कास्कीमा वर्षापछि आएको बाढीले झोलुंगे पुल बगायो

मोदी खोलाको कटानका कारण घान्द्रुक जाने बाटो बन्द, दुई रेष्टुरेन्ट, एक घर बगायो

आइतबार, २८ असार, २०८३
डिजिटल संस्करण

लगातारको वर्षापछि आएको बाढीले कास्कीमा एक झोलुंगे पुल बगाएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रोंग खोलाको झोलुंगे पुल बाढीले बगाएको हो। पालिकाका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार किम्रोंग खोलामा आएको बाढीले पुल बगाएपछि सो क्षेत्रमा आवतजावत पूर्ण रूपमा प्रभावित बनेको छ ।

करिब एक सय ४० मिटर लामो सो पुल बगेसगै किम्रोंग हुँदै घान्द्रुक आउने बाटो बन्द भएको छ । अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने किम्रोंग खोलामाथिका सो पुल बाढीले बगाएसँगै स्थानीय बासिन्दा, विद्यार्थी, बिरामी, दैनिक उपभोगका सामान ढुवानी गर्ने सर्वसाधारणसँगै पदमार्गमा पदयात्राका लागि गएका र जाने स्वदेशी एवं विदेशी पर्यटकहरूलाई असर परेको छ ।

अब किम्रोंगबाट घान्द्रुक आउन करिब दुई घण्टाको फेरो घुम्न पर्ने भएको अध्यक्ष केसीले जानकारी दिए। अब किम्रोंगबाट भुजुङ, मेलाचे हुँदै घान्द्रुक आउनुपर्ने भएको बताउँदै विशेष गरी वर्षायाममा पुल बगेसँगै वैकल्पिक एवं सुरक्षित मार्गको अभावले जोखिम अझ बढेको केसीले बताए। 

मोदी खोलाको कटानका कारण घान्द्रुक जाने बाटो बन्द, दुई रेस्टुरेन्ट, एक घर बगायो

किम्रोंग खोला झिनुमा गएर मोदी खोलामा मिसिन्छ । किम्रोंग खोला मोदीमा आई मिसिएपछि मोदीमा आएको बाढीका कारण अन्नपूर्ण ८ र १० को सिमानामा पर्ने सेउली बजारमा मोदी खोलाले सडक कटान गरेको छ ।

सडक कटानका कारण बिरोठाँटी हुँदै पर्यटकीय गाँउ घान्द्रुक जाने पक्की सडक पूर्ण रूपमा बन्द भएको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए । गुरुङका अनुसार बाढीका कारण सेउली बजारमा रहेको दिपिल गुरुङको रेस्टुरेन्ट तथा घर पूर्ण रूपमा बगाएको छ भने जगन पुनको रेस्टुरेन्टमा क्षति पुगेको छ । वरिपरि रहेका अन्य घरहरूसमेत जोखिममा रहेका उनले जानकारी दिए ।

सडक कटानका कारण सवारीसाधनहरू आवतजावत गर्न नमिल्ने अवस्थामा रहेकाले बाटो मर्मत पछि मात्र सडक सञ्चालनमा आउने र यस्का लागि केही दिन लाग्ने उनले बताए । खोलामा पानीको बहाव घटेपछि ग्याबिन जाली भरेर बाटो सञ्चालन गर्ने तयारी गरिएको उनले बताए । बाटोका कारण केही दिन घान्द्रुक जान नमिल्ने उनले बताए । मोदीखोला-आसपास बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन, नदीकिनारमा नजान र आवश्यक परे सुरक्षित स्थानतर्फ सर्न उनले अनुरोधसमेत गरेका छन्।

पालिका अध्यक्ष केसीले संघीय सरकार, गण्डकी प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय कास्की एवं सरोकारवाला निकायहररूको ध्यानाकर्षण गराउँदै क्षतिग्रस्त पुल, सडकको यथाशीघ्र निरीक्षण, अस्थायी आवतजावतको व्यवस्था तथा स्थायी रूपमा पुनर्निर्माणको कार्य शीघ्र अघि बढाउन उनले अनुरोध गरेका छन् । स्थानीय नागरिकको सुरक्षा, सहज आवागमन तथा अन्नपूर्ण पदमार्गको निरन्तरताका लागि सम्बन्धित निकायले आवश्यक पहल तत्काल थाल्ने अपेक्षा पालिकाले गरेको अध्यक्ष केसीको भनाइ छ ।

सुझावित समाचार