यो वर्ष इपिएस प्रणालीमार्फत कोरियाले सात हजार दुई सय नेपाली श्रमिकका लागि कोटा निर्धारण गरेको छ । इपिएस शाखाका अनुसार सबैभन्दा बढी उत्पादनमूलक क्षेत्रमा पाँच हजार नेपाली श्रमिकका लागि कोटा निर्धारण भएको छ । त्यस्तै, कृषि तथा पशुपालन क्षेत्रमा दुई हजार र सेवा तथा वन क्षेत्रमा समान एक–एक सय नेपाली श्रमिकका लागि कोटा निर्धारण भएको छ ।
तुलनात्मक रूपमा यो वर्ष धेरै कोटा निर्धारण भएको हो । गत वर्ष ५३ सय श्रमिकका लागि कोटा खुलेको थियो । जिटुजी प्रक्रियाबाट नेपाली श्रमिक आपूर्ति हुने भएका कारण कोरियाको रोजगारी तुलनात्मक रूपमा सुरक्षित र आकर्षक मानिने गरेको छ । त्यसैले बर्सेनि एक लाखभन्दा बढी युवा कोरियाली रोजगारीको सपना देखेर भाषा परीक्षामा सामेल हुने गरेका छन् । गत वर्ष ५३ सयका लागि आवेदन खुल्दा एक लाख तीन हजार युवा परीक्षामा सामेल भएका थिए ।
भाषा परीक्षा उत्तीर्ण गरेका सबै परीक्षार्थीलाई कोरियाले रोजगारीको ग्यारेन्टी भने गर्दैन । त्यसैले आवेदनको सूचना प्रकाशित गर्दा नै इपिएस नेपालले ‘कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नु कोरियामा रोजगारीको सुनिश्चितता होइन’ भने उल्लेख गरेको छ । यद्यपि, तोकिएको कोटाअनुसार बर्सेनी भाषा परीक्षा उत्तीर्ण गराएर परीक्षार्थीलाई पालो कुराउने गरिएको छ ।
यसपटक तोकिएको कोटाअनुसार ११ देखि १७ साउनसम्म आवेदन दिन सक्ने म्याद राखिएको छ । तोकिएको प्रक्रिया पूरा गरी अनलाइनमार्फत आवेदिन दिनुपर्ने इपिएस शाखाले जनाएको छ । स्वीकृति आवेदकहरूको नामावली प्रकाशन गरेपछि दैनिक पाँच सिफ्टका दरले पहिलो चरणको परीक्षा सचालन गरिने भएको छ । परीक्षार्थीले कुनै एउटा क्षेत्रमा आवेदन दिएर उत्तीर्ण गरेपछि क्षेत्र परिवर्तन गर्न नपाइने व्यवस्थासमेत राखिएको छ ।
‘एउटा व्यक्तिले एउट क्षेत्रमा मात्र दरखास्त फाराम भर्न पाउनेछ । प्रथम चरण उत्तीर्ण गरेपछि छनोट गरिएको क्षेत्र परिवर्तन गर्न पाइनेछैन,’ सूचनामा भनिएको छ । पहिलो चरणमा लिखित परीक्षा भएपछि दोस्रो चरणमा सिप परीक्षण र कार्यक्षमता मूल्यांकन हुने सूचनामा उल्लेख छ । दुवै परीक्षा पास भएकामध्येबाट अन्तिम रोस्टर सार्वजनिक हुने भएको छ ।
१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका युवालाई आवेदनका लागि योग्यता तोकिएको छ । त्यस्तै, यसअघि कोरियामा रोजगारीका लागि गएर पाँच वर्ष काम गरेकाहरूले भने भाषा परीक्षामा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ । एकपटक भाषा परीक्षा उत्तीर्ण गरकाहरूको समयावधि दुई वर्ष रहने व्यवस्था छ । दुई वर्षसम्म रोस्टरमा बस्दा पनि पालो नआए पुनः सुरुवातदेखि नै भाषा परीक्षामा सामेल हुनुपर्ने व्यवस्था छ ।
परीक्षा पास गरेर कोरिया जान नपाएका युवाको संख्या १५ हजार
विगतमा तोकिएको कोटाअनुसार विभिन्न वर्षमा भाषा परीक्षा उत्तीर्ण गरेर पनि रोजगारका लागि कोरिया जान नपाएका युवाको संख्या करिब १५ हजार पुगेको छ । यी युवाले भाषा परीक्षा पास भएर बसेकालाई पहिले पठाएर मात्र नयाँ आवेदन खुलाउन माग गरे पनि सरकारले सनुवाइ गरेको छैन । भाषा परीक्षा उत्तीर्ण गरे पनि कोरिया जान नपाएकामध्ये सबैभन्दा बढी उत्पादनतर्फ आठ हजार युवा छन् । त्यस्तै, कृषितर्फ तीन हजार, पानी जहाजतर्फ दुई हजार र पुन कोरिया जानका लागि करिब दुई हजार युवा रोस्टरमा छन् । यी युवाले कोरिया जान पाउनुपर्ने माग राखेर पटक–पटक आन्दोलन गरे पनि सुनुवाइ भएको छैन ।
एक लाख २० हजार पुगे कोरिया
सन् २००८ देखी सुरु भएको इपिएस प्रणालीमार्फत हालसम्म एक लाख २० हजार युवाले कोरियामा रोजगारीका लागि प्रवेश पाइसकेका छन् । अहिले पनि त्यहाँ ६५ हजार युवा कार्यरत रहेको सियोलस्थित नेपाली दूतावासले जनाएको छ । जिटुजी प्रणालीमार्फत कोरियाले नेपालसहित १७ देशबाट श्रमिक आपूर्ति गर्दै आएको छ । १७ देशमध्ये नेपालबाट मात्रै सबैभन्दा बढी ४४ प्रतिशत कामदार आपूर्ति गरेको एचआरडी, कोरियाको तथ्यांक छ ।