१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १८:oo:oo
Read Time : > 4 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अव्यवस्थित ढल र बसोवासको असर : भक्तपुरको ढलमा परेका ट्रकचालक मकवानपुरमा भेटिए

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १८:oo:oo

गत २८ जेठको दिउँसो काठमाडौं उपत्यकामा भारी वर्षा भयो । काठमाडौं र ललितपुरका धेरै ठाउँ जलमग्न भए । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सल्लाघारी, चुनदेवी र सूर्यविनायक खण्डमा पनि बाढीको ताण्डव थियो । दिउँसो पौने ४ बजे सल्लाघारीको ख्वपः हार्डवेयर पसलमा सिमेन्ट झारेपछि ना.६ख १६१६ नम्बरको ट्रक अगाडि बढ्यो । चुनदेवीचोक पुग्नै लाग्दा सर्भिस ट्र्याक र राजमार्ग प्रवेश गर्ने ठाउँमा पानी जमेको देखेपछि ५७ वर्षीय चालक नरबहादुर राउतले ट्रक किनार लगाए । र, ओर्लेर बाटो कस्तो र पानी कति छ भनेर हेर्न अगाडि बढे । खुट्टाले छाम्दै थोरै अगाडि मात्रै के बढेका थिए, कभर नलगाएको ढलमा खुट्टा प¥यो । पानीको भँगालोले तानेर उनलाई ढलभित्रै लग्यो । ढलबाटै उनी करिब डेढ सय मिटर टाढाको हनुमन्ते खोलामा मिसिए र बेपत्ता भए । 

भक्तपुरको चुनदेवीस्थित अरनिको राजमार्गको सर्भिस ट्रयाकमा रहेको ढल । जहाँबाट ट्रकचालकलाई बगाएको थियो । वडा कार्यालयले अहिले फलामको ढकनी राखेको छ । तस्बिर : संजित परियार

बाढीका कारण हनुमन्ते खोला पनि सुसाइरहेको थियो । हनुमन्तेले नरबहादुरलाई बागमतीमा मिसायो । मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ९ स्थायी घर भएका उनको शव अर्को दिन मकवानपुरकै सीमानजिक भेटियो । ललितपुरको बागमती गाउँपालिका– १ को भुजेलगाउँमा नरबहादुरको शव भेटिएको थियो । ट्रक चलाएर घर धानिरहेका नरबहादुरका तीन छोराछोरी र पत्नीको बिचल्ली भयो । 

भक्तपुर नगरपालिका– १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीका अनुसार स्थानीयले ढलको कभर निकालेका कारण त्यो दुर्घटना भएको थियो । ‘ढलले पानीको बहाब थाम्न नसकेर घरभित्रै पस्न थालेपछि स्थानीयले सडक आसपासका ढलको कभर निकालेका रहेछन्,’ उनले भने, ‘ढलको कभर निकालिएको ठाउँमा खुट्टा परेर नरबहादुर दुर्घटनामा पर्नुभएको रहेछ ।’
महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरी त्यतिखेरको घटना सम्झिन्छन्, ‘राजमार्गमै घुँडासम्म पानी जमेको थियो, त्यो दिन त सूर्यविनायकबाट आउने सडक खोलो बनेको थियो ।’ उनका अनुसार भारी वर्षा भएपछि सूर्यविनायक जंगलदेखिको भल बगेर अरनिको राजमार्गमा खनिएको थियो । ढल फुटेर सडकमै मिसिएको थियो । 

उपत्यकामा ढल व्यवस्थापन नहुँदा एक सर्वसाधारणले अनाहकमा ज्यान गुमाएको यो एक उदाहरण मात्रै हो । वर्षैपिच्छे सानाठूला घटना भइरहेका छन्, जसले मानवीय र धनजनको क्षति पु¥याउँदै आएको छ । बर्खामा अझ धेरै क्षति हुने गरेको छ । 

खोला बग्ने ठाउँमा मान्छेले घर बनाएपछि पानी र ढलचाहिँ सडक र घरभित्रैसम्म आउन थालेको छ । सहरका सडक आसपासका ढलसमेत व्यवस्थित छैनन्, भएका पनि साँघुरा छन् । जसले गर्दा वर्षाको पानी थपिएपछि ढल फुटेर सडक नै ढल बन्छन् । ढलमा बहाब बढेपछि घरभित्रैसम्म आइपुग्ने गरेको काठमाडौं महानगरपालिका– ६ का विकास श्रेष्ठले बताए । 

हरेक वर्ष धनजनको क्षति बढ्दै
हरेक वर्ष ठूलो वर्षा र साँघुरिएका नदीमा पानीको बहाव बढेपछि उपत्यकामा डुबान र जनधनको क्षति हुने गरेको छ । गत वर्ष मात्रै भारी वर्षाका कारण कागेश्वरी मनोहरा नगरपालिका– ६, बाबाचोकमा पर्खाल भत्किएर घरले किच्दा तीनजनाले ज्यान गुमाए । ललितपुरको कुसुन्तीमा पनि एकजनाको मृत्यु भयो । काठमाडौंको बल्खु खोलामा आएको बाढी कुलेश्वरमा पसेपछि बाढीले बगाएको सिलिन्डर तान्न जाँदा डुबेर बेपत्ता भएका एक व्यक्तिको शवसमेत फेला परेन । 

गृह मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो एक दशकमा बाढी, पहिरो र वर्षाका कारण हुने विपत्मा परी उपत्यकामा ४८ जनाको ज्यान गएको छ । सातजना अझै बेपत्ता छन् । बाढी र पहिरोले ६७ घर पुरिएका छन् भने एक सय ५७ परिवार विस्थापित भएका छन् । त्यस्तै, दुई सय २७ घरमा क्षति पुगेको छ । बाढी, पहिरो र भीषण वर्षाका कारण ११ करोड ८४ लाख ८३ हजारबराबरको धनमाल क्षति भएको गृह मन्त्रालयको तथ्यांक छ । 

गृह मन्त्रालयका अनुसार सन् २०११ देखि हालसम्मको अवधिमा बाढी र पहिरोका कारण काठमाडौंमा २०, ललितपुरमा २० र भक्तपुरमा आठजनाको मृत्यु भएको छ । काठमाडौंमा बाढीका कारण मात्रै १० जनाले ज्यान गुमाएका छन् भने आठ करोड ७७ लाखको क्षति भएको छ । ललितपुरमा भने १६ जनाको पहिरोले मृत्यु भएको हो । भक्तपुरमा पनि बाढीबाटै ठूलो क्षति भएको छ । 

गत वर्ष मात्रै कलंकीको खसीबजार र मैत्रीनगर, बल्खु, चाबहिल र ललितपुरको पाटन क्षेत्र डुबान भए । बाढीले करोडौँको धनमाल नष्ट ग¥यो । थापाथलीस्थित पौरखीटोलको सुकुम्बासी बस्ती दशकौँदेखि जोखिममा छ । तर, उनीहरूले सुरक्षित ठाउँमा स्थानान्तरणको माग गरे पनि सरकारले वास्ता गरेको छैन । 

बागमती किनारको सुकुम्बासी बस्ती । तस्बिर : संजित परियार

भक्तपुरको हनुमन्ते नदीमा पानीको बहाव बढ्नेबित्तिकै बर्सेनि डुबान हुन्छ । नगरकोट, बागेश्वरी, छालिङ, ताथली र काभ्रेको बनेपादेखि बगेर आएको पानीको निकासका रूपमा रहेको हनुमन्ते नदीमा बहाब बढेपछि यहाँका जगाते, हनुमानघाट, बाराही क्षेत्र, सिर्जनानगर, सल्लाघारी, राधेराधे, लिवाली क्षेत्रका सयौँ घर डुबानमा पर्छन् । गत वर्ष पनि हनुमानघाट, चुपीघाट, राममन्दिर, मंगलतीर्थघाटलगायत क्षेत्र जलमग्न भए । अघिल्लो असारमा भक्तपुरकै राधेराधे, कमेरोटार, शंखधर चोक, निकोसेरा क्षेत्रसमेत डुबानमा परे । त्यसमाथि जमिनमाथि पाँच फिटसम्म पानी जमेको थियो । 
 
खोलामा बस्ती बसेपछि खोला सडक र बस्तीमा पस्छ
काठमाडौं उपत्यकामा नयाँ घर थपिने क्रम रोकिएको छैन । विगतमा नदीले चर्चेको भूभागमा बस्ती बसेपछि यहाँ बग्ने बागमती नदी र यसका सहायक नदीहरू साँघुरिएका छन् । मापदण्डअनुसार नदीले चर्चेको क्षेत्रभन्दा दायाँबायाँ २० मिटर छाड्नुपर्छ । तर, अहिले पनि नदीसँगै जोडिएका बस्ती थुप्रै छन् । 

जल उत्पन्न प्रकोप विभागको अध्ययनअनुसार ५० वर्षमा आउन सक्ने बाढी सहज रूपमा बग्न मनोहरा ४२ देखि एक सय ३० मिटर, बागमती ५१ देखि दुई सय पाँच, धोबीखोला ३१, विष्णुमती २८ देखि ८३, गोदावरी ४२ देखि एक सय ३०, हनुमन्ते ७८ मिटर र बल्खु खोलाको ५० मिटर चौडा हुनुपर्छ । तर, विज्ञको सुझाबविपरीत यी नदीनालाको चौडाइ झन्झन् खुम्च्याइँदै छ । 

सरकारले बागमती करिडोरअन्तर्गत सबै नदीहरूको दायाँबायाँ पर्खाल, सडक निर्माण र ढल व्यवस्थापन गरिरहेको भए पनि खोला मिच्नेक्रम अझै रोकिएको छैन । ‘पानीको बहावअनुसार नदीको क्षेत्र तोकिएको छ, तर अझै पनि अतिक्रमण हटेको छैन । यो दशकौँदेखिको समस्या हो, सरकारले नै ठोस पहल गर्नुपर्ने जरुरी छ,’ अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्र बस्नेतले भने । 

विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेल पनि उपत्यकामा खोला मिचेर संचरना निर्माण गर्ने क्रम बढेपछि समस्या बढेको बताउँछन् । ‘देशभरको तुलना गरेर हेर्दा काठमाडौं उपत्यका बाढी, पहिरोको जोखिमको क्षेत्रमा पर्दैन,’ उनले भने, ‘तर, सहरीकरण हुने क्रममा यहाँ बग्ने स–साना खोलाले चर्चिने क्षेत्र ओगटेर बस्ती बसाइएकाले समस्या आएको हो ।’ 

यी हुन् बाढी र पहिरोको धेरै जोखिम भएका ठाउँ
नेपाल प्रहरीका अनुसार काठमाडौं उपत्यकाका करिब एक सय स्थान बाढी, पहिरो र भारी वर्षाबाट हुन सक्ने सम्भावित जोखिममा छन् । महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सुशीलकुमार यादवका अनुसार काठमाडौंका गुह्येश्वरी फाँट, चाबहिलको गंगाहिटी, सिनामंगल सुकुम्बासी बस्ती, कलंकी खड्के पुल परिसर, बाफल खोला, स्युचाटार, बागमती सुकुम्बासी बस्ती, नारायणथान महादेव खोला, चुनिखेल, गोंगबु बसपार्क, त्रिवेणीघाट, दहचोक, नमुनाबस्ती, बल्खु पुल, मातातीर्थ, नैकाप गहिरोलगायतका क्षेत्र बाढीको जोखिममा छन् । 

त्यस्तै, मनोहरा, बागमती, धोबीखोला, रानीबारी, विष्णुमती खोलाआसपासको अधिकांश क्षेत्र पनि डुबानको जोखिममा छन् । ‘जोखिम भएको क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन सूचित गरेका छौँ, सबै सुरक्षा निकाय र उद्धार जनशक्ति पनि अलर्ट छ,’ एसएसपी यादवले भने । 

यस्तै, काठमाडौंका भीमढुंगा, छकडोल, टौखेल, साङ्ला बजार, कुन्ती, ठुम्का, जितपुरलगायतका ठाउँ पहिरोको जोखिममा छन् । ललितपुरका लाँकुरीभन्ज्याङ, कागेश्वरी खोला, सिस्नेरी, भीमसेन डाँडा, चापागाउँको बिर्खेडाँडा, घुसेल, छपेली, भालु खोला, बगुवा, माल्टा, इकुडोललगायत क्षेत्रमा पहिरोको जोखिममा छन् । त्यस्तै, भक्तपुरका मनोहरा र हनुमन्ते आसपासको बस्ती डुबानको जोखिममा छन् भने दधिकोटको अनन्त लिंगेश्वर डाँडा, तामाङबस्ती, कटुन्जेको गुण्डु, जगातीको घ्याम्पेडाँडा, आशापुरी, नैकाल र काँक्राबारी क्षेत्रमा पहिरोको जोखिम रहेको छ । 

ad
ad