हेटौँडा उपमहानगरपालिका उपमहानगरपालिका वडा नम्बर १० टिसिएन रोडस्थित डेरा कोठामा एक युवती मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चितवनको भरतपुर महानगरपालिका–११ घर भई हाल हेटौँडा–१० टिसिएन रोडमा बस्दै आएकी अन्दाजी १७–१८ वर्षीया अनिशा बिक आफ्नै डेरामा बुधबार बिहान करिब ६ बजे अचेत अवस्थामा फेला परेकी थिइन् ।
उनी हेटौँडास्थित आरआरएस थकाली रोधीघरमा वेटरका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ । डेरामा रहेका साथीहरूले अचेत अवस्थामा भेटेपछि बिहान सवा छ बजे उपचारका लागि हेटौँडा अस्पताल पुर्याएका थिए । अस्पतालमा चिकित्सकले इसिजी परीक्षण गर्दा उनको मृत्यु भइसकेको पुष्टि भएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा खटिएको टोलीले अनुसन्धान थालेका छन् ।
प्रहरीले घटनाको कारण खुल्न बाँकी रहेको जनाएको छ। मृत्युको कारण पत्ता लगाउन घटनास्थलको मुचुल्का, प्रमाण संकलन तथा अन्य आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।