१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज २ शुक्रबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ असोज २ शुक्रबार २१:४४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस सभापति देउवाको दाबी- सरकारले संविधानलाई जटिलतातिर लान खोज्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ असोज २ शुक्रबार २१:४४:oo

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले संविधानलाई सफल बनाउनभन्दा मुलुकलाई जटिलतातिर लान खोजेको आरोप लगाएका छन् । संविधान दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै देउवाले प्रधानमन्त्रीले शक्ति केन्द्रित गरेको  र संविधानविपरीतका कार्यहरू गर्दा यसको कार्यान्वयनको पाटो कमजोर बन्दै गएको आरोप लगाएका हुन् । 

‘प्रधानमन्त्रीको कार्यालयमा शक्ति केन्द्रित गर्ने, संविधानको भावनाविपरीतका विधेयकहरू, प्रेस स्वतन्त्रता कुण्ठित गर्ने नियत र व्यवहार, प्रदेश र स्थानीय सरकारहरूलाई अधिकार, कर्मचारी र बजेट विनियोजनमा गरिएका विभेदहरू, संवैधानिक अंगहरूको गरिमा अन्त्य गर्ने ढंगले गरिएका व्यवहारहरू, फरक विचार राख्ने या विरोध गर्नेप्रति जाइलाग्न प्रस्तुत असहिष्णु अभिव्यक्ति, नेकपा नेतृत्वको शासनका यस्ता कार्यले संविधानको सफलता होइन नवीन जटिलतातर्फ मुलुकलाई लैजान सक्दछ,’ विज्ञप्ति जारी गर्दै देउवाले भनेका छन्, ‘आजको दिन लोकतान्त्रिक संविधानअनुरूपको लोकतान्त्रिक व्यवहारमा इमानदार बन्न म प्रधानमन्त्रीजी एवं उहाँको नेतृत्वमा रहेकोे सरकारलाई अपिल गर्दछु ।’

अनेक चुनौतीका बाबजुद संविधानको सफलतासँग देशको समुन्नतिलाई सुनिश्चित गर्ने संकल्प आजका दिनमा जरुरी रहेको देउवाको भनाइ छ । ‘संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै अबका दिनमा मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन यो संविधान दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु,’ देउवाले भनेका छन्, ‘संविधानको सफलताका लागि एकातर्फ यसप्रति सबैको अपनत्व गाँस्दै लग्न जरुरी हुन्छ भने अर्कातर्फ संविधानको अक्षर र भावनाअनुरूपको व्यवहार जरुरी हुन्छ ।’ 

कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नेतृत्वमा देशमा क्रमशः शान्ति स्थापना र संविधान निर्माण हुँदै तीन तहको निर्वाचन गराएर आफ्नो नेतृत्वको सरकारले संविधान कार्यान्वयन गरेको देउवाको भनाइ छ । आफूपछि केपी ओली नेतृत्वको सरकारले संविधानको सफलताका लागि बाँकी कार्यभारहरू पूरा गर्नेभन्दा संविधानको भावनाविपरीतका गतिविधि गरेको आरोप देउवाको छ । 

देउवाले विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको भन्दै उच्च सतर्कता र दृढ मनोबलका महामारीको सामना गर्न संविधान दिवसको अवसरमा आग्रह गरेका छन् । 


संविधानमा उठेका गुनासाको सम्बोधन गरौँ : पौडेल
कांग्रेस नेता रामचन्द्र पौडेलले संविधान निर्माणकै क्रममा उठेका सामान्य गुनासाहरूलाई समेटेर संविधान संशाेधन गर्न सकिने बताएका छन् । प्रधानमन्त्री केपी ओलीले औचित्यताको आधारमा मात्र संविधान संशाेधन गर्न सकिने बताएपछि नेता पौडेलले सामान्य गुनासालाई सहमतिमा संविधान संशाेधन गरेर पूरा गर्नुपर्ने बताएका हुन् । 

‘संविधान निर्माणकै क्रममा रहेको केही सामान्य गुनासाको सम्बाेधन हामी सबैको  सहमतिमा गर्न सकिन्छ,’ पौडेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अन्यथा प्रणालीगत हिसाबले र संरचनात्मक हिसाबले संविधानको मौलिकतामा खलल पुऱ्याउने गरी संशोधन गर्दै देशलाई बारम्बार प्रयोगको थलो मात्र बनाइराख्नु न त राष्ट्र हितमा छ, न त त्यस्तो अधिकार कसैलाई छ ।’ 

धेरै लामो संघर्ष पछि धेरै दुःख र मिहिनेत गरेर नेपालको वर्तमान संविधानको निर्माण भएको भन्दै पौडेलले भनेका छन्, ‘संविधानले नेपालका सबै जातजाति, भाषाभाषी संस्कृतिहरूको भावनालाई समेत समेटेर लगभग सत्तरी वर्षपछि आएर देशमा राजनीतिक प्रणालीको टुंगाे लगाएको छ । नितान्त लोकतान्त्रिक मान्यतामा आधारित भएर बनेको यो संविधानलाई कार्यान्वयनमा ल्याएर जनतालाई न्याय र समृद्धि दिनु हामी सबैको साझा कर्तव्य हो ।’