बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकका विभिन्न सात निर्णय सार्वजनिक भएका छन्। बैठकपछि सञ्चार तथा सूचनामन्त्री डा. विक्रम तिमिल्सिनाले निर्णयबारे जानकारी दिएका हुन्।
मन्त्रिपरिषद्ले मिटरब्याजपीडितसँग वार्ताका लागि टोली गठन, सिक्का टकमरी गर्न स्वीकृति, अनुदान सहायता स्वीकृति, विभिन्न मन्त्रालयको संगठन संरचना र दरबन्दी स्वीकृतलगायतका निर्णय गरेको छ।
यस्ता छन् निर्णयहरू :
१. अनुचित लेनदेन (मिटरब्याज)बाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेको वार्ता टोली गठन गर्ने,
२. रु. १ र रु. २ का नयाँ डिजाइनका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति प्रदान गर्ने,
३. ‘नेपाल कानुन सूचना पाइलट प्रणाली’ स्थापनाका लागि कोरिया सरकारबाट प्राप्त हुने १.८१ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकृत गर्ने,
४. नेपाल सरकार मन्त्रिपरिषदबाट संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वन क्षेत्रमा रहेका रुख, पोल हटाउन स्वीकृति लिएका क्षेत्रभित्र थप रुख, पोल हटाउन प्रचलित कानुनी प्रक्रिया पूरा गरी मन्त्रालयले स्वीकृति दिन सक्ने,
५. विभिन्न मन्त्रालयको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने,
६. नीति अनुसन्धान प्रतिष्ठान विकास समिति गठन (पहिलो संशोधन) आदेश, २०८३ स्वीकृत गर्ने,
७. सेवा करारमा कार्यरत रहेका कर्मचारीको व्यवस्थापनसम्बन्धी व्यवस्था स्वीकृत गर्ने ।