१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार ११:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चाबहिलमा बजार अनुगमन : खाद्यवस्तुसँगै राखेर बेच्छन् विषादी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:२४:oo

काठमाडौंको चाबहिलका खाद्यान्न पसलले झिँगा, किरा र साङ्ला मार्ने विषादी र खाद्यान्न सामग्रीहरू एकैठाउँमा राखेर बिक्री गरेकाे पाइएको छ ।

काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले अनुगमनका क्रममा खाद्य सामग्री र विषादी सँगै बिक्री गरेकाे पाएकाे हाे । अनुगमनका क्रममा महानगरका अधिकांश खाद्य स्टोरमा म्याद गुज्रेका वा अन्य कारणले बिग्रेर फिर्ता गर्नुपर्ने सामान राख्ने छुट्टै ठाउँसमेत व्यवस्थापन गरिएको छैन । 

व्यापारीले सोझा ग्राहकलाई झुक्याएर म्याद गुज्रिएका सामानहरूसमेत बिक्री गर्ने गरेका छन् । दाल र गेडागुडी, काजु, किसमिस, छोकडालगायतका खाद्य सामग्री कहिले, कसले प्याकेजिङ गरेको हो ? उपभोग्य मिति कहिलेसम्म हो ? त्यस्तो विवरणसमेत अधिकांश पसलले उल्लेख गरेका छैनन् ।

चिउरा, म्याक्रोनी, पास्ताजस्ता सामग्री बोराबाट निकालेर आफैँ प्याकेट बनाउने, तर उपभोग गर्न हुने मिति उल्लेख नगर्ने गरेको पाइएको महानगरका कृषि विभागका प्रमुख हरि भण्डारीले जानकारी दिए । ‘यस्ता कुरामा उपभोक्ताले पनि ध्यान दिएको देखिएन । सामान मागेपछि व्यापारीले जुन दिन्छन् त्यही लिने गरेकाे देखियो,’ उनले भने । 

महानगरले शनिबार र आइतबार चाबहिलमा अनुगमन गरेको छ । केही होलसेल र खुद्रा पसलमा गरिएको अनुगमनमा उपभोक्ताले खरिद बिल नलिने र व्यापारीले पनि नदिने गरेकाे पाइएको छ । 

चाबहिलचोकमै रहेकाे एउटा पसलमा दुईवटा बोर्ड छन्, मजिन स्टोर र साबरिया होलसेल मार्ट । एउटा सटरमा बाहिरबाट हेर्दा सानो किराना पसलजस्तै देखिन्छ, तर यसका सञ्चालकले छेवैका दुईवटा घरमा दुईवटा फ्ल्याट लिएर सामान भण्डारण गरेका छन् । 

‘भण्डारमा म्याद गुज्रिएका सामान र म्याद भएका सामान एकैठाउँमा छन् । भण्डारण गरिएका कोठामा सूर्यको प्रकाश छिर्दैन । भित्र अँध्यारो छ, पुतली उडिरहेका छन्, ढोका खोलेर भित्र छिर्दा केही गनाएको महसुस हुन्छ, गोदाम प्रमाणित गरेको छैन,’ विभागका प्रमुख भण्डारीले भने । अनुगमन टोलीले पसलमा मूल्यसूची नराखिएको पाइएको जनाएको छ । 

अनुगमनका क्रममा खानेकुरासँगै झिँगा, मच्छड र साङ्ला मार्ने विषादी पनि बेच्न राखिएको पाइएको विभागका प्रमुख भण्डारीले बताए । अनुगमन टोलीले मित्रपार्कमा रहेको ठूलो होलसेल जय भोले ट्रेडर्समा पनि ट्याग नभएका दाल र गेडागुडीका प्याकेज भेट्टाएको छ । भण्डारणसमेत व्यवस्थित नभएको जनाएको छ । 

महानगरको उपभोक्ता हित समितिले केही सातायता निरन्तर अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा अधिकांश व्यवसायीका साझा समस्या देखिएका छन् । समितिले चाबहिलका पसलहरूलाई खरिद–बिक्री बिल, दर्ता र नवीकरण प्रमाणपत्र, गोदाम प्रमाणीकरणको प्रमाणपत्र, व्यवसाय र बहाललगायत करचुक्ता प्रमाणपत्रजस्ता आवश्यक कागजातसहित तीन दिनभित्र महानगरको कृषि विभागमा सम्पर्क राख्ने गरी निर्देशन दिएर फर्किएको छ । 

ad
ad