सामाजिक सञ्जालमार्फत अभद्र तथा आपत्तिजनक शब्द प्रयोग गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रवीन्द्र यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले यादवलाई मंगलबार साँझ करिब ७ बजे अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।
सामाजिक सञ्जालमार्फत स्थानीय सागर यादवलाई लक्षित गरी आपत्तिजनक तथा अभद्र शब्द प्रयोग गरेको भन्दै परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वसन्त गौतमले यादवलाई अनुसन्धानका क्रममा नियन्त्रणमा लिएको पुष्टि गरे।
सामाजिक सञ्जालमा राजनीतिक तथा व्यक्तिगत विषयलाई लिएर एक–अर्काविरुद्ध अभद्र अभिव्यक्ति दिने क्रम बढिरहेका वेला रास्वपा नेतामाथि भएको यो कारबाहीलाई स्थानीयस्तरमा चासोका साथ हेरिएको छ। प्रहरीले यादवमाथि लागेको आरोपबारे आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ। प्रहरी नियन्त्रणमा रहेका यादव गरुडा नगरपालिकाका राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेता हुन् ।