संयुक्त राष्ट्रसंघीय महासभाको ८१औँ सत्रमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह बुधबार अमेरिकाको न्युयोर्क पुगेका छन् । उनले नेपाली समयअनुसार शुक्रबार बिहान महासभाको ८१औँ सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार त्यसअघि उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नेछन् ।
महासभाको यस वर्षको उच्चस्तरीय छलफल ‘विश्वास पुनर्स्थापना, रूपान्तरण व्यवस्थापन : सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ’ भन्ने मूल विषयमा केन्द्रित छ । जलवायु परिवर्तन, विश्वव्यापी द्वन्द्व, कृत्रिम बुद्धिमत्ता तथा बहुपक्षीय संस्थाको सुधारलगायत विषय महासभामा प्रमुख एजेन्डाका रूपमा उठिरहेका छन् ।
प्रधानमन्त्री शाहलाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत शरदराम आर्याल र न्युयोर्कका लागि नेपाली महावाणिज्यदूत दधिराम भण्डारीलगायत अधिकारीले स्वागत गरेका थिए ।
महासचिव गुटेरेसले सम्झिए नेपाल, हिमनदीबारे चेतावनी
शक्तिको तेस्रो संकट भन्दै राष्ट्रसंघीय महासचिव गुटेरेसले नेपालको हिमनदीबारे आफूले विश्वलाई तीन वर्षअघि नै चेतावनी दिएको स्मरण गरेका छन् । उनी ०८० कात्तिकमा नेपाल भ्रमणमा आएका थिए । ‘तीन वर्षअघि नेपालका हिमालबाट तीव्र गतिमा पग्लिरहेको हिमनदीप्रति सचेत गराउँदै विश्वका छानाहरू भत्किँदै छन् भनेर चेतावनी दिएको थिएँ,’ गुटेरेसले महासभालाई मंगलबार राति सम्बोधन गर्दै भने, ‘कतिपयले यसलाई खतराको अतिरञ्जित चित्रण भन्दै खारेज गरेका थिए । तर, त्यसयताका दुःखद घटनाले देखाएझैँ, त्यसको प्रभाव धेरैले अनुमान गरेभन्दा चाँडो आइपुगेको छ ।’
उनले जलवायुको असरले एक पुस्ताले अर्को पुस्ताको भविष्य सिध्याइरहेको बताए । ‘सबैभन्दा कम जिम्मेवार रहेकाले पहिलो र सबैभन्दा बढी मार खेपिरहँदा एउटा समूहले भने नाफा कमाइरहेको छ,’ उनले भने । उनले जलवायुबाट सिर्जित खतरा वास्तविक भएको पनि उल्लेख गरे ।
परराष्ट्रमन्त्री खनालको भारतीय समकक्षीसँग द्विपक्षीय छलफल
न्युयोर्कमा गत ४ असोजदेखि रहेका परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न देशका समकक्षी तथा संयुक्त राष्ट्रसंघका उच्च अधिकारीसँग भेटवार्ता गरिरहेका छन् । उनले भारतीय समकक्षी डा. एस जयशंकरसहित विभिन्न देशका समकक्षी र राष्ट्रसंघीय उच्च अधिकारीसँग भेटवार्ता गरेका छन् ।
खनाल र जयशंकरबिच प्रधानमन्त्री शाहको आगामी भारत भ्रमण, दुई देशबिचका द्विपक्षीय परियोजना तथा पछिल्ला आपसी सहमतिका विषयमा छलफल भएको जनाइएको छ । प्रधानमन्त्री शाहले मंसिरको पहिलो साता भारत भ्रमण गर्ने तयारी भइरहेका वेला न्युयोर्कमा भएको यो भेटलाई दुई देशबिचको आगामी उच्चस्तरीय संवादको तयारीका रूपमा हेरिएको छ ।
प्रधानमन्त्री शाहले ७ र ८ मंसिरमा भारत भ्रमण गर्ने लगभग तय भएको छ । जयशंकरसँगको भेट अत्यन्तै उपलब्धिपूर्ण रहेको परराष्ट्रमन्त्री खनालले जानकारी दिएका छन् । जयशंकरले पनि दुई देशका पछिल्ला सहमतिबारे छलफल भएको जानकारी सार्वजनिक गरेका छन् ।