मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस/एएफपी
२०७७ असोज ५ सोमबार १४:१०:००
Read Time : > 1 मिनेट
विश्व

सात महिनापछि पुनः खुल्यो ताजमहल 

Read Time : > 1 मिनेट
रासस/एएफपी
२०७७ असोज ५ सोमबार १४:१०:००

भारतमा कोरोना भाइरस संक्रमित बढिरहे पनि उत्तर प्रदेशको आग्रास्थित ताजमहल र केही विद्यालय स्थानीय प्रशासनले खुला गरेको छ । गत मार्च महिनामा सरकारले गरेको कडा लकडाउनसँगै पर्यटकीय स्थल ताजमहल पनि बन्द भएको थियो । 

भारतमा कोभिड– १९ संक्रमितको संख्या ५४ लाख नाघिसकेको छ । संयुक्त राज्य अमेरिकापछि भारतमा सबैभन्दा बढी मानिस कोभिड– १९ बाट संक्रमित छन् । कोरोना महामारी र यसपछि सरकारले घोषणा गरेको लकडाउनका कारण भारतमा लाखौँ मानिसको दैनिकी उलटपुलट भएको छ । यसकारण पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अन्य मुलुकले अवलम्बन गरेझैँ कडा नियमहरू लागू नगरी पर्यटकीय स्थल, सवारीसाधन, विद्यालय खोल्ने तयारी गरेका छन् । 

सरकारले पछिल्ला महिनामा रेल सेवा, घरेलु विमान सेवा, बजार र रेष्टुराँसमेतका पेसा–व्यवसायमा गरिएका प्रतिबन्धहरू खुकुलो बनाउन थालेको छ । सरकारले अब भारतकै विश्वप्रसिद्ध स्मारक ताजमहल सर्वसाधारणका लागि खुला गरेको छ । 

ताजमहल घुम्न परिवारसहित आइपुगेका बैंकका एक अधिकृत आयुब शेखले लकडाउनका कारण धेरै मानिसले रोजगारी गुमाएको अवस्थामा सरकारले पूरै मुलुकलाई खुला गर्नुपर्ने बताए । उनले भने, ‘हामीलाई अब भाइरसको डर छैन । यसले संक्रमण गर्ने भए गरिसक्यो, अब कति चिन्ता लिएर बस्ने ? अहिले मानिसको मृत्युदर पनि घटेको छ । मेरो विचारमा यो भाइरस त्यतिकै हराएर जाँदैन ।’

भारतमा आग्रास्थित ताजमहल निकै लोकप्रिय पर्यटकीय स्थल हो । यो स्मारक हेर्न वर्षमा झन्डै ७० लाख मानिस आइपुग्छन् । तर, यो स्मारक विगत सात महिनादेखि बन्द छ । 

अधिकारीहरूले सामाजिक दूरीका नियमहरूमा कडा गरिएको र पर्यटकहरूलाई यहाँका संगमरमर छुन निषेध गरिएको बताएका छन् । राजकुमारी डायनाले सन् १९९२ मा बसेर फोटो खिचाएको बेन्चलाई विशेष किसिमबाट ल्यामिनेट गरिएको छ ता कि त्यसलाई वेलावेला स्यानिटाइज गर्न सकियोस् ।

सोमबार पहिलो दिन बिहानै सयौँ मानिस ताजमहल पुगिसकेका थिए । सुरक्षाकर्मीहरूले मानिसहरूलाई मास्क लगाउन अनुरोध गरिरहेका थिए । यहाँ दैनिक भ्रमण गर्नेको संख्या पाँच हजारमा सीमित गरिएको छ । यो संख्या विगतको भन्दा एकतिहाइ मात्र हो ।