अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियामकीय गुणस्तर अभिवृद्धि गर्दै उच्च नैतिकताका साथ काम गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई निर्देशन दिएका छन् । उनले सोमबार बोर्डको भ्रमण गर्दै नियामकीय गुणस्तर र उच्च नैतिकतासहित पुँजी बजार विकास कार्य अगाडि बढाउन बोर्डका पदाधिकारी तथा उच्च तहका कर्मचारीलाई निर्देशन दिएका हुन् ।
अर्थमन्त्री डा. वाग्लेले वित्तीय प्रणालीमा नेपाल राष्ट्र बैंकजतिकै सशक्त भूमिका रहेको नेपाल धितोपत्र बोर्डलाई सोही हैसियतमा पुग्ने गरी कार्य अगाडि बढाउनसमेत निर्देशन दिए । नेपालमा बढ्दो डिम्याटसँगै लगानीकर्ताको अपेक्षा निकै बढेको हुँदा सोहीअनुरूप संस्थागत विकासका लागि समेत निर्देशन दिए ।
नवनियुक्त अध्यक्षको नियुक्तिसँगै बोर्डले दीर्घकालीन रणनीति लिएर तथा बजार विकासको गति समाएर अगाडि बढ्न खोजेको अर्थमन्त्रीले बताए । यसले गर्दा बजारमा सकारात्मक सन्देश पुगेको उनको भनाइ थियो । कार्यक्रममा अर्थसचिव डा. घनश्याम उपाध्यायसहित अर्थ मन्त्रालयका उच्च पदाधिकारी, बोर्डको सञ्चालक समितिका सदस्य एवं बोर्डका उच्चपदस्थ कर्मचारीको उपस्थिति रहेको थियो ।