१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २१ बुधबार १६:४८:००
Read Time : < 1 मिनेट
खेलकुद

मेसुत ओजिलसँग सम्झौता तोड्दै एडिडास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २१ बुधबार १६:४८:००

विश्वचर्चित कम्पनी एडिडासले आर्सनलका जर्मन मिडफिल्डर मेसुत ओजिलसँगकाे सम्झौता नवीकरण नगर्ने भएको छ ।

सन् २०१३ मा एडिडास र ओजिलबीच सम्झौता भएको थियो । ओजिल र एडिडासबीच दुई करोड २० लाख पाउन्डको सम्झौता भएको थियो । पछिल्लो समयमा ओजिलको छवि एक विवादास्पद खेलाडी भएको जनाउँदै एडिडासले सम्झौता भंग गर्ने जनाएको छ ।

सात वर्षपछि एडिडासँगको सम्बन्ध टुट्दा ओजिलले अर्को ठूलो झट्का सामना गरेका छन् । यसअघि नै उनले विश्वचर्चित कम्पनी मर्सेडिच बेन्चसँगको सम्झौता गुमाएका थिए । ‘पछिल्लो समय ओजिलको पब्लिक अनुहार विवादास्पद बनेको छ, हामी स्वच्छ छवि र विवादरहित खेलाडीसँग मात्र सहकार्य गर्न रुचाउँछौँ,’ एडिडासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

जर्मनी राष्ट्रिय टोलीमा रहँदा र टर्किस राष्ट्रपतिसँगका भेटवार्तामा ओजिलले विवादास्पद टिप्पणी गरेका थिए । ओजिल आर्सनलबाट प्रतिसाता सर्वाधिक पारिश्रमिक थाप्ने खेलाडीमा पर्छन् । उनले २०२०/२१ को सिजनका लागि आर्सनलसँग प्रतिसाता तीन लाख ५० हजार पाउन्डको सम्झौता गरेका थिए । सन् २०१३ मा ओजिल रियल म्याड्रिडबाट आर्सनलमा आएका थिए ।

यता ओजिलका बुबा मुस्तफाले आफ्नो छोराको छवि विवादास्पद नभएको दाबी गरेका छन् । कोभिड– १९ को समयमा आर्थिक समस्या परेका कारण एडिडासले आफ्नो छोरासँग सम्झौता तोडिएको उनको भनाइ छ । ‘एडिडासले कोभिड– १९ को समस्या देखाउँदै मेरो छोरासँग सम्झौता नवीकरण नगरेको हो,’ ओजिलका बुबा मुस्तफाले भने, ‘यसबाहेक अन्य कुनै कारण छैन ।’

उता जर्मनीबाट प्रकाशित हुने पत्रिका ब्लिडले ओजिलको छवि नराम्रो भएका कारण नै विश्वचर्चित कम्पनी पछि हटेको जनाएको छ । सन् २०१८ को रसिया विश्वकप फुटबलमा ओजिलले आफूलाई राष्ट्रिय टोलीमा बलिको बोका बनाइएको टिप्पणी गरेका थिए ।