नेपाली कांग्रेस दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका सभापतिमा रामचन्द्र राई चयन भएका छन् । कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज (आइतबार) सम्पन्न नगर अधिवेशनले राईलाई सर्वसम्मत रूपमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको सभापति चयन गरेको हो ।
नगर सभापतिमा सर्वसम्मत चयन भएका राई अघिल्लोपटक भएको कांग्रेसको नगर अधिवेशनमा प्रकाशकुमार श्रेष्ठसँग सभापति पदमै पराजित भएका थिए । यसपटकको नगर अधिवेशनमा निवर्तमान सभापति श्रेष्ठ र राईबिच को सभापति बन्ने भन्ने विषयमा सहमति नहुँदा केन्द्रीय निर्वाचन समितिले असोज ७ गतेका लागि तोकेको नगर अधिवेशन चार दिन ढिलो गरी सम्पन्न भएको हो ।
नगर सभापतिमा सर्वसम्मत चयन भएका राई वि.सं. २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष निर्वाचित भएका थिए। सरल स्वभावका नगर सभापति राई वि.सं. २०६१ सालदेखि कांग्रेसको खुला राजनीतिमा सक्रिय छन् ।
कांग्रेस नगर कार्यसमितिको उपसभापतिमा राजकुमार कटवाल र मनिला राई, सचिवमा सागर खनाल र पदम पुरी तथा सहसचिवमा धनबहादुर श्रेष्ठ चयन भएका छन् । ४८ सदस्यीय नगर कार्यसमितिको कोषाध्यक्ष भने निर्वाचित सदस्यहरूमध्येबाट नगर सभापतिले मनोनीत गर्ने जनाइएको छ।
दलित, आदिवासी जनजाति, महिला तथा पिछडा वर्ग र ३५ वर्षमुनिका उमेर समूहबाट पाँच, मनोनीत नौ तथा प्रत्येक वडाबाट दुई–दुईजना सदस्य चयन गर्ने कांग्रेसको विधानमा उल्लेख छ । १० स्थानीय तह रहेको जिल्लामा यसअघि नै नौ स्थानीय तहको अधिवेशन सम्पन्न गरिएको कांग्रेसले जनाएको छ ।
कांग्रेस खोटाङले प्रदेश सभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन भने यही असोज १५ गते गर्ने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज १० गतेका लागि निर्धारण गरेको प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन देशभर परेको भारी वर्षाका कारण असोज १५ गते सारिएको जिल्ला सचिव समीर राईले जानकारी दिएका छन् ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेका जिल्लाका ७९ वडामध्ये ७८ वडामा अधिवेशन सम्पन्न भइसकेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– १३, नुनथलामा भने वडा अधिवेशन हुन बाँकी रहेको कांग्रेस खोटाङले जनाएको छ ।
स्थानीय तह र वडा अधिवेशनको बाँकी प्रक्रिया पूरा गर्दै असोज १५ गते प्रदेश सभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने कांग्रेसको तयारी छ । क्षेत्रीय अधिवेशनपछि १५औँ महाधिवेशनअन्तर्गत जिल्लामा हुने थप अधिवेशन तथा निर्वाचनका प्रक्रिया अघि बढ्ने जनाइएको छ ।