नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निरन्तरको वर्षाका कारण प्रभावित नागरिकको उद्धार, सहयोग तथा समन्वयमा सक्रिय हुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
देशका विभिन्न क्षेत्रमा लगातार वर्षा भइरहेका वेला सभापति थापाले आफ्नो क्षेत्रको अवस्था बुझी समस्यामा परेका नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन पार्टीका स्थानीय संगठन तथा कार्यकर्तालाई आग्रह गरेका हुन्।
लगातारको वर्षाका कारण बागलुङमा पहिरोमा परी चारजनाको मृत्यु भएको छ भने विभिन्न स्थानमा आएको बाढी तथा खोलाले पुललगायतका संरचनामा क्षति पुर्याएको विवरण सार्वजनिक भइरहेका छन्। यस्तो अवस्थामा नागरिकको सुरक्षा र उद्धारलाई प्राथमिकतामा राख्नुपर्ने थापाले बताएका छन्।
उनले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी प्रभावित नागरिकको उद्धार तथा सहयोगमा परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
यसैबिच, प्रतिकूल मौसमका कारण नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतका अधिवेशन तथा निर्वाचन कार्यक्रमसमेत प्रभावित भएका छन्। मौसम विभाग तथा सम्बन्धित निकायले जारी गरेका सूचनाका साथै स्थानीय अवस्थालाई ध्यानमा राखी विभिन्न जिल्लामा निर्वाचन कार्यक्रमका लागि नयाँ मिति तय गर्न केन्द्रीय निर्वाचन समितिले सम्बन्धित पक्षलाई पत्राचार गरिसकेको कांग्रेसले जनाएको छ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिवेशन प्रक्रिया जारी रहेका वेला भारी वर्षाका कारण केही क्षेत्रमा निर्वाचन कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। प्रतिकूल मौसम भएका क्षेत्रमा स्थानीय अवस्थाको मूल्यांकन गरी निर्वाचन कार्यक्रम समायोजन गर्न समितिले यसअघि नै निर्देशन दिएको थियो।