नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारविरुद्ध आन्दोलनको तयारी भइरहेको बताएका छन् । पार्टीसम्बद्ध अखिल नेपाल किसान महासंघको भेलालाई शुक्रबार सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् ।
‘तथाकथित नयाँ सरकारले अहिले जुन दमन सुरु गरेको छ, ज्यादती र अत्याचार सुरु गरेको छ, त्यसविरुद्ध बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने स्थिति बन्दै छ, त्यसका लागि हामीले तयारी सुरु गर्नुपर्छ,’ प्रचण्डले भने । सरकारले किसानमाथि दमन र ज्यादती सुरु गरेको उनको भनाइ छ ।
आन्दोलनको तयारीका लागि विभिन्न पार्टी, बुद्धिजीवी, नागरिक समाजसँग लगातार छलफल भइरहेको पनि प्रचण्डले बताए । ‘म सबै नेता कमरेडहरूलाई प्रस्टसँग भन्न चाहन्छु– हामी आन्दोलनकै तयारीका लागि विभिन्न पार्टी, बुद्धिजीवी, नागरिक समाजसँग लगातार छलफलमा छौँ । र, सकारात्मक दिशामा चिजहरू अगाडि बढ्दै छन्,’ उनले भने ।