व्यवस्थापन संकाय मास्टर्स अफ बिजनेस स्टडिज (एमबिएस) प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि त्रिभुवन विश्वविद्यालयभित्र हलचल भएको छ । घटनाको नेपाल प्रहरीको साइबर ब्युरो र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले भिन्दाभिन्दै अनुसन्धान थालेका छन् भने त्रिविले पनि भिन्दै छानबिन समिति बनाएको छ । प्रश्नपत्र चुहावट मामलामा भएको आन्दोलनको दबाबपछि शनिबार मात्रै भारतका शिक्षामन्त्रीले राजीनामा गरेका छन् ।
घटना शुक्रबारको हो । अपराह्न १२ बजेदेखि ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको थियो । उक्त परीक्षा देशभरका ७६ वटा परीक्षा केन्द्रमा चलिरहेको थियो । तर, परीक्षा सुरु भएको आधा घण्टामै प्रश्न ‘एमबिएस फस्र्ट सेमेन्टर’ भन्ने ह्वाट्सएप ग्रुपमा पठाइएको थियो । केहीबेरमा उक्त ग्रुपमै उत्तरसमेत आएको देखिएको छ ।
सोही आरोपमा प्रहरीले कैलालीका घोडाघोडी घर भई हाल मध्यपुर थिमी बस्ने सन्दीप सिंहलाई पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानले सिंहले नै परीक्षा चलिरहेको वेला फोटो ह्वाट्सएप ग्रुपमा सेयर गरेको देखिएको छ । तर, फोटो खिच्ने व्यक्तिबारे थप अनुसन्धान भइरहेको छ ।
प्रश्नपत्र बाहिरिएपछि विद्यार्थीले विरोध गर्न थालेका थिए । त्यसपछि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले पत्र नै लेखेर प्रहरीको साइबर ब्युरो गुहारेको थियो । त्यसपछि यसमाथि साइबर ब्युरो र सिआइबीले भिन्दाभिन्दै अनुसन्धान थालेका हुन् ।
व्यवस्थापन संकायका डिन प्रा.डा. महानन्द चालिसेले प्रश्नपत्र बाहिरिनु गम्भीर विषय रहेको भन्दै आफैँले साइबर ब्युरोलाई पत्र लेखेर सत्यतथ्य अनुसन्धान गर्न अनुरोध गरेको बताए । ‘परीक्षामा मोबाइल लैजान पाइँदैन । तर, मोबाइलमा फोटो खिचेर कसरी ग्रुपमा पठाइयो र उत्तरसमेत त्यहाँबाट आदान–प्रदान भयो, हामी अचम्मित छौँ । यो लाजमर्दो विषय हो,’ उनले भने, ‘सबै परीक्षा केन्द्रहरूमा कडाइ गर्न र आचारसंहिता पालना गर्न भनेका थियौँ । तर, प्रश्नपत्र बाहिरियो । जुन गु्रपमा प्रश्न पठाइएको थियो, त्यही गु्रपमा एक घण्टापछि उत्तर पनि आएको देखिन्छ । त्यस गु्रपमा थुप्रै विद्यार्थी जोडिएका छन् । यसमा सूक्ष्म ढंगले अध्ययन भइरहेको छ । दोषीलाई सजाय हुनुपर्छ ।’
७६ परीक्षा केन्द्रमध्ये कुन केन्द्रबाट बाहिरियो भन्ने यकिन भएको छैन । तर, अधिकांश विद्यार्थीले भने त्रिवि केन्द्रीय व्यवस्थापन विभागबाटै प्रश्नपत्र बाहिरिएको आरोप लगाइरहेका छन् । घटना गम्भीर बन्दै गएपछि व्यवस्थापन संकायले प्रा.डा. अच्युत ज्ञवालीको संयोजकत्वमा छानबिन समितिसमेत गठन गरेको छ । समिति सदस्यमा सहप्राध्यापक डा. पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालक समितिका सदस्य सहप्राध्यापक डा. महेशराज ओझा छन् । समितिले आइतबारदेखि नै आफ्नो काम थालेको छ । समितिलाई एक साताको समयसीमा तोकिएको छ । प्रश्नपत्र बाहिरिएपछि विद्यार्थीले उक्त परीक्षा दोहोर्याएर हुनुपर्ने माग राखेका छन् ।
विद्यार्थीले तीव्र असन्तुष्टि जनाएपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले चासो देखाएर छलफल थालेका छन् । उनले शनिबार साँझ नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीसँग सो विषयमा छलफलसमेत गरेका थिए । त्यसपछि प्रहरीले यसको अनुसन्धानमा थप सक्रियता देखाएको छ । ‘प्रश्नपत्र कुनै ग्रुपमा आउट गर्नु मर्यादाविपरीत हो । यसमा साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ,’ नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले भने, ‘प्रहरीले प्राथमिकतामा राखेर सूक्ष्म अनुसन्धान गरिरहेको छ ।’
नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्ले भन्छन्–प्रश्नपत्र कुनै ग्रुपमा आउट गर्नु मर्यादाविपरीत हो । यसमा साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ । प्रहरीले प्राथमिकतामा राखेर सूक्ष्म अनुसन्धान गरिरहेको छ ।