हिमाल, धार्मिकस्थल र पाेखरीकाे प्रचार गर्न भ्रमण वर्ष मनाउँदै जुगल

आइतबार, १७ साउन, २०८३
डिजिटल संस्करण

जुगल हिमशृंखलावरिपरिका ६ हजार मिटरभन्दा माथिका १४ हिमाल र त्यसभन्दा कम उचाइका एक दर्जन ट्रेकिङ पिकको प्रचारप्रसार गर्न जुगल गाउँपालिकाले भ्रमण वर्ष ०८३/८४ मनाउने घोषणा गरेको छ।

गत वर्ष ६ हजार मिटरभन्दा माथिका जुगल– १, ग्याल्चेन पिक र जुगल– ५ हिमालको सफल आरोहण भइसकेको छ। नेपाल सरकारले आरोहण खुला गरेपछि दुई वर्षयता जुगल हिमशृंखलामा नेपाल, दक्षिण कोरिया, अमेरिका र बेलायतका पर्वतारोही आउने क्रम बढेको छ। हालसम्म करिब ५० जना पर्वतारोहीले जुगल हिमाल आरोहण गरिसकेका छन्। राजधानीबाट सबैभन्दा नजिक रहेको हिमशृंखलाका रूपमा जुगल परिचित छ।

पर्वतारोही र पर्यटकको आगमनलाई केन्द्रमा राखेर स्थानीय सरकारले भ्रमण वर्ष घोषणा गरेको हो। हिमाल, ऐतिहासिक धार्मिकस्थल र पोखरीको प्रचारप्रसारलाई प्राथमिकता दिइएको छ।

जुगल गाउँपालिकाभित्र रहेका दोमङ पोखरीसहित १० वटा ठुला पोखरी, मञ्जुश्री पार्क, जुगल भ्युप्वाइन्ट सिन्दुर्चे, च्याङ्रेसिङ अवलोकितेश्वर, गुरु रिम्पोछेको सालिक, पुराना गुम्बा तथा मठमन्दिर, अमिलो पानीस्थल सांगाेलिङ र अम्बाखर्कमा रहेको चिज फ्याक्ट्रीलाई पर्यटकीय गन्तव्यका रूपमा समेटिएको छ।

भ्रमण वर्ष अवधिभर हिमाल आरोहण, सांस्कृतिक महोत्सव, हाइअल्टिच्युड म्याराथन, फुड फेस्टिभल, लगानी सम्मेलन, होमस्टे प्रवर्द्धनलगायत २० वटा कार्यक्रम आयोजना गरिनेछ।

पर्यटकका लागि ५२ सय मिटर उचाइमा रहेको छ्याक्छला पास रुट र स्याबल रुट हुँदै ब्रह्मायणी नदीको शिरमा रहेको हिन्दु तथा बौद्ध धर्मावलम्बीको ऐतिहासिक धार्मिकस्थल नेपेमासाल पुग्ने गन्तव्य तय गरिएको छ।

नेपाल पर्यटन बोर्डसँग समन्वय गरी भ्रमण वर्षमा हिमाल आरोहण गर्न आउने पर्वतारोहीबाट सरकारले लिने सलामी दस्तुर निःशुल्क गर्ने घोषणा गरिएको छ। धेरै युवा समूहले यसपटक जुगल बेसक्याम्पसम्मको यात्रा तय गरिसकेका छन्।

हिमाल आरोहणमा गाइडको काम गर्ने पर्वतारोही समूहले भ्रमण वर्षभर हिमालमा डोरी फिक्स गर्नेछन्। डोरी फिक्स गरेपछि आगामी वर्षहरूमा आउने आरोहीलाई सहज हुने अपेक्षा गरिएको छ।

‘केन्द्रीय सरकारसँग सहकार्य गर्दै स्थानीय स्रोतसाधन र शक्तिको भरपुर उपयोग गरेर भ्रमण वर्षभर विभिन्न कार्यक्रम गरिनेछन्। वर्षको अन्त्यसम्म जुगल गाउँपालिकाले धेरै क्षेत्रमा प्रगति हासिल गर्नेछ,’ गाउँपालिका अध्यक्ष रेशम स्याङ्बाले भने।

धेरै पर्यटकीय गन्तव्य रहेको जुगललाई प्रचारप्रसार, पूर्वाधार निर्माण र स्थानीय जनतालाई प्रशिक्षित गर्ने उद्देश्यले भ्रमण वर्ष घोषणा गरिएको उनले बताए।

सिन्धु पर्यटन परिषद्का महासचिवसमेत रहेका पर्वतारोही मिलन तामाङका अनुसार जुगल–नेपेमासाल बृहत् पर्यटन गुरुयोजनाअन्तर्गत मुख्य रूपमा हिमाल आरोहण, बेसक्याम्प क्षेत्रमा पूर्वाधार निर्माण र नेपेमासालमा पुरातात्त्विक महत्त्व बोकेको छिन्ताङ गुम्बाको जीर्णोद्धार गरिनेछ।

लगानी सम्मेलनमार्फत दातृ निकायबाट आर्थिक स्रोत जुटाउने उद्देश्यसमेत रहेको तामाङले बताए। जुगल क्षेत्रमा घुम्न जाने पर्यटकका लागि गुम्बा गाउँमा ललुङ्पाल होमस्टे सञ्चालनमा ल्याइएको छ।

सुझावित समाचार