मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2026
रामकृष्ण थापा सिन्धुपाल्चाेक
२o८३ असोज १४ बुधबार ११:५o:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

तातोपानी नाका खुलाउन नेपाल र चीनका अधिकारीले थाले पहल

Read Time : > 2 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चाेक
नयाँ पत्रिका
२o८३ असोज १४ बुधबार ११:५o:oo
  • नेपालस्थित चिनियाँ दूतावासका उपनियोग प्रमुख चाउ फानसहित नेपालका तर्फबाट परराष्ट्र, अर्थ र वाणिज्य मन्त्रालय तथा भन्सार र सडक विभागका अधिकारीले मंगलबार सीमा क्षेत्रसम्म पुगेर गरे निरीक्षण
  • कोदारी सडक, भन्सारको अवस्था र स्थानीयसँग सामान्य सोधपुछपछि चिनियाँ प्रतिनिधि फान तातोपानी खुलाउन सकारात्मक, नाका खुलाउन बेइजिङसम्म आवश्यक पहल गर्ने आश्वासन

३१ असारदेखि ठप्प रहेको तातोपानी नाका खुलाउन चिनियाँ अधिकारीसहित नेपालको तर्फबट पनि पहल थालिएको छ । मंगलबार दिउँसो नेपालस्थित चिनियाँ दूतावासका उपनियोग प्रमुख चाउ फानसहित नेपालका तर्फबाट परराष्ट्र, अर्थ र वाणिज्य मन्त्रालय तथा भन्सार र सडक विभागका अधिकारीले सीमा क्षेत्रसम्म पुगेर स्थलगत निरीक्षण गरेका छन् ।

चीनसँगको सबैभन्दा छोटो दूरीको तातोपानी नाका सञ्चालनमा ल्याउन सके दसैँ–तिहारका लागि आवश्यक सामग्री राजधानी पुर्‍याउन सहज हुने सरकारी टोलीको भनाइ छ । परराष्ट्र मन्त्रालयका सहसचिव रमकाजी खड्का नेतृत्वको नेपाली टोलीले चिनियाँ दूतावासका उपनियोग प्रमुख फानलाई तातोपानीसम्म जाने बाटोको अवस्था, सीमा क्षेत्र लिपिङ र भन्सार यार्डको वर्तमान अवस्थाबारे जानकारी गराएको थियो ।

सो टोलीमा रहेका सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण शर्माले दिएको जानकारीअनुसार सडकको यथार्थ अवस्था बुझ्न चिनियाँ उपनियोग प्रमुखसहित नेपाली अधिकारी सीमामा पुगेका हुन् ।

१० भदौको भोटेकोशी बाढीले रसुवा नाका बन्द भएपछि अविरल वर्षा र हिमपात पन्छाउँदै कोरोलाबाट कठिनपूर्वक सामान आयात गरिएको थियो । तर, ८–११ असोजको वर्षाले कोरोलाबाट सामान लिएर राजधानी आउने सम्भावनासमेत सकिएपछि चीन र नेपाली अधिकारीहरू तातोपानी खुलाउन जुटेका हुन् । 

अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–लिपिङ २६ किलोमिटर सडकखण्डसँगै कोदारी सडकको इको, घट्टेखोला, डाक्लाङमा गएको पहिरोका कारण ३१ असारबाट कोदारी सडक अवरुद्ध थियो । तर, सडक डिभिजन कार्यालय चरिकोटले निरन्तर खटेर सडक सुरु गरे पनि चीनले सूचना पठाएर एकतर्फी तातोपानी नाका बन्द गरेको थियो । अहिले राजधानी काठमाडौंबाट तातोपानी लिपिङ पुग्न समस्या नभएको र चिनियाँ कन्टेनर तातोपनीको यार्डसम्म सजिलै भन्सार ल्याउन सकिने अवस्था रहेको सडक डिभिजन चरिकोटका सिनियर डिभिजन प्रमुख नारायणदत्त भण्डारीले बताए ।

‘हामीले दिनरात नभनेर लिपिङ, इको, घट्टेखोला र डाक्लाङको पहिरो पन्छाएर सडक तयार गर्‍यौँ । तर, नाका बन्द भयो,’ उनले भने, ‘अहिले वान वे सडक सुचारु रहेको र तत्काल दुईतर्फी सडक सञ्चालन हुने अवस्था छ ।’

तातोपानी भन्सार सञ्चालनमा आउने प्रतीक्षा गरेर कर्मचारी पनि सधैँ तयारी अवस्थामा रहेको तातोपानी भन्सारका भन्सार अधिकृत रमेशबहादुर शाहले बताए । १३ भदौमा चिनियाँ पक्षले खासाबाट एक सूचना जारी गरी नाका बन्द गरेको थियो । बर्खाको मौसमले मानवीय क्षति हुने जोखिम रहेकाले अर्को सूचना नभएसम्म कन्टेनर आवतजावत स्थगित गरेको चिनियाँ सूचनामा उल्लेख छ । खासाबाट चिनियाँ कन्टेनर नेपाल ल्याउन समस्या नभएको उनले बताए ।

तातोपानी नखुले चीनबाट दसैँ–तिहारका सामान ल्याउन मुस्किल
चाडपर्वलक्षित सामान बोकेका तीन सय कन्टेनर कोरोला नाकाको चिनियाँ क्षेत्रमा रोकिएको व्यवसायीले बताएका छन् । यद्यपि, बेनी जोमसोम सडकविच्छेद भएकाले ती सामान नेपाल आइपुग्ने निश्चित छैन । कोरोला नाकामा हिमपहिरो गएको र चिसो बढेकाले सवारीसाधन चलाउन समस्या भएको कन्टेनरचालकको भनाइ छ ।  नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडका अध्यक्ष अर्जुनबहादुर सापकोटाले कोरोला नाकाबाट सामान ल्याउन नसकिने अवस्था सिर्जना भएको बताए । हिउँले कन्टेनर पुरेको, सडक जीर्ण अवस्थामा रहेको, चालक नपाएको, भाडादर धेरै महँगो रहेको र ६ सय किलोमिटर दूरी पार गरेर राजधानी आउँदा गन्तव्यमा पुग्न धेरै समस्या झेल्नुपरेको उनले सुनाए । तातोपानी नाका नचल्ने हो भने चीनबाट दसैँ–तिहारका सामान आयात नहुने उनले बताए ।

तातोपानी खुलाउन चिनियाँ पक्षले आश्वासन दिएको छ : कृष्ण शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी, सिन्धुपाल्चोक
सडकको यथार्थ अवस्था बुझ्न चिनियाँ उपनियोग प्रमुखसहित नेपाली अधिकारी सीमामा पुगेका हुन् । कोदारी सडक, भन्सारको अवस्था र स्थानीयसँग सामान्य सोधपुछपछि चिनियाँ प्रतिनिधि फानले तातोपानी नाका सञ्चालन गर्न चीन सरकार सकारात्मक रहेको र यहाँको वास्तविक अवस्थाको सन्देश बेइजिङसम्म पुर्‍याउने आश्वासन प्राप्त भएको छ ।

↑