बिमा समितिले बिमितलाई कोभिड– १९ संक्रमण पुष्टि भए बिमांकको २५ प्रतिशत राहत रकम र बाँकी अस्पतालको बिलअनुसार रकम भुक्तान दिने व्यवस्था गरेको छ ।
समितिले कोरोना बिमा मापदण्ड संशोधन गरी यस्तो व्यवस्था गरेको हो ।
समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले कोरोना बिमा गरेका बिमितले पिसिआर गर्दा संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेको अवस्थामा बिमांक रकमको २५ प्रतिशत भुक्तानी दिने व्यवस्था गरिएको बताए ।
त्यसबाहेक अस्पतालमा बस्नुपरेको खण्डमा भने राहत रकमसहित बिल भर्पाइको आधारमा थप ७५ प्रतिशतसम्म भुक्तानी दिइने अध्यक्ष चापागाईंले जानकारी दिए ।
उनले २८ भदौसम्मका बिमितको हकमा पुरानै व्यवस्था लागू हुने र भदौ २९ गतेपछि बिमा गरेका बिमितका लागि मात्रै यो व्यवस्था लागू हुने पनि स्पष्ट पारे ।
कोरोना बिमाको पूरा नै व्यवस्थासहित स्वास्थ्य बिमालाई समेत गाभेर मिश्रित प्रकृतिको बनाइएको पनि अध्यक्ष चापागाईंले बताए ।
यस्तै समितिले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमति दिएका प्रयोगशालाबाट पिसिआर परीक्षण गर्दा कोभिड– १९ संक्रमण पुष्टि भए बिमांक रकम भुक्तानी गर्ने व्यवस्था गरिएको पनि अध्यक्ष चापागाईंले जानकारी दिए ।
उनले पछिल्लो समय संक्रमण पुष्टि हुनेहरूको संख्या पनि बढ्दै गएको र विभिन्न विज्ञहरूको सुझाबका आधारमा बिमा मापदण्ड संशोधन गरी समयसापेक्ष बनाइएको स्पष्ट पारे ।
संशोधित व्यवस्थाअनुसार बिमितले एक लाख रुपैयाँको बिमा गरेको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भए राहतस्वरूप २५ हजार रुपैयाँ पाउनेछ ।
तर, अस्पतालको आइसोलेसनमा बसेको अवस्थामा बिल–भर्पाइ पेस गरेको खण्डमा थप ७५ हजार रुपैयाँसम्म भुक्तानी हुनेछ ।
५० हजार बिमांक रकम भएको पोलिसी खरिद गरेको संक्रमित व्यक्तिले भने राहतस्वस्प १२ हजार पाँच सय रुपैयाँ पाउनेछ भने बाँकी अस्पतालको बिल–भर्पाइअनुसार ३७ हजार पाँच सय रुपैयाँसम्म पाउनेछ ।
बिमा समितिले एक हजार रुपैयाँ बिमा शुल्क कायम भएको एक लाख रुपैयाँ बिमांक र पाँच सय रुपैयाँ कायम गरिएको ५० हजार रुपैयाँको बिमांक रकम रहेको पोलिसी लागू गरेको छ ।
जसमा पारिवारको बिमा गर्दा ५० प्रतिशत छुट दिई एक लाखका लागि ६ सय रुपैयाँ र ५० हजारका लागि तीन सय रुपैयाँ बिमा शुल्क कायम भएको थियो ।
त्यसमा सरकारले ५० प्रतिशत अनुदान दिएको अवस्थामा सामूहिक रूपमा परिवारको बिमा गर्दा एक लाख रुपैयाँ बिमांकका लागि प्रतिव्यक्ति तीन सय रुपैयाँ र ५० हजार रुपैयाँ बिमांकका लागि प्रतिव्यक्ति एक सय ५० रुपैयाँ तिर्नुपर्छ ।