मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज ४ आइतबार
  • Sunday, 20 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज ४ आइतबार १८:१८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं उपत्यकामा ६ रुटमा ३० वटा रात्रिकालीन बस सञ्चालन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज ४ आइतबार १८:१८:oo

काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्दै ६ वटा रुटमा ३० वटा बस सञ्चालन गरिने भएको छ।

काठमाडौं महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँगको सहकार्यमा सञ्चालन भइरहेको रात्रिकालीन बस सेवालाई थप व्यवस्थित र दिगो बनाउन उपत्यकाका ९ स्थानीय तह एउटै कार्यक्रममा आबद्ध भएका हुन्।

संविधान दिवसका अवसरमा स्थानीय तहका प्रमुख तथा साझा यातायातबiच रात्रिकालीन सार्वजनिक यातायात सञ्चालनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

कार्यक्रममा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, बुढानीलकण्ठ, गोदावरी, चन्द्रागिरि, कीर्तिपुर, भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमी नगरपालिका सहभागी छन्। साझा यातायातका तर्फबाट अध्यक्ष सुशीलराज प्याकुरेलले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले रात्रिकालीन बस सेवालाई परीक्षणबाट विस्तार गर्दै दीर्घकालीन रूपमा सञ्चालन गर्ने तयारी गरिएको बताइन्। उनका अनुसार यसअघि दुईवटा रुटमा सातवटा बसबाट सञ्चालन गरिएको सेवा अब ६ वटा रुटमा ३० वटा बस पुर्‍याइएको छ।

विस्तारित सेवाअन्तर्गत जगाती–सूर्यविनायक–ठमेल रुटमा ६ वटा, लगनखेल–बुढानीलकण्ठलाई विस्तार गरी गोदावरीसम्म ६ वटा, चक्रपथमा घडीको दिशामा र विपरीत दिशामा ८ वटा, कीर्तिपुर–जमलमा ४ वटा, टाखेल–ठमेलमा २ वटा तथा नागढुंगा–एयरपोर्ट रुटमा ४ वटा बस सञ्चालन हुनेछन्।

यसअघि लगनखेल–बुढानीलकण्ठ र नागढुंगा–एयरपोर्ट रुटमा राति ८ बजेदेखि ११ बजेसम्म सातवटा बसमार्फत नमुना सेवा सञ्चालन गरिएको थियो। परीक्षण सेवाको प्रभाव, मूल्यांकन तथा लाभ–लागत विश्लेषणपछि यात्रुबाट प्राप्त आम्दानीभन्दा सार्वजनिक सेवा विस्तारलाई प्राथमिकता दिने निष्कर्ष निकालिएको हो।

रात्रिकालीन बस सञ्चालनको खर्च यात्रुबाट प्राप्त टिकट आम्दानीले नपुगेमा अपुग रकमको ५० प्रतिशत सम्बन्धित सात नगरपालिकाले समान रूपमा व्यहोर्ने सहमति भएको छ। बाँकी ५० प्रतिशत रकममध्ये काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले १८.५५ प्रतिशतका दरले तथा अन्य सात नगरपालिकाले ९ प्रतिशतका दरले व्यहोर्ने व्यवस्था गरिएको छ। सेवा सञ्चालनका लागि थप रकम आवश्यक परे साझा यातायातले त्रैमासिक रूपमा माग गर्नेछ।

बस चढ्ने र ओर्लने स्थान सम्बन्धित स्थानीय तहले निर्धारण गर्नेछन्। ती स्थानमा आर्थिक वर्ष ०८३/८४ भित्र डिजिटल साइनेजसहितका बस स्टप निर्माण तथा सञ्चालन गर्ने जिम्मेवारी साझा यातायातलाई दिइएको छ। यसका लागि स्थानीय तहले आवश्यक समन्वय र सहजीकरण गर्नेछन्।

त्यसैगरी, निर्धारित रुटका अन्तिम बिन्दुमा बस चार्जिङ स्टेसन निर्माणका लागि सम्बन्धित स्थानीय तहले आवश्यक जग्गा उपलब्ध गराउने र साझा यातायातले चार्जिङ स्टेसन जडान गर्ने सहमति भएको छ। चार्जिङ स्टेसनको सुरक्षाको जिम्मेवारी सम्बन्धित स्थानीय तहले लिनेछन्।

रात्रिकालीन सार्वजनिक यातायातलाई प्रभावकारी बनाउन स्थानीय तहले नियमित अनुगमन तथा सुझाव दिने व्यवस्था गरिएको छ। सम्झौताको कार्यान्वयनबारे कम्तीमा त्रैमासिक रूपमा प्रगति समीक्षा बैठक बस्ने र साझा यातायातले वित्तीय प्रतिवेदन प्रस्तुत गर्ने प्रावधानसमेत राखिएको छ।

चक्रपथमा रात्रिकालीन सेवा विस्तार भएपछि एक स्थानमा बस परिवर्तन गरेर विभिन्न रुटमा यात्रा गर्न सकिनेछ। यसरी यात्रा गर्दा अधिकतम ८० रुपैयाँसम्म भाडा लाग्ने बताइएको छ।

टिकट बिक्रीमा हुने आर्थिक चुहावट नियन्त्रण गर्न साझा यातायातले असोज १ गतेदेखि डिजिटल टिकटिङ प्रणालीसमेत विकास गरेको छ। यात्रुले क्युआरमार्फत वा नगद भुक्तानी गरेर टिकट लिन सक्नेछन्। डिजिटल टिकटिङबाट आर्थिक चुहावट घट्ने र साझा यातायातको सञ्चालन घाटासमेत कम हुने अपेक्षा गरिएको छ।

रात्रिकालीन सार्वजनिक यातायात विस्तार भएपछि अस्पताल, विमानस्थल, बजार तथा अन्य अत्यावश्यक सेवामा रातिको समयमा आवतजावत गर्ने नागरिकलाई सहज हुने अपेक्षा गरिएको छ। यात्रुको चाप र आवश्यकता बढ्दै गएमा भविष्यमा अन्य क्षेत्रमा समेत सेवा विस्तार गर्ने बाटो खुला भएको स्थानीय तहले बताएका छन्।

साझा यातायातमा नेपाल सरकारको ३ अर्ब रुपैयाँ तथा काठमाडौं महानगरपालिकाको १५ करोड रुपैयाँ सेयर लगानी रहेको छ। हाल साझा यातायातसँग १११ वटा बस सञ्चालनमा छन्।