मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुदानअन्तर्गतको चार सय केभी क्षमताको १८ किमि लामो न्यु बुटवल–नेपाल/भारत सीमापार प्रसारणलाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अबको एक महिनामा क्रस बोर्डर प्रसारणलाइनले पूर्णता पाउने परियोजनाले जनाएको छ । प्रसारणालाइनले पूर्णता पाएपछि एमसिसीअन्तर्गत सञ्चालनमा आउने यो नै पहिलो आयोजना हुनेछ ।
यो परियोजनाको निर्माण गर्न १४ भदौ ०८१ मा भारतको ट्रान्सरेल लाइटिङ लिमिटेडसँग एक करोड २३ लाख ६० हजार डलरमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताको दुई वर्षमा परियोजनाको निर्माण सकिन लागेको हो । आवश्यक अध्ययन तथा सर्वेक्षण गरेर कम्पनीले गत १० मंसिरदेखि भौतिक निर्माणको काम सुरु गरेको थियो । त्यसको करिब नौ महिनामा निर्माणकार्य सकिन लागेको हो ।
यस प्रसारणलाइनमा ५२ वटा टावर बन्दै छन् । मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालका अनुसार त्यसमा ४६ वटा टावर निर्माण भइसकेको छ । बाँकी ६ वटा टावर निर्माणको चरणमा छन् । यसैगरी, ६ किमि खण्डमा तार तान्ने काम पनि सम्पन्न भइसकेको छ । ‘अबको एक महिनामा निर्माणकार्य सम्पन्न गरेर परियोजना सञ्चालनमा ल्याउने तयारी भइरहेको छ,’ एमसिए स्रोतले भन्यो ।
यो प्रसारणलाइन सञ्चालनमा आएपछि नेपालको विद्युत् सञ्जाललाई सुदृढ बनाउने एमसिए नेपालको भनाइ छ । ‘क्रस बोर्डर प्रसारणलाइनले पूर्णता पाएपछि विद्युत् आपूर्तिको विश्वसनीयता बढ्नेछ । यसैगरी, यसबाट क्षेत्रीय ऊर्जा व्यापारमा टेवा पुग्नेछ भने अन्तर–आबद्धता सघन हुनुका साथै ऊर्जा–सुरक्षित भविष्य निर्माण गर्नमा मद्दत पुग्नेछ,’ एमसिए नेपालले सामाजिक सञ्जालमा भनेको छ ।
तत्काल दुई सय मेगावाट निर्यात गर्न मिल्ने
यो प्रसारणलाइनबाट भारततर्फ तत्काल दुई सय मेगावाट विद्युत् निर्यात हुनेछ । गत ३१ असारमा पोखरामा सम्पन्न १३औँ नेपाल–भारत संयुक्त ऊर्जासचिवस्तरीय बैठकमा यसबाट तत्काललाई दुई सय मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको हो ।
यो न्यु बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणलाइनको नेपाल खण्ड हो । भारत खण्डको प्रसारणलाइन नेपाल र भारतले संयुक्त लगानीमा निर्माण गरिसकेका छन् । नेपाल खण्डको निर्माण भने एमसिसी अनुदानमा सम्पन्न हुन लागेको हो । नेपालतर्फ भने यो प्रसारण लाइन एमसिसी अनुदानमै निर्माणाधीन चार सय केभीको न्यु बुटवल सबस्टेसन लाइनबाट सुरु हुन्छ । उक्त सबस्टेसनको निर्माण भने डिसेम्बर ०२७ मा सम्पन्न हुँदै छ । त्यस अवधिसम्मका लागि यो प्रसारणलाइन दुई सय २० केभी क्षमतामा सञ्चालन गर्ने सहमति उक्त बैठकमा भएको थियो । उक्त सबस्टेसन प्रयोग गरेर हाललाई एक सय ३० मेगावाटसम्म विद्युत् आयात र दुई सय मेगावाटसम्म विद्युत् निर्यात गर्न सकिने सहमति भएको हो ।
नारायणगढ–मुग्लिन सडक मर्मतको ठेक्का आह्वान
एमसिए नेपालले नारायणगढ–मुग्लिन सडकको मर्मतका लागि ग्लोबल टेन्डर आह्वान गरेको छ । इच्छुक कम्पनीले २४ भदौसम्म प्रस्ताव पेस गर्न सक्ने समयसीमा तोकिएको छ । यो ठेक्का पाउने कम्पनीले उक्त सडकलाई विशेष रूपमा मर्मत गर्नुपर्छ । एमसिसीले पूर्व–पश्चिम राजमार्गको ४० किमि लामो धानखोला–लमही खण्ड भने ‘फुल डेप्थ रिक्लेमेसन र सुपरपेभ आस्फाल्ट’ प्रविधि प्रयोग गरेर स्तरोन्नति गर्दै छ ।