छन् । निर्देशक आलेले चलचित्रमा युवापुस्ताको प्रेमभावनालाई प्रस्तुत गरिने जानकारी दिए । चलचित्रका अन्य केही कलाकार र एकजना हिरोइन छनोट हुन बाँकी रहेको निर्माण पक्षले जनाएको छ ।

ad
ad