१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
रासस काठमाडाैं
२०७७ श्रावण १० शनिबार ०७:२२:००
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आज नागपञ्चमी पर्व, नागको पूजा अर्चना गरी मनाइँदै

Read Time : > 3 मिनेट
रासस काठमाडाैं
२०७७ श्रावण १० शनिबार ०७:२२:००

आज नागपञ्चमी । घरको मूलढोकामा परम्पराअनुसार नागको पूजा–अर्चना गरी नागको तस्बिर टाँसेर यो पर्व मनाइँदै छ । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष यो पर्व मनाइन्छ । यसरी नागको तस्बिर घरमा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दु:ख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । 

सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले शनिबार नागपञ्चमीको निर्णय गरिएको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।  

नागपूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।     

प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाएर गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नागपूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो । नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रूपमा मान्ने गरिएको हो ।  

प्रथम पूजाको अधिकार पाएका भगवान् गणेशको एक हातमा नाग छ । भगवान् विष्णुको अवतारका रूपमा जन्म लिएका श्रीरामचन्द्रका भाय लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रूपमा मानिन्छ । दुवैले दुर्जनको नास गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको अवतारका रूपमा जन्म लिएको श्रीराम र श्रीकृष्णलाई सहयोग गर्न जन्म लिएको कथा विभिन्न पुराणमा उल्लेख गरिएको छ ।  

श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसंग विभिन्न पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रूपमा सर्पको आकृति रहेको हुन्छ । मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ । जैन तीर्थंकरहरूको शिरमा समेत सर्पाकार मुकुट हुन्छ ।     

पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसंग धर्मशास्त्रमा उल्लेख गरिएको छ । लक्ष्मीको वास त्यो घरमा हुन्छ जुन घरमा नागको पूजा हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि छ । नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किंबदन्ती प्रचलित छन् । जसमध्ये एउटा प्रख्यात किम्बदन्ती यस्तो छ ।  

प्रख्यात किंबदन्ती

एक किसानले आफ्नो खेत खनिरहेका वेला नागका तीनवटा बच्चा भेट्टाए र मारिदिए । ती बच्चाकी आमा आहरा खोजेर आउँदा आफ्ना सबै बच्चा मरेको देखी किसानसँग क्रूद्ध भइन् । रिसले चुर भएकी नागिनीले तत्काल किसानलाई मार्दा पनि रिसबाट मुक्त नभएकीले किसानको घरमा गएर श्रीमती र दुई छोरालाई पनि मारिदिइन् ।     

संयोगले किसानकी छोरी घरबाहिर रहेकीले बच्न सफल भइन् । नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिँडेपछि बाटामा फेला पारी मार्न खोजिन् । किसानकी छोरीले अनेक प्रकारले अनुनयविनय गरी नमार्नुस् म तपाईंको पूजाआजा गर्छु र दूध खान दिन्छु भनेर बिन्ती गरेपछि नागिनीले दया गरी किसानकी छोरीलाई छोडिन् ।     

मृत्युको मुखबाट बची प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई शोडषोपचारले पूजाआजा गरी कचौरामा दूध पनि खान दिइन् । किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले तिम्रो भक्तिबाट म प्रसन्न भए वर माग भनेपछि उनले मौका छोपी मेरा मातापिता र भाइहरूलाई पनि जीवनदान दिनुहोस् भनी वर मागिन् ।

प्रसन्न भएकी नागिनीले तथास्तु भनी किसानका सपरिवारलाई बचाइदिइन् । यसरी नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन भएकाले त्यही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको विश्वास छ ।     

गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्र वर्षसम्म तपस्या गरेको र यसरी नागलाई थिचेर राख्दा पानी नपरेकाले गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई बोलाइयो । गुरु आएको देखी गोरखनाथ उठेपछि नागमुक्त भएर पानी वर्षाएको प्रसंग पनि धर्मशास्त्रमा उल्लेख छ ।     

संसारमा सबैभन्दा मूल्यवान रहेको मणिलाई नागले नै शिरमा धारण गरेका हुन्छन् । श्रीखण्डको सुगन्ध र संगीत नागलाई खुब मन पर्छ । गर्मीमा दुलोभित्र बस्ने नाग श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन वर्षातकाे शीतलताका कारण बाहिर निस्कने मान्यतासमेत छ ।  

नागका बाह्र नाम भए पनि आठ कुलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलिर, कर्कट र शंख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायतका घिस्रने जनावरलाई मार्नुहुँदैन भन्ने मान्यता छ ।     

आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेष रूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खिर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ । वैज्ञानिक रूपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ ।