मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2026
मोहन विष्ट कञ्चनपुर
२o८३ असोज १४ बुधबार ११:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कञ्चनपुर कांग्रेसमा सिंह दोहोरिए, बाँकी सबै नयाँ नेता आए

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८३ असोज १४ बुधबार ११:४८:oo

नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत कञ्चनपुरका क्षेत्रीय अधिवेशन सम्पन्न भएका छन्। जिल्लाका तीन संघीय र ६ प्रदेश सभा क्षेत्रमा अधिवेशन सम्पन्न हुँदा अधिकांश क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ।

क्षेत्र नम्बर १ मा सहमतिका आधारमा क्षेत्रीय तथा प्रदेश सभा क्षेत्रीय नेतृत्व चयन गरिएको छ। क्षेत्रीय सभापतिमा अमरजंग साउद चयन भएका छन्। प्रदेश सभा ‘क’ सभापतिमा विष्णुप्रसाद अर्याल र ‘ख’ सभापतिमा गजबहादुर विष्ट सर्वसम्मत चयन भएका छन्।

क्षेत्र नम्बर २ मा भने लालबहादुर सिंह दोहोरिएका छन्। सिंहले आफ्ना प्रतिस्पर्धी पुष्पराज भट्टलाई २८५ मतको अन्तरले पराजित गर्दै दोस्रो कार्यकालका लागि क्षेत्रीय सभापति सुरक्षित गरेका हुन्। सिंहले ४३७ मत ल्याउँदा भट्टले १५२ मत पाएका थिए।

प्रदेश सभा ‘क’मा टिकेश्वरी पाण्डे (प्रेरणा) रमेशराज भाटलाई ८१ मतको अन्तरले पराजित गर्दै सभापति निर्वाचित भएकी छिन्। प्रेरणाले १६४ र भाटले ८२ मत पाएका थिए। प्रदेश सभा ‘ख’मा दीपक बोहरा निर्वाचित भएका छन्। बोहराले आफ्ना प्रतिस्पर्धी चित्रदेव भट्टलाई ३९ मतको अन्तरले पराजित गरेका हुन्। बोहराले ९१ र भट्टले ५२ मत पाए। उक्त निर्वाचनमा ६६५ मतदातामध्ये ६२५ मत खसेको थियो।

क्षेत्र नम्बर ३ मा क्षेत्रीय सभापतिमा पदमराज अवस्थी निर्वाचित भएका छन्। अवस्थीले निकटतम प्रतिस्पर्धी गणेश नेगीलाई ८२ मतको अन्तरले पराजित गरे। अवस्थीले ३०६ र नेगीले २२५ मत पाए। अर्का उम्मेदवार कमलराज चटौतले ५९ मत प्राप्त गरे। प्रदेश सभा क्षेत्र ‘क’मा अशोक पाण्डे र ‘ख’मा सन्दीपकाजी बस्नेत निर्वाचित भएका छन्। क्षेत्र नम्बर ३ मा ७१८ मतदातामध्ये ६२५ मत खसेको थियो।

यससँगै कञ्चनपुरका तीनै संघीय निर्वाचन क्षेत्रमा क्षेत्रीय नेतृत्व चयन भएको छ भने अधिकांश प्रदेश सभा क्षेत्रमा पनि नयाँ नेतृत्व आएको छ।

↑