मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज ४ आइतबार
  • Sunday, 20 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज ४ आइतबार १८:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाढी प्रभावित नुवाकोट र रसुवामा एक लाख १० हजारभन्दा बढी हैजाविरुद्धको खोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज ४ आइतबार १८:o६:oo

बाढी प्रभावित क्षेत्रमा हैजाको संक्रमण फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै सरकारले नुवाकोट र रसुवामा एक लाख १० हजारभन्दा बढी डोज हैजाविरुद्धको खोप पठाएको छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार नुवाकोटमा २४ हजार ५ सय र रसुवामा ८६ हजार डोज खोप पठाइएको हो। उक्त खोप दुई साताअघिदेखि प्रभावित क्षेत्रमा वितरण हुँदै आएको छ।

मन्त्रालयका अनुसार शनिबारसम्म नुवाकोटमा ३२ हजार र रसुवामा ११ हजार जनालाई खोप वितरण गरिएको छ। प्रभावित क्षेत्रमा मुख्यतः बालबालिका र महिलालाई लक्षित गरी खोप वितरण भइरहेको मन्त्रालयले जनाएको छ।

होल्डिङ सेन्टरमा प्रभावितको चाप बढेकाले स्वास्थ्य मन्त्रालयले सरसफाइ, सुरक्षित खानेपानी, सन्तुलित खानपान तथा बिरामीको समयमै पहिचानमा विशेष ध्यान दिन आग्रह गरेको छ। पछिल्लो समय प्रभावित क्षेत्रमा झाडापखाला, रुघाखोकी र ज्वरोका बिरामी देखिन थालेपछि स्वास्थ्यकर्मीले खानेपानी र सरसफाइमा थप सावधानी अपनाउन सुझाव दिएका छन्।

बाढी प्रभावित क्षेत्रमा केन्द्रबाट सयभन्दा बढी विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली परिचालन गरिएको थियो। तीमध्ये ७० जना स्वास्थ्यकर्मी फर्किसकेका छन् भने ३० जना अझै रसुवा, धादिङ र नुवाकोटका अस्पताल तथा स्वास्थ्य शिविरमा खटिरहेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार होल्डिङ सेन्टर तथा आसपास सञ्चालित स्वास्थ्य शिविरमार्फत प्रभावितको स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको छ। स्वास्थ्यकर्मीले संक्रमणजन्य रोगको जोखिम न्यूनीकरणका लागि सुरक्षित पानीको प्रयोग, सरसफाइ र खानपानमा विशेष ध्यान दिन आग्रह गरेका छन्।