Skip This
बाढीपहिरोका कारण विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज ११ आइतबार
  • Sunday, 27 September, 2026
२o८३ असोज ११ आइतबार १३:४६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बाढीपहिरोका कारण विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज ११ आइतबार १३:४६:oo

अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुगेको छ। क्षतिका कारण केही क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ भने बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको उत्पादनसमेत प्रभावित भएको छ।

कालीगण्डकी करिडोर २२० केभी प्रसारणलाइनअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुश्मासम्मको खण्डमा टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ। त्यस्तै, कुश्मा–नयाँ बुटवल खण्डको प्रसारणलाइनमा समेत समस्या देखिएको छ। यसका कारण उक्त करिडोर प्रसारणलाइनमा जोडिएका करिब ३५८ मेगावाट विद्युत् उत्पादन प्रभावित भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

बाढीको जोखिमलाई ध्यानमा राख्दै कालीगण्डकी, माथिल्लो मादी, सुपर मादी, नामार्जुन मादी, सेती नदी, अपर दोर्दी, माथिल्लो मर्स्याङ्दी, मध्यमर्स्याङ्दी, मर्स्याङ्दी र मोदीलगायतका जलविद्युत् केन्द्रको उत्पादन सुरक्षाका लागि बन्द गरिएको छ।

बाढीपहिरोका कारण २२० केभी, १३२ केभी, ३३ केभी तथा ११ केभीका प्रसारण तथा वितरण संरचनामा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ।

क्षतिग्रस्त संरचनाको विवरण संकलन, वैकल्पिक व्यवस्थामार्फत विद्युत् आपूर्ति सञ्चालन तथा मर्मतसम्भारका लागि प्राविधिक र मर्मत टोली परिचालन गरिएको छ। सम्भव भएका स्थानमा वैकल्पिक फिडर तथा उपलब्ध प्रसारण र वितरण संरचनामार्फत विद्युत् आपूर्ति नियमित गर्ने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ।

भारी वर्षा, बाढीपहिरो तथा सडक अवरुद्ध भएका कारण केही प्रभावित क्षेत्रमा प्राविधिक टोली पुग्न कठिनाइ भइरहेको छ। सडक तथा पहुँचमार्ग खुल्नासाथ थप टोली र आवश्यक उपकरण परिचालन गरी मर्मत तथा विद्युत् आपूर्ति पुनर्स्थापनाको काम तीव्र बनाइने प्राधिकरणले जनाएको छ।

प्राकृतिक विपतका कारण प्रभावित विद्युत् आपूर्ति यथाशीघ्र नियमित गर्न उच्च प्राथमिकताका साथ उपलब्ध स्रोतसाधन परिचालन भइरहेको प्राधिकरणको भनाइ छ।

प्राधिकरणले विपतकाे अवस्थामा संयमित रहन तथा क्षतिग्रस्त विद्युत् संरचना, ढलेका पोल र तारबाट टाढा रहन उपभोक्तालाई आग्रह गरेको छ।

↑