अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई खुसी पारेर कर उठाउन कर प्रशासकहरूलाई निर्देशन दिएका छन्। बिहीबार आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा देशभरका विभागमातहतका कर अधिकृतहरूलाई सम्बोधन गर्दै अर्थमन्त्रीले यस्तो निर्देशन दिएका हुन्।
‘करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्,’ उनले भने, ‘मैले बजारमा सुन्न पाऊँ– कर प्रशासनमा ठुलो सुधार भएछ। कर तिर्न बोझ छैन, कोही पनि त्रसित छैनन्।’ उनले कर संकलनका लागि जबर्जस्ती र त्रसित बनाएर नभई स्वैच्छिक कर अनुपालनमार्फत करदाताहरूलाई करको दायरामा समेट्न निर्देशन दिए।
कर प्रशासनलाई चुस्त बनाउन जनशक्ति, पूर्वाधार वा सूचना प्रविधजस्ता जुनसुकै कुराको अभाव भए निर्धक्क भन्न पनि उनले आग्रह गरे। कर प्रशासनमा अब्बल काम गर्ने र राज्यलाई लाभ दिलाउनेलाई प्रोत्साहन गर्न कुनै कसर बाँकी नराख्ने अर्थमन्त्रीले स्पष्ट पारे।
यस वर्षको बजेटले अर्थतन्त्रको जहाजलाई मोडेको रूपमा बुझ्न आग्रह गर्दै उनले आगामी चार आर्थिक वर्षको बजेटले सरकारले बनाउन चाहेको अर्थतन्त्रको आधार देखिने बताए। बजेटमा दिइएको छुट स्किमको कार्यान्वयन गर्न, करदाता प्रोत्साहन कार्यक्रम सफल बनाउन, करदाता सचेतना वृद्धि र कारोबार डिजिटल बनाउन सबैखाले पहल गर्न उनले विभागीय नेतृत्वलाई निर्देश गरे।
मुलुकलाई ‘ग्रे लिस्ट’बाट निकाल्न मन्त्रालयले प्रशस्त पहल गरिरहेको भन्दै अर्थमन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराधलाई कर प्रशासनको तर्फबाट पनि मिहिन ढंगले हेर्न आग्रह गरे।