अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्ने, हर्मुज जलसन्धि पुनः सञ्चालनमा ल्याउने र आणविक वार्ता पुनः सुरु गर्ने विषयमा इरानले अघि सारेको सातदिने कार्ययोजनाको प्रस्तावलाई ठाडै अस्वीकार गरेका छन् । इरानका विदेशमन्त्री अब्बास अराघचीले हर्मुज जलसन्धि एक साताभित्रै पुनः सञ्चालनमा ल्याउन अघि सारेको कार्ययोजनाको प्रस्तावलाई ट्रम्पले अस्वीकार गरेका हुन् ।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै अराघचीले ‘आवश्यक सर्तहरू पूरा भएमा’ युद्धविराम सम्भव हुने बताएका थिए । उनले ती सर्तहरू जुन महिनामा हस्ताक्षर गरिएको समझदारीपत्रमा समावेश गरिएको जानकारी पनि दिए । ‘अब निर्णय गर्ने जिम्मा अमेरिकाको हो,’ उनले भनेका थिए । साथै, उनले उक्त योजना कतारमार्फत अमेरिकालाई पठाइएको पनि बताए ।
यसअघि, अर्ध सरकारी समाचार संस्था ‘मेहर’का अनुसार इरानी सेनाले चेतावनी दिँदै भनेको थियो कि यदि वासिङ्टनले इरानमाथि आक्रमण गर्ने ‘गल्ती’ गरेमा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडा र त्यहाँका अमेरिकी हितहरूलाई निसाना बनाइनेछ । यसैबिच, अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले अल जजिरासँग कुरा गर्दै इरानसँगको कूटनीतिक वार्ताको ढोका सुरुदेखि नै खुला रहेको बताएका छन् । उनले भने, ‘यस्तो हुन नदिने पक्ष अमेरिका होइन ।’
अमेरिका र इजरायलले २८ फेब्रुअरीमा इरानमाथि हवाई आक्रमण गरेका थिए । यसको जवाफमा इरानले इजरायल, खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडा र अमेरिकाका अरब खाडी सहयोगी राष्ट्रमाथि आक्रमण गर्नुका साथै हर्मुज बन्द गरेको थियो । युद्धअघि विश्वको करिब २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास यही जलसन्धि भएर आवतजावत गर्थ्यो । हर्मुज बन्दले गर्दा ऊर्जाको मूल्यमा अत्यधिक उतारचढाव आएको छ ।