पूर्वप्रदेश प्रमुख राजेश अहिराजलाई बलात्कार मुद्दामा सात वर्ष कैद

बिहिबार, ३२ असार, २०८३
डिजिटल संस्करण

मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा(राजेश अहिराज)लाई बलात्कार मुद्दामा सात वर्ष कैद सजाय भएको छ। काठमाडौं जिल्ला अदालतले उनलाई बिहीबार सजाय सुनाएको हो। 

अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार झालाई सात वर्ष कैदका साथै,तीन लाख जरिवानाका साथै पीडितलाई तीन लाख क्षतिपुर्ति भराउने फैसला भएको छ। न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई सजाय सुनाएको हो। 

 १३ साउन २०८२ मा अहिराजविरुद्ध मुद्दा दायर भएको थियो । 

अहिराज १४ साउन ०८१ देखि थुनामा रही मुद्दाको पुर्पक्ष गर्दैछन् । ४ साउन ०८१ मा उनी पक्राउ परेका थिए । एक युवतीलाई सहयोग गर्ने नाममा प्रभावमा पारी यौन शोषण तथा करणी गरेको भन्दै अदालतमा मुद्दा दायर भएको थियो । बानेश्वरस्थित आफ्नै डेरामा अहिराजले युवतीलाई बलात्कार गरेको जाहेरीमा उल्लेख छ । 

प्रतिवादी अहिराज पूर्व पत्रकार र राजनीतिक विश्लेषक पनि हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ७ फागुन ०७७ मा उनलाई मधेश प्रदेशको प्रमुखको जिम्मेवारीमा नियुक्त गरेका थिए । 
 

सुझावित समाचार