सुदूरपश्चिम विश्वविद्यालयको तीन तले भवनबाट हाम फालेका एक नवप्रवेसी विद्यार्थीको मृत्यु भएको छ। शनिबार बिहान ९ बजेतिर भीमदत्त नगरपालिका १८ महेन्द्रनगरस्थित सुप विश्वविद्यालय केन्द्रीय क्याम्पसको तीन तले भवनबाट हाम फालेर घाइते भएका नव प्रवेसी विद्यार्थी उत्तम कार्कीको मृत्यु भएको हो ।
बेलकोट नगरपालिका ४का २३ वर्षीया विद्यार्थी कार्की १२ उर्तीणपछि उच्च शिक्षाका लागि सुप विश्वविद्यालय केन्द्रीय क्याम्पसमा ब्याचुलर अफ होटल म्यानेजमेन्ट(बिएचएम)को प्रवेश परीक्षा दिन आएका थिए । प्रवेश परीक्षा दिएलगत्तै उनले तेस्रो तलाबाट फिल्मीशैलीमा हाम फालेको व्यवस्थापन संकायले जनाएको छ ।
तीन तलाबाट हाम फालेर गम्भीर घाइते भएका विद्यार्थी कार्कीको उपचारका क्रममा धनगढीस्थित मायामेट्रो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता टेक बहादुर रावतले घाइते कार्कीको उपचारका क्रममा मृत्यु भएको बताए। घरदेखि प्राविधिक शिक्षा अध्ययन गर्दै भविष्य बनाउन हिडेका कार्की तीन तलेछतबाट हाम फालेर सदाका लागि बिदा भएका छन्।
कार्कीको निधनसँगै घर परिवारदेखि आफन्त शोकाकुल भएका छन् । उच्च शिक्षा अध्ययनकै लागि प्रवेश परीक्षा दिएका कार्कीले किन हाम फाले भन्ने विषयमा घर परिवार, आफन्तदेखि विद्यार्थी नेताहरुले समेत माग उठान गरेका छन । प्रहरीले घटनाको छानबिन भइरहेको जनाएको छ ।