नेपाल विद्युत् प्राधिकरणले भोटेकोशी बाढीमा बेपत्ता भएका कर्मचारी र कामदारको परिवारका लागि तत्कालीन राहत प्याकेज घोषणा गरेको छ। बाढीबाट १३ वटा जलविद्युत् आयोजनामा क्षति भएको छ भने थुप्रै आयोजनाका कर्मचारी र कामदारहरू बेपत्ता छन्। प्राधिकरणअन्तर्गत मात्रै ४७ कर्मचारी र कामदार बेपत्ता छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार साँझ बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले बेपत्ता भएका कर्मचारी र कामदारहरूको आश्रित परिवारलाई बेपत्ता खोजी कार्य गर्न, आफ्नो कुल धर्मअनुसारको सामाजिक संस्कार गर्न र जीवनयापन गर्नको लागि राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले बताए।
शाहीका अनुसार पहिलो प्याकेजमा तत्कालका लागि राहतस्वरूप बेपत्ता भएका स्थायी कर्मचारी, ज्यालादारी तथा सेवा करारका कामदारको नजिकको हकवालालाई प्रति कर्मचारी ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो।
दोस्रो प्याकेजमा स्थायी कर्मचारीको नजिकको हकवालालाई प्राधिकरणबाट के कति क्षतिपूर्ति वा के रकम दिने भन्ने सम्बन्धमा अर्को निर्णय नभएसम्मका लागि वा भदौदेखि बढीमा ६ महिनाको लागि बेपत्ता भएका स्थायी कर्मचारीको नजिकको हकवालालाई बेपत्ता कर्मचारीको तहको सुरु तलब स्केलको ५० प्रतिशत रकम निर्वाह स्वरूप उपलब्ध गराउने निर्णय भएको छ।
बैठकमा मन्त्री श्रेष्ठले बेपत्ता भएका कर्मचारी र कामदारको परिवार सरकारको जिम्मेवारी भएको बताए। ‘हामी एउटै परिवार हो। यो पैसाले यत्रो ठुलो दुःखको घाउ त निको पार्दैन, तर मलम लाउने काम गरोस्,’ उनले भने।