मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नवीन प्यासी काठमाडाैं
२०७७ भदौ २६ शुक्रबार ०६:२९:००
Read Time : > 4 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

कोरोना महामारीमा पनि रोकिएनन् सिनेकर्मी

Read Time : > 4 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७७ भदौ २६ शुक्रबार ०६:२९:००

चैतयता सिनेमा हल बन्द छन्, थुप्रै फिल्म प्रदर्शनको पर्खाइमा छन्, तर प्रतिकूल परिस्थितिमा पनि नयाँ सिनेमा घोषणा गर्ने क्रम बढ्दो

.........  .........  .........

एक कोरोना भाइरस महामारीका कारण गत चैतयता सिनेमा हल बन्द छन् । कुनै पनि सिनेमा (विदेशी, नेपाली) प्रदर्शन भएका छैनन् । सिनेमाको गतिविधि पनि ठप्प छ । प्रदर्शन मिति तय भइसकेका र प्रमोसनमा खर्च भइसकेका सिनेमा अनिश्चितकालीन रूपमा थन्किएका छन् । कहिले प्रदर्शन हुने हो, यकिनका साथ भन्न सकिने अवस्था छैन । सिनेमाको काम नहुँदा चलेका कलाकार म्युजिक भिडियोमा अभिनय गर्न थालेका छन् । 

तर, यस्तो प्रतिकूल अवस्थामा पनि सिनेकर्मी भने सिर्जनात्मक तवरले सक्रिय छन् । स्क्रिप्टिङ, प्रि–प्रोडक्सनका काम गरिरहेका छन् । नयाँ सिनेमा घोषणा भइरहेकै छन् । कलाकार अनुबन्ध गर्ने क्रम जारी छ । तर, कहिले सुटिङमा जाने, कहिले रिलिज गर्ने भन्ने विषय भने अन्योलग्रस्त छ । यसबारे सिनेकर्मी नै स्पष्ट छैनन् । सबैजना घोषणा गरिएका सिनेमाको सुटिङ तथा रिलिजका लागि उचित समय कुरेर बसिरहेका छन् । 

निर्देशक दीपेन्द्र के खनालले ६ भदौमा नयाँ सिनेमा ‘चिसो मान्छे’ फेसबुकमार्फत घोषणा गर्दै आगामी वर्ष ११ भदौमा रिलिज गर्ने मिति पनि तोके । उनको अर्को सिनेमा ‘लकडाउन’ चलचित्र विकास बोर्डमा दर्ता भइसकेको छ । निर्माता सन्तोष सेनको ठूलो बजेटको सिनेमा ‘प्रेमगीत ३’ कहिले प्रदर्शन हुने हो ? पत्तो छैन । तर, सो सिनेमा प्रदर्शन नहुँदै उनले ‘हुतुतु’ घोषणा गरिसकेका छन् । यो सिनेमालाई छेतेन गुरुङ र निर्माता सेनले संयुक्त निर्देशन गर्ने भनिएको थियो ।

तर, गुरुङको बुधबार निधन भएको छ । यस्तै, कोरोना महामारीकै बीचमा ‘गोबर गणेश’, ‘बा’, ‘रुम नम्बर १०८’, ‘दानराज’, ‘प्रसाद २’ जस्ता सिनेमा घोषणा भएका छन् । तर, कहिले बन्ला सिनेमा र हलमा आउला ? यो प्रश्नको जवाफ भने तत्काल पाउन सकिने अवस्था देखिन्न । कोरोना भाइरसको महामारी कहिलेसम्म देखिने हो भन्न सकिने अवस्था छैन । दिनहुँजसो संक्रतिको संख्या बढ्दै गएको छ । 
   ......

निर्देशक दीपेन्द्र के खनाल यो अवस्था सामान्य हुनेबित्तिकै ‘चिसो मान्छे’को सुटिङमा जाने योजनामा छन् । अहिले प्रि–प्रोडक्सनको काम गरिरहेका छन् । स्क्रिप्ट लेखनको काम भइरहेको छ । कलाकारहरू मौखिक रूपले अनुबन्ध गर्ने काम भइरहेको छ । अहिलेसम्म मुख्य भूमिकामा स्वस्तिमा खड्का र अर्पण थापा पक्का भइसकेका छन् । कलाकारलाई स्थानीय लबज निकाल्न अभ्यास गराउन थालिसकेका छन् । बाजुरा जिल्लाको यथार्थ कथा भएकाले कलाकारमा स्थानीय लबज आवश्यक परेको बताउँछन् निर्देशक खनाल । 

कोरोना संक्रमण फैलिइरहेको छ । भिडभाडमा जान सक्ने अवस्था छैन । अवस्था यस्तो प्रतिकूल छ । कहिले सहज हुने हो निश्चित छैन । यस्तो बेलामा धमाधम सिनेमा घोषणा हुनुलाई ‘काम गरिरहेको छु’ ‘सिनेकर्मीको क्रियाशीलता कायमै छ’ भन्ने देखाउन भइरहेका हुन् कि भन्ने चर्चा पनि हुन थालेको छ । तर, यस्ता आरोपलाई सीधै नकार्छन् निर्देशक खनाल । ‘यस्तो बेलामा काम गर्न खोज्नेलाई हतोत्साहित बनाउने कुरा गर्नुको कुनै फाइदा छैन । सन्तोष सेनजी प्रेम गीत ३ को प्रदर्शन रोकिए पनि ‘हुतुतु’का लागि खटिरहेको देख्छु । यस्तो संकटको घडीमा काम गर्नेलाई सपोर्ट पो गर्ने हो त,’ खनाल भन्छन्, ‘अहिले केही सिनेकर्मी स्क्रिप्टमा व्यस्त छन् । सिनेमा घोषणा भइरहेका छन् । फेसबुक चलाएर नकारात्मक दिमाग बनाउनुभन्दा यसरी काम गर्नु त राम्रो हो । मान्छेले आशावादी भएर न काम गर्ने हो । भोलि त जे पनि हुन सक्छ नि ।’

यहीबीचमा ‘प्रसाद’ चलचित्रको सिक्वेल तथा प्रिक्वेल ‘प्रसाद २’ बन्ने घोषणा भयो । चलचित्रमा नम्रता श्रेष्ठ र विपीन कार्की अनुबन्ध भएका छन् । निर्देशन सौरभ चौधरीले गर्दै छन् । यो सिनेमाको स्क्रिप्ट सञ्चारकर्मी सुशील पौडेलले लेखेका हुन् । ४५ दिन रिसोर्टमा बसेर स्क्रिप्ट फाइनल गरेको उनले बताए । अहिले संवादको काम भइरहेको उनको भनाइ छ । यहीकारण पनि आफूहरू ‘रेडी टु गो’ अवस्थामा रहेको बताउँछन् निर्देशक चौधरी । भन्छन्, ‘दसैँ–तिहारपछि सुटिङमा जाने हो । यस्तो महामारीको अवस्थामा जान सकिने अवस्था अलि छैन ।’ ‘प्रसाद २’ को सबै सुटिङ बाग्लुङमा हुनेछ ।

४५ देखि ५० दिनमा सिनेमाको सुटिङ सकाउने योजनामा निर्माण टिम छ । यस्तो बेलामा सकारात्मक हुनुपर्छ, ऊर्जा मर्न दिन हुन्न भनेरै आफूहरूले स्क्रिप्ट फाइनल गरेको र सिनेमाको घोषणा गरेको चौधरीको दाबी छ । ‘यस्तो बेला सिर्जनशीलता मार्न हुन्न भनेरै हामीले काम गरेको हो । साथै यो समयमा मान्छे सिर्जनात्मक काममा बढी नै इंगेज पनि हुन सक्छन्,’ चौधरी भन्छन्, ‘अब नेपाली सिनेमाको दर्शक शिक्षित बन्दै गएको महसुस गरेको छु । त्यो भएर हामीले सिनेमामा झारा टार्ने काम गर्नुहुन्न ।’
......

लकडाउन सुरु भएको थिएन भने यति बेला ‘विच्छेद’ चलचित्र हलमा जान तयार भइसकेको हुने थियो । पाँच दिनको सुटिङ सकेपछि लकडाउन सुरु भयो । सुटिङ युनिट रामेछापमा समस्यामा प-यो । जसोतसो अलि पछि काठमाडौं फिरे । मुकुन भुसाल र लक्ष्मी बर्देवा मुख्य भूमिकामा रहेको सिनेमाको जति सुटिङ भएको थियो, त्यसलाई सम्पादन गरिसके निर्देशक सत्यराज चौलागाईंले । स्क्रिप्टलाई अझै बलियो बनाइरहेको उनी बताउँछन् । ‘यस्तो संकटको बेला छ । सुटिङ रोकिएको छ । कहिले खुला, वातावरण सहज कहिले बन्ला, पर्खाइ त्यसैको छ,’ चौलागाईं भन्छन्, ‘अहिले नै खुले पनि गएर काम गर्ने अवस्था छैन । अब खुल्नसाथ गाउँपालिकाका जनप्रतिनिधिले सुटिङ गर्न देला कि नदेला भन्ने विषय पनि आउँछ । त्यस हिसाबले अन्योल नै छ ।’

चौलागाईंसँग अहिले कलाकार कता छन् भनेर सम्पर्क पनि हुन सकेको छैन । मुकुन भुसालसँग चाहिँ फोनमा कुराकानी गरिरहेका छन् । सबैजना आफ्नै समस्यामा भएकाले, कसरी सुरक्षित रहने भन्ने भएकाले पनि त्यति सम्पर्क नभइरहेको उनी बताउँछन् । ‘अहिले सबै भताभुंग भइहाल्यो । सिनेमा बनाइसकेर दुई–चार देशमा सो गरेर नेपालमा रिलिज गर्ने योजना थियो । तर, संसारै समस्यामा फसेको छ,’ चौलागाईं विच्छेदको रिलिजबारे भन्छन्, ‘अब सिनेमै कहिले तयार होला, त्यसपछि मात्र कहिले रिलिज गर्ने पक्का होला ।’ 

‘प्रसाद २’ का निर्देशक चौधरी भने चलचित्र रिलिज गर्ने कुरा परिस्थितिले निर्धारण गर्ने बताउँछन् । अर्को वर्षको असार साउनपछि रिलिज हुन सक्ने सम्भावना औँल्याउँछन् उनी । भन्छन्, ‘यस वर्ष रिलिज हुन नपाएका सिनेमा धेरै छन् । त्यो बेला अवस्था हेरेर रिलिज गर्नेछौँ ।’

अर्का निर्देशक खनाल आफूले बनाएका सिनेमामा रिलिज डेट राखेरै काम गरेकाले कथंकदाचित केही नभएमा अर्को वर्षको ११ भदौमै ‘चिसो मान्छे’ प्रदर्शन हुने बताउँछन् । भन्छन्, ‘मैले घोषणा गरेकै मितिमा फिल्म प्रदर्शन गर्ने गरेको छु । सरेको पनि छैन । यसपटकचाहिँ सकारात्मक रूपमा लिन भनेर मिति तय गरेको हो ।’ खनालको गत वर्ष प्रदर्शन भएको ‘आमा’ चल्दै गर्दा लकडाउन सुरु भयो ।

   ......

अहिलेसम्म पनि सिनेमाको हिसाबकिताब हलबाट लिएका छैनन् । वितरकबाट पैसा पाएका छैनन् । तर पनि आफूले काम गर्न खोज्नुमा सकारात्मक भएर काम गरौँ भन्ने अभिप्राय रहेको उनी बताउँछन् । ‘संसारमा यस्ता ठूला महामारी आएका छन्, तर हरेक महामारीपछि मानव सभ्यता झनै बलियो बनेर उठेको छ,’ खनाल भन्छन्, ‘हामीसँग उदाहरण प्रशस्त भएकाले निराश हुनुपर्ने कारण देख्दिनँ ।’

तर, खनालले ‘चिसो मान्छे’ यति समयभित्रै सकाउने भनेर कुनै योजना बनाएका छैनन् । सुटिङका सेड्युल राख्न छाडिसकेका छन् । बजेट पनि यति लाग्छ भनेर छुट्याउँदैनन् पनि । त्यसले आफूमा काम चाँडो सक्नुपर्ने दबाब हुने र काम राम्रो गर्न नसकिने खनालको स्विकारोक्ति छ । उनले ‘आमा’ ७२ दिनमा सुटिङ गरेका थिए । यसपटक पनि दिउँसोको चर्को घाममा कुनै पनि सट लिने योजनामा छैनन् । सबै बिहान र बेलुकाको समयमा सुट गर्दै छन् । ‘यसमा धेरै आउटडोर सुटिङ भएकाले र यथार्थतासँग बसेर काम गर्नुपर्ने भएकाले कम कट प्रयोग गर्ने योजनामा छु,’ खनालले भने ।