सशस्त्र प्रहरी बल नेपालले बाढी प्रभावित तीन जिल्लामा १२ वटा अस्थायी बेस स्थापना गरेको छ। धादिङमा २, नुवाकोटमा ६ र रसुवामा ४ वटा बेस स्थापना भएका हुन्। जसअन्तर्गत धादिङको मलेखु र गल्छी, नुवाकोटको देवीघाट, कोलोनी, रातमाटे, तारकेश्वर, वेत्रावती र तारुका तथा रसुवाको त्रिशूली हाइड्रो ३ ए, त्रिशूली हाइड्रो ३ बी , स्याफ्रुबेँसी र बोगटप्टारमा गरी १२ वटा बेस स्थापना भएको हो।
उद्धार कार्यलाई थप प्रभावकारी बनाउन स्थापना भएका बेसमध्ये धादिङको मलेखु र नुवाकोटको तालकेश्वरमा मेडिकल टोलीसमेत खटिएको सशस्त्रले जनाएको छ। ती बेसहरूमा १५ देखि ३५ जनासम्मको संख्यामा उद्धार टोली खटाइएको छ भने विशेष तालिमप्राप्त उद्धारकसमेत रहेका छन्। ती बेसमा कोल्याप्स स्ट्रक्चर सर्च एन्ड रेस्क्यु (सिएसएसआर), मेडिकल फस्ट रेस्पोन्डर( एमएफआर), के ९ डग स्वार्ड , ड्रोन, रोप रेस्क्यु डेड बडी म्यानेजमेन्ट, गोताखोर, स्विफ्ट वाटर रेस्क्यु टिम, मास क्याजुअल्टी भेकल (एमसिभी ) सहितका विशेष टोली परिचालन गरिएको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।