१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ भदौ २४ बुधबार
  • Saturday, 05 July, 2025
२o७७ भदौ २४ बुधबार २१:५८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भोकै भौँतारिरहेकालाई निःशुल्क खाना र काम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ भदौ २४ बुधबार २१:५८:oo

कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण छाक टार्न नसकेका श्रमजीवी र विपन्न समुदायलाई हेटौँडामा पनि निःशुल्क खाना खुवाउन थालिएको छ । दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका श्रमजीवी र विपन्न भोकभोकै सडकमा भौँतारिन थालेपछि हेटौँडा– ४ हुप्रचौरमा सामूहिक खाना खुवाउन थलिएको हो ।

सामाजिक संस्था पर्शुराम स्मृति प्रतिष्ठान र मकवानपुर जिल्ला फुटबल संघले दैनिक रूपमा निःशुल्क खाना खुवाउन थालेको हो । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२, १३, १४, १७, १८, मकवानपुरगढी गाउँपालिका घर भएका श्रमिकलाई लक्षित गरी सहयोगी संस्थाहरूले खाना खुवाएका हुन् । विशेषगरी निर्माण मजदुर र विपन्न परिवारलाई खाना खुवाएको फुटबल संघका अध्यक्ष टीकाराम लामाले बताए । उनीहरूलाई खानासँगै तत्काल काम पनि दिने लामाले प्रतिबद्धता जनाए । काम र खानाको खोजीमा भौँतारिरहेकाहरूलाई हुप्रचौर सरसफाइ गर्ने काम दिएर ज्याला उपलब्ध गराइने लामाले बताए । 

सात दिनसम्म खाना खुवाइने
प्रतिष्ठान र मकवानपुर जिल्ला फुटबल संघले सात दिनसम्म निःशुल्क खाना खुवाउने जनाएको छ । ‘हामी आगामी सात दिनसम्म विपन्न समुदायलाई निःशुल्क खाना खुवाउन तयार छौँ,’ संघका अध्यक्ष टीका लामाले भने, ‘अन्य सामाजिक संस्थालाई पनि सहयोग गर्न अपिल गरिरहेका छौँ ।’ हरेक दिन बिहान १० बजेदेखि २ बजेसम्म हुप्रचौर परिसरमा खाना खुवाइने भएकोले आवश्यक परेका व्यक्तिहरूलाई उपस्थित हुन प्रतिष्ठानले अनुरोध गरेको छ । 

काम खोज्दै दिन बिताउँछन् मजदुर
हेटौँडा–१० स्थित मुख्यबजार बुद्धचोकमा बिहानै निर्माण मजदुरदेखि भारी बोक्नेसम्मको भिड हुन्छ । दिनहुँ कामको खोजीमा भौँतारिने ती मजदुरले कोरोना महामारीपछि सोचेजस्तो कमाइ गर्न सकेका छैनन् ।

जसका कारण महामारी रोक्न लकडाउन र निषेधाज्ञाले उनीहरूको जीविकोपार्जनमा शतप्रतिशत असर गरेको छ । निषेधाज्ञामा ई–रिक्सा र अटो सञ्चालनमा पूर्ण रोक लागेपछि यी मजदुर पनि निर्माणसम्बन्धी कामको खोजीमा दिन बिताउने गरेका छन् ।