पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत सिराहाको सिराहा नगरपालिका– १ बाट एक क्विन्टल बढी प्रतिबन्धित गाँजा बरामद भएको एम्बुलेन्स धनुषास्थित एक सामाजिक संस्थाको रहेको खुलेको छ। चालक फरार भएपछि १०५ किलो गाँजा बरामद भएको एम्बुलेन्स धनुषाको नगराइन नगरपालिका देवडिहास्थित ‘माँ सहयोगी संस्था’को रहेको खुलेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकका अनुसार चोहर्वा–सिराहा सहायक सडकअन्तर्गत नेपाल प्रहरीको विष्णुपुर, गुलरिया र जिल्ला प्रहरी कार्यालय अगाडिको ब्यारिकेड तोडेर भागेको ज १ च १२१३ नम्बरको एम्बुलेन्स सामाजिक संस्थाको रहेको खुलेकाले धनुषा प्रहरीसँग समन्वय गरी संस्थाका आधिकारिक प्रतिनिधि झिकाएर एम्बुलेन्ससम्बन्धी कागजात पेस गर्न भनिएको छ।
‘संस्थाका प्रतिनिधिले बुझाएको एम्बुलेन्ससम्बन्धी कागजात अध्ययनपछि मात्र निर्णय गर्न सकिन्छ,’ उनले भने। उनका अनुसार मंगलबार राति प्रहरीको ब्यारिकेड तोडेर भागेको एम्बुलेन्सको पिछा गर्दै जाने क्रममा करिब ८ बजेतिर पूर्वपश्चिम लोकमार्गमा पर्ने शिवचोक नजिक एम्बुलेन्स रोकेर अँध्यारोमा चालक धानखेततिर भागेपछि प्रहरीले एम्बुलेन्स खानतलासी गर्दा पाँचवटा जुटको बोरामा प्याक गरिएको गाँजा बरामद भएको हो। अहिले एम्बुलेन्स जिल्ला प्रहरीको नियन्त्रणमा छ।
संस्थाले उक्त एम्बुलेन्स सिराहाको कर्जन्हा नगरपालिका बगहा घर भएका सितेन मण्डललाई चालक राखेर सञ्चालन गर्न दिएको बताए पनि चालक स्वयं उनी हुन् वा होइनन् भन्ने खुलेको छैन। प्रहरीका अनुसार पछिल्लोपटक एम्बुलेन्स सञ्चालन गरिरहेका व्यक्तिले संस्थासँग के, कसरी र कहिलेसम्मको सम्झौता गरेका थिए, त्यसको आधारमा मात्र कानुनी कारबाही अगाडि बढ्नेछ।
दुई महिनामा साढे १० क्विन्टल गाँजा बरामद
पछिल्लो साउन र भदौमा जिल्लाका विभिन्न युनिटहरूबाट खटिएको प्रहरी टोलीले १० क्विन्टल ५६ किलो ९२२ ग्राम प्रतिबन्धित गाँजा बरामद गरेका छन्। सशस्त्र प्रहरी बल गण नं. ७ हेडक्वार्टरबाट खटिएको टोलीले २४ भदौमा औरही गाउँपालिका– ४, इँटाटारस्थित सीमा क्षेत्रबाट टाउकोमा बोकेर भारततर्फ लैजाँदै गरेको अवस्थामा १५७ किलो २०७ ग्राम गाँजा बरामद गरेको थियो।
सिराहा प्रहरीका अनुसार गत साउन महिनामा सात क्विन्टल ९४ किलो ७१५ ग्राम गाँजा बरामद भएको थियो। पछिल्लो आर्थिक वर्ष ०८२-८३ को साउनदेखि असारसम्म १२ महिनाको अवधिमा जिल्लाका विभिन्न ठाउँबाट ३० क्विन्टल ७३ किलो ४२९ ग्राम गाँजा बरामद भएको प्रहरीको तथ्यांकमा उल्लेख छ।