युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीका अनुसार उत्तर कोरियाले युक्रेनमा जारी रुसी सैन्य अभियानलाई सघाउन ५० हजारभन्दा बढी नयाँ सेना पठाउने तयारी गरिरहेको छ । दक्षिण कोरियाको विदेश मन्त्रालयले जेलेन्स्कीको यस दाबी प्रमाणित गर्न असमर्थ भए पनि सोल सतर्क देखिन्छ । अगस्ट १० मा सोधपुछ गर्दा विदेश मन्त्रालयका एकजना प्रवक्ताले नाम नखुलाउने सर्तमा भने, ‘उत्तर कोरिया र रुसबिचको सैन्य सहयोग हाम्रो (दक्षिण कोरियाको) सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिने विषय हो । उत्तरसँगको लेनदेन संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावको प्रत्यक्ष उल्लंघन पनि हो । हाम्रो सरकारको अडान यस्तो सहयोग तुरुन्तै निलम्बन गरिनुपर्छ भन्ने छ । हामी यस सम्बन्धित विकासक्रमलाई नजिकबाट नियालिरहेका छौँ ।’
प्योङयाङ र मस्कोबिच जुन २०२४ मा एक आपसी रक्षा सम्झौतामा हस्ताक्षर भएको थियो । त्यसको केही महिनाभित्रै करिब पन्ध्र हजार उत्तर कोरियाली सेना रुसमा तैनाथ गरिएका थिए । तैनाथ गरिएका फौजमा निर्माण क्षेत्रका फौजदेखि मिसाइल अपरेटर, इन्जिनियर र पैदल सेनासम्म थिए । त्यतिखेर खटाइएकामध्ये पन्ध्र सय विशेष बलका सेना समावेश थिए ।
रुससँगको साझेदारीबाट उत्तर कोरियाले धेरै कुरा हासिल गरेको छ । उसो त अहिलेसम्म उत्तर कोरियाली सेनाले युक्रेनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सिमानाभित्र पसेर लडेका छैनन् । तर, उत्तर कोरियाली सैनिकले रुसको कुस्र्क क्षेत्र पसेका युक्रेनी फौजविरुद्ध लड्दा स्थलयुद्धको प्रत्यक्ष अनुभव हासिल गर्ने अवसर पाए । युक्रेनले त्यस भेगमा सन् २०२४ मा आक्रमण सुरु गरेको थियो । युक्रेन युद्धमा उत्तर कोरियाली क्षेप्यास्त्र प्रयोग गरिएको छ भने बदलामा प्योङयाङले रुसबाट नयाँ सैन्य प्रविधि हासिल गरेको छ ।
सायद यस विषयमा सबैभन्दा महत्वपूर्ण कुरा रुससँगको साझेदारीले उत्तर कोरियाले ठुलो आर्थिक जीवनदान हासिल गरेको छ । कुल गार्हस्थ उत्पादन (जिडिपी)मा लामो समयको नकारात्मक वृद्धिपछि सन् २०२५ मा उत्तर कोरियाको अर्थतन्त्र ३.५ प्रतिशतले बढ्यो । रुसले प्रदान गरिरहेको सैन्य सहयोगको प्रत्यक्ष भुक्तानीबाहेक दुई देशबिचको साझेदारीले उत्तर कोरियालाई इन्धन, खाना र प्राविधिक सहयोगका साथै ऋण भुक्तानी स्थगित गर्ने आपूर्ति गरेको छ ।
उनीहरूको साझेदारीले एक स्पष्ट चक्र सिर्जना गरेको छ, जसमा उत्तर कोरियाले युद्धमा प्रयोग गर्न रुसलाई गोलाबारुद र जनशक्ति आपूर्ति गर्छ भने बदलामा मस्कोले उत्तर कोरियालाई विभिन्न स्रोत र प्रविधि प्रदान गर्छ । यस सम्बन्धबाट प्योङयाङको बढेको आत्मविश्वास तथा आयस्रोतका कारण ऊ दक्षिणविरुद्ध आफ्नो अडान सुधार गर्न सक्षम भएको छ ।
रुससँगको साझेदारीले उत्तर कोरियाले ठुलो आर्थिक जीवनदान हासिल गरेको छ । कुल गार्हस्थ उत्पादन (जिडिपी)मा लामो समयको नकारात्मक वृद्धिपछि सन् २०२५ मा उत्तर कोरियाको अर्थतन्त्र ३.५ प्रतिशतले बढ्यो । रुसले प्रदान गरिरहेको सैन्य सहयोगको प्रत्यक्ष भुक्तानीबाहेक दुई देशबिचको साझेदारीले उत्तर कोरियालाई इन्धन, खाना र प्राविधिक सहयोगका साथै ऋण भुक्तानी स्थगित गर्ने भएको छ ।
दक्षिण कोरियाको चिन्ता
उत्तर कोरिया–रुसको सम्बन्धमाथि दक्षिण कोरियाको मुख्य चिन्ता उत्तर कोरियाली सेनाले रुसमा के सिकिरहेको छ भन्नेमा छ । उत्तर कोरियाली सेना अर्थात् कोरियाली जनसेनाले सन् १९५० को दशकको सुरुवातमा कोरियाली युद्ध लडेपछि कुनै ठुलो परम्परागत द्वन्द्व लडेका छैनन् । तर, युक्रेन–रुस युद्धमा संलग्न भएर यसले अहिले प्रत्यक्ष रूपमा आधुनिक युद्धमा अनुभव बटुलिरहेको छ ।
उत्तर कोरियाली फौज प्रत्यक्ष लडाइँमा मात्र नभई ड्रोन निगरानी, इलेक्ट्रोनिक युद्ध र सटिक तोपखाना प्रहारमा पनि संलग्न भइरहेका छन् । कोरियाली फौज अहिले युद्ध अभ्यासका ‘परीक्षण सेटिङ’मा नभई वास्तविक द्वन्द्वमा आफ्ना हतियार प्रविधिको विश्लेषण र यसको प्रभावकारिताको मूल्यांकन गरिरहेको छ ।
उता, दक्षिण कोरियालाई पनि किभ र युक्रेनका सहयोगी देशले युक्रेन द्वन्द्वमा संलग्नता बढाउन आह्वान गरिएको छ । तर, दक्षिण कोरियाली आमनागरिक मात्र होइन, राजनीतिक वर्गभित्र प्रत्यक्ष सैन्य समर्थन प्रदान गर्ने कुराप्रति विरोध कायम छ । दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले यस अडानलाई सन् २०२५ देखि स्पष्ट पार्दै आएका छन् । युरोपमा चलिरहेको टाढाको युद्धमा संलग्न हुनुको सट्टा लीले आफ्नो विदेश नीति कोरियाली प्रायद्वीपमा केन्द्रित गरेका छन् । यसैअन्तर्गत उनले हालै अगस्ट १५ मा शान्तिपूर्ण सहअस्तित्वका लागि उत्तरसँग वार्ताको लागि आह्वान गरे ।
यद्यपि, दक्षिण कोरियाले उत्तर कोरियाबाट आउने खतराविरुद्ध आफ्नो तयारीलाई बलियो बनाउने प्रयास भने रोकेको छैन । दक्षिण कोरियाले बर्सेनि अमेरिकी सेनासँग मिलेर गर्ने सैन्य अभ्यास ‘उल्ची फ्रिडम सिल्ड’ले आफ्नो ध्यान बदलेका छन् ।
अहिले यस युद्ध अभ्यासमा परम्परागत परिस्थितिमा आधारित क्षेत्रीय तथा हवाई अप्रेसनसम्बन्धी युद्धाभ्यासका अतिरिक्त ड्रोन, साइबर आक्रमण र जिपिएस जामिङ समावेश हुन थालेको छ । तर, यसैमा चिन्ता थपिएको छ, विशेषतः दक्षिण कोरियाको आफ्नो ऐतिहासिक सुरक्षा साझेदार अमेरिकासँगको सम्बन्धलाई लिएर । जसरी सियोलले युक्रेनमा जारी रुसी युद्धमा संलग्न हुने इच्छा देखाएको छैन, त्यसरी नै यो इरानमा अमेरिकाको युद्धमा सामेल हुन पनि उत्तिकै अनिच्छा देखाएको छ । युरोपका अन्य अमेरिकी सहयोगीले जस्तै सियोलले यस निर्णयको परिणाम भोग्न सक्छ । अगस्ट १६ मा एक सामाजिक सञ्जाल पोस्ट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास ‘उलेख्य मात्रामा घटाउने’ बताए ।
ट्रम्पले इरान युद्धमा सामेल हुन दक्षिण कोरियाको अनिच्छा तथा उत्तर कोरियाली नेता किम जोङ उनसँगको आफ्नो ‘धेरै राम्रो’ व्यक्तिगत सम्बन्धका कारण यो कदम चालेको उल्लेख गरे । यसबिच, विश्वको सबैभन्दा ठुलो सैन्य शक्ति भएर पनि अमेरिकाले इरानसँगको युद्धमा ठुलो परिमाणमा गोलाबारुद प्रयोग गर्नुपरेको छ । अगस्टको सुरुमा सार्वजनिक एक रिपोर्टमा अमेरिकाले इरानविरुद्ध आफ्नो ‘लगभग सबै’ सटिक मार हान्ने स्ट्राइक मिसाइल प्रयोग गरेको बताइएको छ ।
सन् २०२६ को सुरुमा अमेरिकाले इरानविरुद्ध आफ्नो मिसाइल भण्डारण रित्याउँदै गर्दा वासिंटन र सियोलले कोरियामा तैनाथ गरिएका केही अमेरिकी ‘प्याट्रियट’ रक्षा मिसाइल प्रणाली मध्यपूर्वमा सार्ने सम्भावनाबारे छलफल गरेका थिए ।
यस्तोमा, उत्तर कोरिया बलियो हुँदै जाँदा, सियोलले उत्तरसँग द्वन्द्व भड्किए अमेरिकी हतियार आफ्ना लागि उपलब्ध हुनेमा विश्वास गर्न कठिन हुने महसुस गर्दै आएको छ । ५० हजार अतिरिक्त उत्तर कोरियाली सेना तैनाथीको दाबी यथार्थमा बदलिएका कि नबदलिएला, त्यो हेर्न बाँकी नै छ । तर, सियोलमाथि अहिले साँच्चै खतरा बढेको छ । सियोलले यस्तो वेला बलियो प्योङयाङको सामना गर्दै छ, जब विश्वकै सबैभन्दा ठुलो हतियार निर्यातकसमेत उसको नीतिगत लक्ष्य पूरा गर्न असमर्थ हुन सक्छ ।
द कन्भर्सेसनबाट