Skip This
प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान : विमानस्थलमा भएन सलामी
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज ७ बुधबार
  • Sunday, 27 September, 2026
२o८३ असोज ७ बुधबार o७:o१:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान : विमानस्थलमा भएन सलामी

सिंहदरबारमा अर्थमन्त्री र विमानस्थलमा गृह तथा पर्यटनमन्त्रीद्वारा बिदाइ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८३ असोज ७ बुधबार o७:o१:oo

संयुक्त राष्ट्रसंघीय महासभाको ८१औँ सत्रका उच्चस्तरीय बैठकहरूमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह मंगलबार न्युयोर्क प्रस्थान गरेका छन् । नेपाली सेनाको टुकडीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्मान गारत (गार्ड अफ अनर) लिने परम्परा तोड्दै उनी सर्वसाधारण यात्रुसरह कतार एयरवेजको नियमित उडानमार्फत न्युयोर्क प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री शाहलाई अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिदाइ गरेका थिए । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलस्थित कतार एयरवेजको पार्किङमा पुगेर गृहमन्त्री सुधन गुरुङ तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले बिदाइ गरे । 

विगतमा झैँ विमानस्थलमा प्रधानमन्त्रीलाई बिदाइ गर्नेहरूको लर्को थिएन । रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री शाहको इच्छाअनुसार कुनै बिदाइ समारोह आयोजना नगरेको एक सैनिक उच्च अधिकारीले जानकारी दिए । 

विगतमा परराष्ट्रमन्त्री तथा रक्षामन्त्रीलाई विदेश जाँदा र आउँदा सेनाको टुकडीले सम्मान गारतसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्ने प्रचलन थियो । तर, तत्कालीन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेको पालादेखि यो प्रचलन हटेको थियो । त्यसपछि प्रधानमन्त्री र राष्ट्रपतिलाई मात्रै सम्मान गारत दिने चलन थियो । प्रधानमन्त्री शाहले यो चलनसमेत हटाएका छन् ।

प्रधानमन्त्री शाह साधारण यात्रुसरह विमान चढेको दृश्यको सर्वत्र प्रशंसा भएको छ । प्रधानमन्त्रीसँगै साँझ ७ बजेको विमानमा न्युयोर्क प्रस्थान गर्नेहरूमा उनका मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्रका प्रमुख शिष्टाचार महापाल कुमार खरेल, शिष्टाचार अधिकृत महेश यादव, सुरक्षा अधिकारीद्वय प्रमुख सेनानी बालमुकुन्द विष्ट र प्रहरी नायब उपरीक्षक दीपेश बस्याल तथा प्रधानमन्त्रीका निजी क्यामेरापर्सन विनय शाक्य छन् । प्रधानमन्त्रीको १४ सदस्यीय प्रतिनिधिमण्डल न्युयोर्कमा रहनेछ । प्रधानमन्त्री शाह बुधबार कतार हुँदै न्युयोर्क प्रस्थान गर्नेछन् । प्रधानमन्त्रीलाई न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरणलगायतका अधिकारीले स्वागत गर्नेछन् । 

न्युयोर्कमा प्रधानमन्त्री कहाँ–कहाँ जाँदै छन् ? 
न्युयोर्क पुगेलगत्तै उनी संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा पुग्नेछन् । त्यहाँ उनलाई परराष्ट्रसचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत आरण र न्युयोर्कस्थित नेपालका महावाणिज्यदूत दधिराम भण्डारीले ब्रिफिङ गर्नेछन् । प्रधानमन्त्री शाह उनको सम्मानमा नेपालका लागि स्थायी प्रतिनिधि थापाले आयोजना गर्ने समारोहमा सरिक हुनेछन् । 

स्थानीय समयअनुसार ८ असोजमा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यही राति (नेपाली समयअनुसार ९ असोज बिहान) प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघीय महासभाको ८१औँ सत्रलाई नेपालको तर्फबाट सम्बोधन गर्नेछन् । त्यसलगत्तै उनी नेपालतर्फ प्रस्थान गर्नेछन् । उनी १० असोजमा नेपाल आइपुग्नेछन् । सम्बोधनमा प्रधानमन्त्री शाहले १० भदौमा नेपाल–चीन सीमाक्षेत्रस्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले नेपालीहरूलाई पारेको असर मात्र नभएर यो क्षेत्रलाई नै दिने चेतावनीबारे धारणा राख्नेछन् । प्रधानमन्त्री शाहले नेपालजस्तो पीडित मुलुकका लागि जलवायु न्यायको आवाज उठाउनेछन् । विगतमा भएका सम्झौताहरूको कार्यान्वयनमा प्रधानमन्त्री शाहले जोड दिने गरी भाषण तयार भएको परराष्ट्र अधिकारीहरू बताउँछन् । 

परराष्ट्रमन्त्रीद्वारा भुटानी प्रधानमन्त्री तथा अन्य देशका समकक्षीसँग भेटवार्ता
परराष्ट्रमन्त्री शिशिर खनालले मंगलबार भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे तथा अन्य देशका समकक्षीहरूसँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसंघीय महासभाको ८१औँ सत्रमा भाग लिन उनी सोमबार न्युयोर्क पुगेका थिए । 

परराष्ट्रमन्त्री खनाल न्युयोर्क बसाइका नौ दिनमा ५० भन्दा बढी बैठक र कार्यक्रममा सहभागी हुनेछन् । उनले १२ भन्दा बढी मञ्चहरूलाई सम्बोधन गर्नेछन् भने परराष्ट्रमन्त्री खनालले २४ भन्दा बढी द्विपक्षीय भेटवार्ताहरू गर्नेछन् । उनले भारतीय विदेशमन्त्री डा. एस जयशंकर, चिनियाँ उपप्रधानमन्त्री हे लिफेङलगायतसँग भेटवार्ता गर्ने तयारी छ । 

परराष्ट्रमन्त्री खनाल मंगलबार बिहानदेखि सुरु राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी छन् । उच्चस्तरीय छलफलको उद्घाटन सत्र मंगलबार न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा सुरु भएको छ । नेपाली प्रतिनिधिमण्डलसहित उपस्थित परराष्ट्रमन्त्री खनालसँगै परराष्ट्रसचिव अमृतबहादुर राई, न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा, सहसचिव कृष्णप्रसाद ढकाललगायत अधिकारी सहभागी छन् । परराष्ट्रमन्त्री खनालले अतिकम विकसित मुलुक, भूपरिवेष्टित विकासोन्मुख मुलुक, असंलग्न आन्दोलन तथा जी–७७ र चीनलगायतका मन्त्रीस्तरीय बैठकमा सहभागिता जनाउनेछन् । परराष्ट्रमन्त्री खनाल र युगान्डाका विदेशमन्त्री एडोनिया अयेबारेबिच आगामी असंलग्न आन्दोलन (नाम)को मन्त्रीस्तरीय बैठक सम्बन्धमा छलफल भएको छ । 

↑