मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ ११ बिहीबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ भदौ ११ बिहीबार ११:४६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय संकटमा सबै दल एक ठाउँमा आउनुपर्छ : अर्थमन्त्री वाग्ले

विश्व बैंकसँग कुराकानी भएको एक घण्टाभित्रै करिब २५ अर्ब रुपैयाँ बराबरको आर्थिक सहायता उपलब्ध गराउने प्रतिबद्धता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ भदौ ११ बिहीबार ११:४६:oo

अर्थमन्त्री स्वर्णिम वाग्लेले राष्ट्रिय संकटको घडीमा सबै राजनीतिक दल र पक्षहरू एक ठाउँमा आएर समाधान खोज्ने राजनीतिक संस्कार निर्माण हुँदै गएको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै वाग्लेले तत्काल राहत तथा उद्धारलाई प्राथमिकता दिँदै मध्यकालीन र दीर्घकालीन समस्या समाधानतर्फ पनि ध्यान दिनुपर्ने बताए।

‘राष्ट्रिय संकटको घडीमा सबै दलहरू, सबै पक्षहरू एक ठाउँमा आएर समाधान गर्ने राजनीतिक संस्कार र चरित्र बनिरहेको छ,’ उनले भने।

वाग्लेले आफू अर्थमन्त्री र गृहमन्त्रीका रूपमा सबै राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहेको बताए। अहिलेको प्राथमिकता विपतमा परेकाहरूको उद्धार र राहत भए पनि त्यसपछि प्रारम्भिक पुनरुत्थान हुँदै दीर्घकालीन पुनर्निर्माणमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ।

‘दुई–चार दिन राहत र उद्धारमा पहिलो प्राथमिकता हुन्छ,’ उनले भने, ‘बेपत्ता, अलपत्र नेपाली तथा विदेशी पर्यटक सबैको उद्धार चलिरहेको छ।’

उनका अनुसार सुरुमा दुईवटा हेलिकोप्टरबाट उद्धार थालिएकोमा अहिले २२ वटा हेलिकोप्टर परिचालन गरिएको छ। मौसमले साथ दिएसम्म उद्धार कार्यलाई निरन्तरता दिइने उनले बताए। उद्धारका लागि आवश्यक साधन–स्रोत जुटाउने काम भइरहेको र अन्तर्राष्ट्रिय स्रोत परिचालन गर्न पनि पहल भइरहेको वाग्लेले जानकारी दिए।

उनका अनुसार विपतपछि अर्थ मन्त्रालयले अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँग तत्काल समन्वय थालेको छ। विश्व बैंकसँग कुराकानी भएको एक घण्टाभित्रै करिब २५ अर्ब रुपैयाँबराबरको आर्थिक सहायता उपलब्ध गराउने प्रतिबद्धता आएको उनले बताए। अन्य अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाबाट पनि सहयोगको प्रतिबद्धता आउने क्रममा रहेको उनको भनाइ छ।

वाग्लेले सरकारले विपत् व्यवस्थापनका लागि बजेटमै स्रोत सुनिश्चित गरेको पनि बताए। चालू बजेटमा पुनरुत्थान तथा राहत कोषका लागि १० अर्ब रुपैयाँ छुट्याइएको र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई अर्ब ३४ करोड रुपैयाँ रहेको उनले जानकारी दिए। ‘आर्थिक आवश्यकतामा कमी नहुने गरी अघि बढ्छौँ,’ वाग्लेले भने।

उनका अनुसार अहिलेको चरणमा उद्धार तथा राहतलाई प्रभावकारी बनाउनु मुख्य चुनौती हो। त्यसपछि प्रारम्भिक पुनरुत्थानका काम अघि बढाइनेछ। वैज्ञानिक तथ्यांक र क्षतिको यथार्थ विवरण प्राप्त भएपछि दीर्घकालीन पुनर्निर्माणको योजना बनाइने उनले बताए।

भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको समीक्षा, बेपत्ताको खोजी तथा उद्धार, राहत र पुनर्स्थापनाका विषयमा राजनीतिक दलहरूबिच समन्वय र सहकार्यका लागि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका थिए।