![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/JMC2020-09-14-07-35-00.jpeg)
नियमित तलब र विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै जानकी मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । विभिन्न मितिमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने माग राख्दै कर्मचारीहरूले २६ भदौदेखि स्वास्थ्य सेवाबाहेक सबै कार्य बन्द गरी आन्दोलनमा उत्रिएका हुन् ।
कलेजका प्रशासनिक, शैक्षिक तथा लेखा शाखाको कामकाज ठप्प गरी चिकित्सक, स्वास्थ्यकर्मीलगायत आन्दोलनमा उत्रिएका छन् । अस्पतालले वर्षमा चारपटक सम्झौता तथा प्रतिबद्धता गरे पनि कार्यान्वयन नगर्दा सञ्चय कोषलगायतको सुविधा नपाएको, नियमित तलब पनि नपाएको संघर्ष समितिका संयोजक उमेश यादवले बताए । ‘कोरोना महामारीको वेला कर्मचारीले ज्यानको पर्वाह नगरी काम गर्दै आएका छन् । तर, पाँच महिनादेखि तलब पाएका छैनन्,’ उनले भने, ‘हाम्रो पनि बालबच्चा र घरपरिवार, अधिकांश कर्मचारी घर भडा लिएर बसिरहेका छन्, तर भाडा तिर्न सक्दा दैनिक मानसिक तनाव झेलिरहेका छन् ।’
आफूहरूको समस्याप्रति कुनै निकायले गम्भीरता नदेखाएको उनको आरोप छ । आफूहरूको समस्या तत्काल सम्बोधन नभएर स्वास्थ्य सेवासहित सम्पूर्ण कार्य बन्द गरी कडा आन्दोलनमा जाने उत्रिने चेतावनी उनले दिए ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष ओमप्रसाद पाण्डेले कोरोना महामारी बढ्दै गएकोले कर्मचारीहरूलाई समयमा तलब दिन नसकेको बताए । कोरोनाका कारण कलेजको पठनपाठन सुचारु हुन नसकेको उल्लेख गर्दै उनले विद्यार्थीबाट शुल्क लिएलगत्तै कर्मचारीको नियमित तलब दिने बताए ।