१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १३:४५:oo
Read Time : > 3 मिनेट
ad
ad
फिचर

विकसित मुलुकमै पनि कोरोना संक्रमितमाथि चर्को विभेद

Read Time : > 3 मिनेट
२o८१ बैशाख २४ सोमबार १३:४५:oo

वैदेशिक रोजगारीका लागि सिंगापुर पुगेका बंगलादेशका जाकिर हुसैन खोकानले कोठाबाट बाहिर निस्कन अनुमति पाएको एक साता मात्र भयो । सिंगापुर सरकारले कोरोना महामारी नियन्त्रणमा गरेको लकडाउनले उनीसहित वैदेशिक रोजगारीमा रहेका धेरै मानिस ६ महिना कोठामै थुनिए । उनीहरूलाई काम गर्ने कम्पनीले कोठा भने उपलब्ध गराएको थियो । कोठाबाट बाहिर निस्किँदा उनले कोरोना संक्रमित र सम्भावित संक्रमितमाथि सिंगापुरमा हुने गरेको विभेद पनि सार्वजनिक गरे । 

उनीहरू सुत्ने बेड ६ वटा स्टिलको डण्डीले बनेको छ । उनको कोठामा तल र माथि सुत्ने मिल्ने गरी दुई तलाका धेरै बेड थिए । जाकिर र उनका साथीहरू आ–आफ्नो बेडअगाडि लुगा झुन्ड्याउने गर्छन् । जसले बेडको भोगचलन गर्न पाउने क्षेत्रफल दर्शाउँथ्यो । यो कोठामा जाकिर काम गर्ने कम्पनीमा फेला परेका कोरोना संक्रमित पनि थिए । कम्पनीले सहरभन्दा केही टाढाको अपार्टमेन्टमा वैदेशिक रोजगारको सिलसिलामा आएका विदेशी कामदारलाई राख्ने गरेको छ । यही अपार्टमेन्ट नै कोरोना संक्रमित विदेशी नागरिक राख्ने मुख्य केन्द्र बनेको छ । विशेषतः यो अपार्टमेन्ट बंगलादेश, भारत, श्रीलंकाका नागरिकले भरिएका छन् । उनीहरूलाई सुविधासम्पन्न अपार्टमेन्टको व्यवस्था छैन । त्यस्ता कामदार ६ महिनादेखि नै आइसोलेसन र क्वारेन्टिनमा छन् । ‘६ महिना यही एउटा बन्द कोठामै बित्यो,’ जाकिर भन्छन्, ‘कहिलेकाहीँ त हाम्रो मनमा यस्तो विचार आउँथ्यो, कतै हामी जेलभित्र बसिरहेका त छैनौँ, किनभने त्यहाँको वातावरण यस्तै थियो ।’ संक्रमितबाट सुरक्षित रहन सामाजिक दूरी अनिवार्य भनिएको थियो । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को समयमा सामाजिक दूरी कायम गर्न भनेको छ । जाकिर बस्ने अपार्टमेन्टका कोठाको स्पेस यति सानो छ कि त्यहाँ सामाजिक दूरी अपनाउनै मिल्दैन । 

केही दिनअघि मात्र कोभिड–१९ बाट मुक्त भएपछि जाकिरलगायत अन्य आप्रवासी कामदार कम्पनीमा फर्किएका छन् । काममा फर्कंदा संक्रमित व्यक्तिप्रतिको नजर नै फरक भएको उनले सुनाए । ‘जुनमा संक्रमित भएको थाहा पाएँ, यसबाट उन्मुक्ति पाएपछि काममा फर्किएँ, तर कारखानामा वातावरण राम्रो पाउन सकिनँ,’ काममा फर्किएको पहिलो दिनको अनुभवबारे उनले बताए । गत महिना नयाँ संक्रमण देखा परेपछि वैदेशिक रोगजारमा सिंगापुर आएका कामदारलाई क्वारेन्टिनमा पठाइएको थियो । 

कुनै कम्पनीले अपार्टमेन्टमै आफ्ना कामदारलाई राखेको थियो । कसैले विद्यालयको छात्रवासमा कामदारलाई राखे । भारत, श्रीलंका तथा बंगलादेशबाहेक अन्य मुलुकबाट आएका विदेशी कामदारले सहरभित्रकै अपार्टमेन्टमा बस्ने अवसर पाए । सिंगापुर सरकारले भाइरस रोकथामका लागि हरप्रयास गरेको छ । मूलतः वैदेशिक रोजगारमा आएका व्यक्ति नै संक्रमित भएपछि थप समस्या देखियो । यसैकारण सरकारले कम्पनीलाई सबै कामदारलाई तत्कालै क्वारेन्टिन वा आइसोलेसनमा राख्न निर्देशन दिएको हो । 
तर, कम्पनीले प्रबन्ध गरेको कोठामा राम्रो व्यवस्था थिएन । ‘हामीले यो ६ महिना निकै दुःखका साथ एकैकोठामा बितायौँ,’ जाकिरले भने । सरकारले यसै समयमा स्थानीय व्यक्तिलाई काममा फर्कन अनुमति दिएको छ । तल्लोस्तरका कामदारलाई अझै पनि काम गर्न अनुमति दिएको छैन । दक्षिण भारतका ५१ वर्षीय बैथनान राजाले लकडाउन घोषणा भएसँगै कामदार कोठामै थुनिएको बताए । नजिककै रुमको साथीसँग पनि कुराकानी गर्न प्रतिबन्ध लगाइएको थियो । राजा भन्छन्, ‘एकपटक के लकडाउन घोषण भयो, हामी सबै बाहिरबाट आएका कामदार कोठाभित्रै गुम्सिएरै बस्यौँ ।’ कोठामा अक्सिजनको मात्रा नपुग्दा धेरैजसो बिरामी भएको उनले बताए । श्रीलंकन महालिंगमले कम्पनीले आफूमाथि नराम्रो व्यवहार गरेको गुनासो गरेका छन् । उनी भन्छन्, ‘सानो स्टिलको बेड भएको कोठामा बस्दा बिरामी नभएका व्यक्ति पनि बिरामी भए, कम्पनीले हामीमाथि नराम्रो व्यवहार गरेको महसुस भयो ।’ राम्रो पारिश्रमिक पाउने व्यक्ति सुविधासम्पन्न क्वारेन्टिनमा बसेको गुनासो महालिंगमले गरेका छन् ।

महालिंगम भन्छन्, ‘राम्रो तलब पाउने कामदारलाई त्यहीअनुसारको क्वारेन्टिनको व्यवस्था भयो, तर हामीहरूलाई एउटा सानो कोठा मात्र दिइयो, जहाँ सामाजिक दूरी कायम गर्ने स्पेस नै छैन ।’ आइसोलेसनमा भोगेको पीडाभन्दा पनि घरमा मासिक रकम पठाउन नसक्दा उनीहरू झनै तनावमा छन् । बंगलादेशी नागरिक जाकिर यही मानसिक तनावमा छन् । उन भन्छन्, ‘६ महिनादेखि काम गर्न पाएको छैन, कम्पनीले अन्य सामान्य काम गर्न अनुमति पनि दिएको छैन, यसैकारण घरमा पैसा पठाउन सकेको छैन ।’ 

रकम पठाउन नसक्दा परिवारको अवस्था कस्तो छ समेत बुझ्न नसकेको जाकिरको भनाइ छ । ‘म मात्र नभएर यहाँ सबै कामदार यस्तै समस्यामा छन्, घर–परिवारका सदस्य हामीहरूले पठाएको रकमबाटै गुजारा गरिरहेका छन्, अहिले के ग¥यो वा खायो भन्ने चिन्ता छ,’ महालिंगमले भने । 

सिंगापुरका क्वारेन्टिन र आइसोलेसन असुरक्षित

सिंगापुरमा गत जनवरीमा पहिलो कोरोना संक्रमित देखिएका थिए । एक साताभित्रै सयजना पुग्यो । सरकारले ठूलो परिमाणमा कन्ट्याक्ट टे«सिङलाई तीव्रता दियो । दिन प्रतिदिन संक्रमण बढ्दा महामारीको रूप नै लियो । यसको रोकथाममा सरकारले विशेष योजना नै लागू ग¥यो । यो ६ महिनामा विभिन्न निकायको सहयोगबाट संक्रमित व्यक्ति पत्ता लगाउन र स्थिति नियन्त्रण लिन एउटा संयन्त्र सक्रिय भएको थियो । 

यही संयन्त्रको डाटाअनुसार सिंगापुरमा स्थानीयभन्दा वैदेशिक रोजगारमा आएका व्यक्ति नै धेरै संक्रमित देखिए । कामविहीन र काममा नफर्किएका व्यक्तिलाई घरमै बस्न सरकारले निर्देशन दियो । वैदेशिक कामदारलाई कम्पनीले मिलाएको अपार्टमेन्टमै बस्न भनियो । सयौँ र हजारौँ संख्याका कामदार एकै स्थानमा बस्दा संक्रमितको संख्या ह्वात्तै बढेको हो ।

सुरुमा एउटा कोठामा २० जना मात्र राखिएको थियो । पछि संख्या बढ्दै गयो । विदेशी कामदारलाई असुरक्षित रूपमा क्वारेन्टिनमा राखिँदा संक्रमित बढेको टिडब्ल्युसी–२ ले दाबी गरेको छ । टिडब्ल्युसी–२ ले जनाएको छ, ‘एकैदिनमा सयजनाभन्दा माथि विदेशी कामदार संक्रमित भए, यो सबै असुरक्षित रूपमा कामदारलाई क्वारेन्टिनमा राखेको प्रतिफल थियो ।’ 
विदेशी कामदारप्रति असमान व्यवहार गरेकै कारण सिंगापुरमा संक्रमण बढेको मासेय विश्वविद्यालयका प्रोफेसर मोहन दत्तले बताएका छन् । प्रोफेसर दत्त भन्छन्, ‘सिंगापुरमा कामदारप्रति व्यवहार फरक भयो, उनीहरूमा भिन्नता कम्पनी र सरकारले गरे, यसैकारण संक्रमित बढेका हुन् ।’ 

स्थानीय र बाहिरका व्यक्तिप्रति नै सरकारको हेराइ फरक भएको उनको भनाइ छ । ‘हामीले कसरी समन्वयन बनाउने, यहाँ दुई किसिमका छन्, जहाँ समान व्यवहार छैन,’ उनी भन्छन्, ‘संक्रमित भएका व्यक्ति र नभएका पनि एकैकोठामा रहे, यसले पनि समस्या पारेको हो ।’ –एजेन्सीको सहयोगमा 
 

ad
ad