Skip This
बाढी प्रभावित जनप्रतिनिधिसँग मन्त्री लम्सालको छलफल
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज ११ आइतबार
  • Sunday, 27 September, 2026
नयाँ पत्रिका काठमाडौँ
२o८३ असोज ११ आइतबार २२:४३:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

बाढी प्रभावित जनप्रतिनिधिसँग मन्त्री लम्सालको छलफल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८३ असोज ११ आइतबार २२:४३:oo

पूर्वाधार विकासमन्त्री सुनील लम्सालले लगातारको वर्षा र बाढीका कारण प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल गरेका छन्।

आइतबार प्रधानमन्त्रीका सल्लाहकार सुदीप ढकालसहित प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा बाढी तथा पहिरोबाट विस्थापित नागरिकको पुनर्स्थापना र क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणबारे छलफल भएको हो।

छलफलमा बाढीका कारण विस्थापित परिवारका लागि अस्थायी आवासको व्यवस्था गर्ने तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तत्काल अघि बढाउने विषयमा छलफल भएको मन्त्री लम्सालले बताए।

उनका अनुसार पछिल्लो तीन दिनको बाढी तथा वर्षाका कारण क्षति पुगेका पुल, सडक, झोलुंगे पुल, खानेपानीलगायत आयोजनाको क्षति मूल्यांकन गरी तत्काल बजेट व्यवस्थापन गरिनेछ। त्यसपछि टेन्डर प्रक्रियामार्फत पुनर्निर्माणको काम अघि बढाइने उनले बताए।

मन्त्री लम्सालले यही महिनाभित्र पुनर्निर्माणको काम सुरु गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

लगातारको वर्षा र बाढीका कारण कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको पोखरेबगर, बागलुङको मालढुंगा तथा तनहुँ–नवलपरासीको देदगाउँस्थित पुलका एप्रोच सडक बगाएको छ। कालीगण्डकीमाथिको पक्की पुलसमेत बगेको छ।

कालीगण्डकी करिडोरका विभिन्न सडकखण्डका साथै डुम्रे–बेँसीसहर–चामे सडकखण्डमा पनि ठुलो क्षति पुगेको छ।

डुम्रे–बेँसीसहर–चामे सडकखण्डअन्तर्गत लमजुङको रामबजार–स्याङ्गेमा मर्स्याङ्दी नदीको कटानका कारण करिब ४० मिटर सडक पूर्ण रूपमा भासिएको छ। मनाङको नासों–खोत्रोमा ढुंगासहितको पहिरोका कारण सडक अवरुद्ध भएको छ। नासों–बगरछाप क्षेत्रमा मर्स्याङ्दी नदीको कटानका कारण करिब ५० मिटर सडक पूर्ण रूपमा भासिएको छ।

मनाङको चामेमा बाढीका कारण तीनवटा अस्थायी काठेपुल बगेका छन्।

बाढी र पहिरोका कारण काठमाडौँ उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बिपी राजमार्ग र कान्ति लोकमार्गसहित विभिन्न जिल्लाका दर्जनभन्दा बढी सडकमा क्षति पुगेको छ।

त्यस्तै, बाढी तथा पहिरोका कारण रुकुम पूर्वको नाथीगाड झोलुंगे पुल र बागलुङ–पर्वत जलजला फोर्से झोलुंगे पुलमा पूर्ण क्षति पुगेको छ।

तनहुँको घिरिङ करुवाटार–नवलपुरको बुलिङटार मचेडी जोड्ने झोलुंगे पुल, स्याङ्जाको गल्याङ बेल्चौर–पाल्पाको रम्भा नौगाउँ–साठीबजार जोड्ने झोलुंगे पुल, पाल्पाको काशीवन–तनहुँको अत्रौली जोड्ने झोलुंगे पुल, पर्वत–स्याङ्जा जोड्ने सेतीवेणी झोलुंगे पुल तथा म्याग्दीको बेनी–पर्वतको जलजला जोड्ने झोलुंगे पुलमा आंशिक क्षति पुगेको प्रारम्भिक विवरण छ।

बाढी र पहिरोका कारण ३१ वटा खानेपानी आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

↑