प्रतिनिधिसभाको अर्को बैठक एकैपटक साउन १४ गते बस्ने भएको छ। सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक साउन १४ गते बिहीबार बिहान ११ बजे बस्ने सूचना आजको बैठकमा सुनाए।
सभामुख अर्यालले आगामी बैठकहरूमा सांसदहरूसँग अझै बढी सक्रियता अपेक्षा गरेको बताए। प्रदेश सरकार र स्थानीय तहका भोगाइ, जटिलता र अपेक्षालाई संघसम्म जोड्ने नेतृत्वदायी भूमिका सांसदहरूले नै खेल्नुपर्ने उल्लेख गर्दै उनले बैठक नभएको समयमा जनतामा जान आग्रह गरे।
‘तीनवटै तहबिचको सम्बन्धलाई थप सुदृढ बनाउने, जनताका आवाजलाई सदनसँग जोड्ने र विधेयकहरूमाथि व्यापक बहसको पृष्ठभूमि तयार गर्ने महत्वपूर्ण कार्यमा आफ्ना मतदाता एवं नागरिकसमक्ष पुग्न माननीय सदस्यहरूलाई समय आवश्यक भएको महसुस गरेको छु,’ सभामुखले भने।